• २०८३ असार ४
  • 2026 June 18, Thursday

विश्व थैलेसेमिया दिवसमा प्यानल छलफल

काठमाडाैं । आजादीका अमृत महोत्सवको एक भागको रूपमा, वीरगञ्जस्थित भारतको महावाणिज्य दूतावासले थैलेसेमिया दिवसमा प्यानल छलफल गरी दिवस मनाएकाे छ । वाणिज्य दूतावास भित्र आइतबार “थैलेसेमिया: एक अवलोकन” शीर्षकमा प्यानल छलफल आयोजना गरी ‘विश्व थैलेसेमिया दिवस’ मनाइएकाे हाे ।

यस रोगको उपचारमा संलग्न सहरका प्रख्यात बालरोग विशेषज्ञ डा. एस.एस. दास (सेवा नि.) नारायणी उपक्षेत्रीय अस्पतालका बालरोग विभागका विभागीय प्रमुख डा. शैलेश ठाकुर र बीरगंज हेल्थकेयर सेन्टरका बालरोग विशेषज्ञ डा. आनन्दकुमार झाको कार्यक्रममा सहभागिता रहेको थियो ।

आफ्नो स्वागत मन्तव्यमा, महावाणिज्यदूत नितेश कुमारले नेपालको तराई क्षेत्रमा यो घातक रोगको उपचारमा सहभागी प्यानेलिस्टहरूको भूमिकाको प्रशंसा गरे । थैलेसेमियाको कारण, लक्षण, निदान र उपचारका बारेमा सहभागीहरूलाई जानकारी दिन अनुरोध गरे ।

प्यानलिस्टहरूले यो वंशाणुगत रोगको कारण प्रस्ट पारे । उनीहरुले नेपालमा करिब ३–४ प्रतिशत जनसंख्या यसबाट पीडित रहेको जानकारी दिए । थैलेसेमिया रोगको निको पार्ने उपचार उपलब्ध भए पनि महँगो भएकाले यस क्षेत्रका गरिब बिरामीले उपचार गर्न नसक्ने उनीहरुको भनाइ छ । यो रोगको प्रारम्भिक उपचारमा आवश्यक नियमित छनोटात्मक रक्तक्षेपण पनि महँगो भएका कारण सम्भव छैन ।

प्यानल छलफल पछि प्रश्न र उत्तर सत्र भएकाे थियाे, जसमा प्यानल सदस्यहरूले धेरै प्रश्नहरूको जवाफ दिए र राेगकाबारे भएका शंकाहरू स्पष्ट गरेका थिए ।