• २०८३ जेठ २२
  • 2026 June 05, Friday

लालु यादवकी छोरी रोहिणीले छाडिन् राजनीति‚ लगाइन् यस्ता आरोप

बिहार विधानसभा चुनावको नतिजा आएसँगै राज्यको प्रमुख राजनीतिक शक्ति लालू परिवारभित्रको आपसी लडाइँ खुलेर बाहिर आएको छ।

शनिबार, राष्ट्रिय जनता दल (आरजेडी) की नेतृ तथा लालू प्रसाद यादवकी छोरी रोहिणी आचार्यले आफ्नो परिवारसँग नाता तोड्ने र राजनीति छोड्ने घोषणा गरिन्। आइतबार पनि उनले आफ्ना आरोपहरू दोहोर्‍याइन्।

यी तिनै रोहिणी आचार्य हुन्, जसले आफ्ना बुबा लालूप्रसाद यादवलाई आफ्नो एउटा मिर्गौला दिएर देशभर चर्चा कमाएकी थिइन्। त्यसबेला परिवारका सबै सदस्यले रोहिणीको प्रशंसा गर्दै भावुक बयान दिएका थिए। तर, अहिले उनै रोहिणी आचार्यले आफ्नो कुनै परिवार नै नरहेको बताएकी छिन्।

उनले सञ्चारमाध्यममा बयान दिँदै भनिन्– मेरो कुनै परिवार छैन। अब यो कुरा गएर तपाईंहरू सञ्जय, रमिज र तेजस्वी यादवलाई सोध्नुहोस्। उनीहरूले नै मलाई परिवारबाट निकालेका हुन् किनभने उनीहरू जिम्मेवारी लिन चाहँदैनन्। सिंगो देश र दुनियाँले प्रश्न गरिरहेको छ, पार्टीको यस्तो हालत किन भयो।

यो घटनाले आरजेडीमा तेजस्वी यादव र उनका निकटस्थहरूका लागि असहज परिस्थिति सिर्जना गर्न सक्छ। यद्यपि, अहिलेसम्म तेजस्वी, लालू वा उनीहरूका कुनै पनि निकट व्यक्तिबाट यस मामिलामा कुनै प्रतिक्रिया आएको छैन।

रोहिणी आचार्यले आफ्नो बयानमा ‘चाणक्य’ शब्दको प्रयोग गरेकी छिन्। बिहारको राजनीतिक वृत्तमा सामान्यतया तेजस्वीका निकट सहयोगी सञ्जय यादवलाई उनको ‘चाणक्य’ को रूपमा हेरिन्छ। अर्थात्, उनी त्यो व्यक्ति हुन् जसले तेजस्वी यादव र आरजेडीका लागि रणनीति बनाउँछन् र जसको पार्टीका महत्त्वपूर्ण निर्णयहरूमा ठूलो भूमिका मानिन्छ।

रोहिणी आचार्यले गत वर्ष आरजेडीको टिकटमा सारण लोकसभा सीटबाट चुनाव लडेकी थिइन्, तर उनी पराजित भइन्। लालू प्रसाद यादवका नौ सन्तानमध्ये रोहिणी दोस्रो सन्तान हुन्। लालूकी जेठी छोरी मीसा भारती हुन्।

४६ वर्षीया रोहिणीको जन्म १ जुन १९७९ मा पटनामा भएको थियो। उनले जमशेदपुरको एमजीएम मेडिकल कलेजबाट एमबीबीएस गरेकी छिन्, तर उनले कहिल्यै डाक्टरी पेशा अपनाइनन्। रोहिणीको विवाह २४ मे २००२ मा सिङ्गापुरमा बस्ने समरेश सिंहसँग भएको थियो।

आफ्ना बुबालाई मिर्गौला दिनुअघि रोहिणीले लगातार कैयौं भावुक ट्वीट गरेकी थिइन्, जसले बाबु-छोरीको सम्बन्धको निकै चर्चा भएको थियो। तर अहिले उनै रोहिणीले आफ्ना आमा-बुबामाथि पनि वर्तमान विवादलाई लिएर आरोप लगाएकी छिन् र परिवारसँग सम्बन्ध तोड्ने घोषणा गरेकी छन्।

