बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमाललाई मृत्युदण्डको सजाय सुनाएको छ। दुवैजना हाल भारतमा बसिरहेका छन्।
फैसलापछि बंगलादेशले भारतसँग शेख हसिनाको सुपुर्दगीको माग गरेको छ।
यसको जवाफमा भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘एक निकट छिमेकीको रूपमा, भारत बंगलादेशका जनताको हितका लागि प्रतिबद्ध छ, जसमा त्यहाँ शान्ति, लोकतन्त्र, समावेशीता र स्थिरता समावेश छ। यस दिशामा भारत सबै सरोकारवालाहरूसँग सधैं रचनात्मक रूपमा संलग्न रहनेछ।’
यसअघि सोमबार बंगलादेशको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरेको थियो।
जसमा भनिएको छ,‘अन्तर्राष्ट्रिय अपराध अदालतको फैसलामा भगौडा शेख हसिना र असदुज्जमान खान कमाल दोषी पाइएका छन्। मानवता विरुद्धको अपराधका दोषी यी व्यक्तिहरूलाई कुनै पनि देशले शरण दिन्छ भने त्यसलाई अमित्र व्यवहार मानिनेछ र यो न्यायको अवहेलनाको गम्भीर कार्य हुनेछ। हामी चाहन्छौं, भारत सरकारले दुवै दोषीलाई तत्काल बंगलादेशी अधिकारीहरूलाई सुम्पियोस्। दुई देशबीच रहेको सुपुर्दगी सन्धिअनुसार यो भारतको दायित्व बन्दछ।’
भारतले सुपुर्दगीबारे केही नबोले पनि बंगलादेशको माग पूरा हुने सम्भावना न्यून छ। भारत र बंगलादेशबीच सन् २०११ मा भएको सुपुर्दगी सन्धिले भारतलाई यस्तो अवस्थामा उन्मुक्ति दिन्छ।
भारतीय सञ्चारमाध्यम ‘टाइम्स अफ इन्डिया’का अनुसार सन्धिको धारा ६ ले कुनै व्यक्तिलाई राजनीतिक कारणले सुपुर्दगी गर्न माग गरिएको शंका लागेमा भारतले त्यसलाई इन्कार गर्न सक्ने अधिकार दिएको छ। त्यसैगरी, धारा ८ अनुसार कुनै व्यक्तिलाई अन्यायपूर्वक र दमन गर्ने नियतले दण्डित गरिएको लागेमा पनि सुपुर्दगी नगर्न सकिने व्यवस्था छ। मृत्युदण्डकै सजाय सुनाइएको अवस्थामा भारतले हसिनालाई फिर्ता पठाउँदा उनको ज्यान जोखिममा पर्ने भएकाले पनि सुपुर्दगीको सम्भावना झनै कम छ।
हसिनालाई दिइएको मृत्युदण्डको सजायमाथि अन्तर्राष्ट्रिय स्तरमा पनि प्रश्न उठेको छ। संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले फैसला ‘पीडितहरूका लागि महत्त्वपूर्ण’ भए पनि मृत्युदण्डप्रति गम्भीर खेद व्यक्त गरेको छ। ‘हामी सबै अवस्थामा मृत्युदण्डको विरोध गर्छौं,’ राष्ट्रसंघले भनेको छ।
यो फैसला सर्वोच्च अदालतबाट नभई विद्यार्थी विद्रोहपछि गठन गरिएको विशेष न्यायाधिकरणले सुनाएकाले यसको अन्तर्राष्ट्रिय स्वीकार्यता पनि कम हुने देखिन्छ।
सोमबार बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो।
शेख हसिनामाथि गत वर्ष जुलाई-अगस्टमा भएको विद्रोहका क्रममा मानवता विरुद्धको अपराधको आरोप लागेको थियो। भारतमा निर्वासनमा रहिरहेकी शेख हसिनाको अनुपस्थितिमा उनीविरुद्ध मुद्दा चलाइएको थियो।
