• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

एनपिएल : काठमाडौंले चितवनलाई दियो १४३ रनको लक्ष्य

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ ।

शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले १४२ रन जोडेको हो ।

चितवनले काठमाडौंलाई १९.४ ओभरको खेलमा नै अलआउट गरेको थियो । चितनका कमलसिंह ऐरीले अन्तिम विकेट लिएका थिए ।

काठमाण्डुका लागि जोन सिम्पसोनले सर्वाधिक ६० रन बनाए । उनले २९ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । जोन र मिलिन्दले चौथो विकेटका लागि ९८ रनको साझेदारी गरेका थिए ।

मिलिन्दले ३८ रनको योगदान दिए । वेन चाल्र्सवर्थ १३, आकाश त्रिपाठी ४, रसिद खान ६, महोम्मद आदिल आलम ८, जेरार्ड एरास्मस ०, कप्तान करण केसी १, सन्तोष यादव ० र दीपेश कँडेल ६ रनमा आउट भए । शाहव आलम २ रनमा अविजित रहे ।

बलिङमा चितवनका सोहिल तन्विरले ४ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २५ रन खर्चेर ४ विकेट लिएका हुन् । रञ्जित कुमार र कमलसिंह ऐरीले दुई–दुई तथा रवि बोपाराले एक विकेट लिए ।

चार खेल खेलिसकेको काठमाडौं र तीन खेल खेलेको चितवनको समान चार अंक छ भने अंक तालिकामा चितवन तेस्रो स्थानमा र काठमाडौं चौथो स्थानमा छ ।

चितवन टिमको नेतृत्व कुशल मल्लको सम्हालेका छन् भने काठमाडौंका कप्तान करण केसीले सम्हालेका छन् ।