रोहिणीले रमिज र सञ्जय यादवमाथि आरोप लगाएकी छिन्। रमिजबारे सार्वजनिक रूपमा धेरैलाई थाहा छैन। उनी मूलतः उत्तर प्रदेशका हुन् र सञ्जय यादवजस्तै क्रिकेट मैदानबाटै तेजस्वीका नजिकका साथी बनेका हुन्।

अर्कोतर्फ, सञ्जय यादव सामान्यतया पर्दा पछाडि बसेर काम गर्छन्। तेजस्वी र सञ्जय यादवबीचको मित्रता यति गहिरो छ, आरजेडीले आफ्ना पुराना र वरिष्ठ नेताहरूलाई पन्छाएर गत वर्ष सञ्जय यादवलाई राज्यसभामा पठायो।

आरजेडीलाई लालूप्रसाद यादवको पहिचानबाट बाहिर निकालेर तेजस्वी यादवसँग जोड्ने प्रयासमा सञ्जय यादवको ठूलो भूमिका रहेको मानिन्छ। सन् २०२० को बिहार विधानसभा चुनावमा आरजेडीलाई ठूलो फाइदा भएको थियो। तेजस्वीले आरजेडी सरकार बनेमा १० लाख रोजगारी दिने वाचा गरेका थिए, जुन सञ्जय यादवकै रणनीति मानिन्छ।

सन् १९८४ मा हरियाणाको महेन्द्रगढ जिल्लामा जन्मेका सञ्जय यादवले कम्प्युटर विज्ञानमा एमएससी गरेका छन्। उनी तेजस्वी यादवका ती दिनका साथी हुन्, जब तेजस्वी राजनीतिमा थिएनन् र दिल्लीमा क्रिकेट खेल्थे।

सन् २०१३ मा चारा घोटाला काण्डमा लालू जेल गएपछि राबडी देवीले तेजस्वीलाई दिल्लीबाट बिहार बोलाइन्। बिहारमा मन नलागेपछि तेजस्वीले आफ्ना साथी सञ्जय यादवलाई बिहार बोलाए।

बिहार आएर सञ्जयले यहाँको राजनीति, चुनावी समीकरण र तथ्याङ्कमा काम गरे। उनले आरजेडीलाई मुस्लिम-यादव (M-Y) समीकरणभन्दा बाहिर अन्य वर्ग र बिहारका युवाहरूलाई जोड्ने रणनीति बनाए।

सञ्जय यादवमाथि लाग्ने एउटा ठूलो आरोप उनले तेजस्वीलाई आफ्नो नियन्त्रणमा लिएका छन् र आरजेडीका पुराना नेताहरूलाई पाखा लगाएका छन्। यसै वर्ष सेप्टेम्बरमा तेजस्वी यादवको बिहार अधिकार यात्राका क्रममा सञ्जय यादव गाडीको अगाडिको सिटमा बसेको तस्बिर सार्वजनिक भएपछि रोहिणी आचार्यले आपत्ति जनाएकी थिइन्।

उनले सामाजिक सञ्जालमा लेखेकी थिइन्– अगाडिको सिट सधैं शीर्ष नेताका लागि हुन्छ र उनको अनुपस्थितिमा त्यो सिटमा कोही बस्नु हुँदैन। यदि कसैले आफूलाई शीर्ष नेतृत्वभन्दा माथि ठान्छ भने त्यो बेग्लै कुरा हो। यस घटनापछि रोहिणीले आफ्ना भाइ तेजस्वी र बुबा लालू दुवैलाई सामाजिक सञ्जाल एक्स (पहिले ट्विटर) मा अनफलो गरेकी थिइन्।

– भारतीय सञ्चारमाध्यमको सहयोगमा ।