न्यायमूर्ति मोहम्मद गुलाम मुर्तजा मजुमदारको अध्यक्षतामा रहेको तीन सदस्यीय बंगलादेश अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण-१ ले यो फैसला सुनाएको हो। शेख हसिनासहित तीनजना अभियुक्तलाई न्यायाधिकरणले दोषी ठहर गरेको छ।
शेख हसिनामाथि लगाइएका पाँचमध्ये दुई मुद्दामा मृत्युदण्डको सजाय दिइएको छ भने अन्य मुद्दामा आजीवन कारावासको सजाय भएको छ। यस्तै, पूर्व गृहमन्त्री असदुज्जमान खान कमाललाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ। पूर्व आईजी प्रहरी अब्दुल्ला अल मनुनलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ।
बंगलादेश टेलिभिजनमा ४५३ पृष्ठ लामो फैसलाको घोषणा प्रत्यक्ष प्रसारण गरिएको थियो। अभियोजन पक्षले जुनमा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणमा शेख हसिनासहित तीन जनाविरुद्ध आधिकारिक रूपमा पाँचवटा आरोप दायर गरेको थियो। यसको आधारमा न्यायाधिकरणले शेख हसिना र पूर्व गृहमन्त्री कमालविरुद्ध पक्राउ पुर्जी पनि जारी गरेको थियो।
गत वर्ष सरकारविरोधी प्रदर्शनका क्रममा बंगलादेशमा धेरै हिंसक घटनाहरू भए। त्यसबेलाकी प्रधानमन्त्री शेख हसिनामाथि मानवताविरुद्ध भएका यी अपराधहरूमा उनको हात रहेको आरोप लागेको थियो। यस आन्दोलनका कारण शेख हसिनाले सत्ता गुमाउनु परेको थियो र अगस्ट २०२४ मा उनले देश छोडेर भाग्नुपरेको थियो। त्यसबेलादेखि उनी भारतमा बसिरहेकी छन्।
गत जुनमा उनीहरुमाथि मुद्दा दायर गरियो, त्यसबेला मुख्य अभियोजक ताजुल इस्लामले जुलाई र अगस्टको अवधिमा १,४०० जनाको हत्या भएको र करिब २५ हजार मानिस घाइते भएको दलील दिएका थिए। अभियोजन पक्षले न्यायाधिकरणलाई मृतक व्यक्तिहरूको सूची पनि बुझाएको थियो। पूर्व प्रधानमन्त्री हसिनासहित तीनै अभियुक्तहरूविरुद्ध हत्या, हत्या प्रयास, षड्यन्त्र, सहयोग र प्रोत्साहन र उक्साहट जस्ता आरोप लगाइएको थियो।
शेख हसिनाले गत वर्ष १४ जुलाईमा प्रधानमन्त्री पदमा रहँदा एक पत्रकार सम्मेलनमा विद्यार्थीहरूलाई ‘रजाकार’ का छोरा र नाति भन्दै उक्साउने टिप्पणी गरेकी थिइन्। बंगलादेशमा ‘रजाकार’ लाई देशद्रोही वा गद्दारको रूपमा एक अपमानजनक शब्दको रूपमा प्रयोग गरिन्छ। र यो ती व्यक्तिहरूका लागि प्रयोग गरिन्छ, जसले सन् १९७१ को बंगलादेश मुक्ति युद्धका दौरान पाकिस्तानी सेनासँग मिलेर काम गरेका थिए र जघन्य अपराधहरूमा संलग्न थिए।
शेख हसिनासहित तीनै जनामाथि रंगपुरमा बेगम रोकेया विश्वविद्यालयका छात्र अबू सईदको हत्या, राजधानीको चंखर पुलमा छ जनाको हत्या, अगस्ट ५ जुन दिन उनले बंगलादेश छोड्नुपरेको थियो, त्यस दिन पनि अशुलियामा पाँच जनाको गोली हानी हत्या गरी उनीहरूको शव जलाएको र एक व्यक्तिलाई जिउँदै जलाएको आरोप पनि लगाइएको थियो।
– भारतीय सञ्चारमाध्यमहरुको सहयोगमा ।