• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय

काठमाडौँ । बंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको छ। बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले सोमबार हसिनालाई मृत्युदण्ड दिने फैसला गरेको हो । न्यायाधीकरणले ४५३ पृष्ठको फैसलालाई ६ भागमा विभाजन गरी वाचन गर्दै हसिनासहित उनका निकट सहयोगीहरूलाई कठोर सजाय सुनाएको हो।

गत वर्ष जुलाई र अगस्टमा देशभरि भड्किएको विद्यार्थी आन्दोलनका बेला व्यापक हिंसात्मक घटना, भीड नियन्त्रणका क्रममा भएको दमन र मानव अधिकार उल्लङ्घनमा हसिनाको संलग्नता रहेको अभियोजन पक्षको दाबी थियो। भारतमा निर्वासनमा रहेकी हसिनाको अनुपस्थितिमै मुद्दा चलाइएको थियो। बंगलादेश टेलिभिजनले फैसलाको घोषणा प्रत्यक्ष प्रसारण गरेको थियो।

त्यसै घटनामा संलग्न रहेको ठहर गर्दै तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमाललाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ भने तत्कालीन प्रहरी प्रमुख अल ममूनलाई सरकारी गवाहा बनेका कारण ५ वर्ष कैद सजाय तोकिएको छ।

अभियोजन पक्षले हसिनासहित तीन जनाविरुद्ध हत्या, हत्या प्रयास, षड्यन्त्र, भीडलाई हिंसामा दुरुत्साहित गर्नु र सञ्चालनमा प्रमुख भूमिका गरी पाँच वटा औपचारिक आरोप दर्जा गरेको थियो । उनीहरूविरुद्ध ७४७ पृष्ठको प्रमाण दस्तावेज तथा १,४०० जनाको मृत्यु र करिब २५ हजार घाइते भएको विवरण अदालतमा पेस गरिएको थियो।

अभियोजन पक्षले १४ जुलाईमा प्रधानमन्त्री भएका बेला हसिनाले पत्रकार सम्मेलनमा विद्यार्थीहरूलाई ‘रजाकारका छोरा–नाति’ भन्ने टिप्पणी गरेको कुरा समेत मुख्य प्रमाणको रूपमा प्रस्तुत गरेको थियो। ‘रजाकार’ शब्द बंगलादेशमा १९७१ को मुक्तियुद्धका बेला पाकिस्तानी सेनाको समर्थन गर्ने समूहका सदस्यलाई जनाउन प्रयोग हुने अपमानजनक अभिव्यक्ति मानिन्छ।

यस फैसलासँगै बंगलादेशको राजनीतिमा नयाँ तरंग पैदा भएको छ भने हसिनाका समर्थकहरूले यो कदमलाई ‘राजनीतिक प्रतिशोध’ भन्दै आलोचना गरेका छन्। हसिना स्वंयको भने फैसलालाई लिएर हालसम्म कुनै प्रतिक्रिया सार्वजनिक भइसकेको छैन् ।