यो सन् १९६७ को कुरा हो, जब केभिन क्यारोल र डेबी वेबरले पहिलो पटक एकअर्कालाई देखेका थिए। त्यसबेला दुवै किशोर अवस्थामा थिए र आ-आफ्नो स्कुलको थिएटर ग्रुपमा आवद्ध थिए। पहिलो देखभेटमै दुवैले एकअर्कालाई मन पराउन थालेका थिए।
क्यारोलले बीबीसीको ‘आउटलुक’ कार्यक्रममा भने, “म केटाहरू मात्र पढ्ने स्कुलमा थिएँ, जबकी डेबी केटीहरूको स्कुलमा थिइन्।” उनले सम्झिए, “एक संयुक्त अडिसनका क्रममा हामी सबै अडिटोरियममा थियौँ। त्यतिबेलै मैले आफ्नो साथीलाई भनेको थिएँ, ‘त्यो केटी देख्यौ? म उनलाई स्कुल डान्सको कार्यक्रममा लिएर आउनेछु’।”
डेबी वेबरले पनि त्यो पल सम्झिँदै भनिन्, “म अडिटोरियममा एक्लै बसेकी थिएँ किनकि अर्को स्कुलबाट आएका केटीहरूलाई म चिन्दिनथेँ। जब मैले केभिनलाई देखेँ, मलाई लाग्यो उनी अहिलेसम्मकै सबैभन्दा प्यारो केटा हुन्।”
कुरा सँगै डान्स गर्नमा मात्र सीमित रहेन। त्यसपछि दुवै एकअर्काबाट टाढा रहनै सकेनन्। उनीहरूले मेरील्याण्ड (अमेरिका) भागेर जाने योजना समेत बनाएका थिए, किनकि त्यहाँ कम उमेरमा विवाह गर्न सजिलो थियो।
तर, एक्कासि सबै कुरा बदलियो। डेबी गर्भवती भएको खबरले उनीहरूको सपना चकनाचुर पारिदियो। यही घटनाले उनीहरूलाई ४० वर्षभन्दा बढी समयका लागि एकअर्काबाट अलग बनायो।
आज, यतिका वर्षपछि उनीहरू फेरि एकठाउँमा छन्। उनीहरू भन्छन्– जवानीमा राम्ररी बाँच्न नपाएको त्यो प्रेमलाई अहिले सँगालेर राखेका छौँ। तर यहाँसम्म आइपुग्न उनीहरूको जीवनमा घटेका घटना कुनै हलिउड फिल्मभन्दा कम छैनन्।
अचानक आएको खबर र विछोड
जब डेबी वेबरका आमाबुवालाई छोरी गर्भवती भएको थाहा भयो, उनीहरूले केही हदसम्म साथ दिए। यद्यपि, तत्कालीन समाजले यस्ता कुरालाई सहज रूपमा लिँदैनथ्यो।
डेबीले भनिन्, “मेरा आमाबुवा धेरै राम्रा हुनुहुन्थ्यो। उहाँहरूलाई केभिन पनि मन पर्थ्यो। उहाँहरूलाई थाहा थियो कि केभिन असल केटा हुन् र हामी एकअर्कालाई साँचो माया गर्छौं। तर, त्यस समयमा विवाहअघि गर्भवती हुने केटीहरूका लागि परिस्थिति निकै फरक थियो।”
त्यसैले डेबीलाई ‘सिङ्गल मदर्स’ (अविवाहित आमाहरू) का लागि बनाइएको विशेष घरमा पठाउने निर्णय गरियो। डेबी सम्झिन्छिन्, “मेरी आमाले केभिनलाई मलाई भेट्न आउन अनुमति दिनुभएको थियो। हामी कारमा घुम्न जान्थ्यौँ र सँगै खाना खान्थ्यौँ।”
यस दौरान दुवैमा एउटै आशा थियो– कुनै दिन विवाह गर्नेछौँ र जन्मिने बच्चालाई सँगै हुर्काउनेछौँ। डेबी भन्छिन्, “मलाई आशा थियो कि त्यहाँ बस्ने समय सकिएपछि हामी विवाह गर्न पाउनेछौँ।”
केभिन पनि यही आशामा थिए। उनले आफ्नी आमालाई मनाएर १७ वर्षकै उमेरमा अमेरिकी मरिन्समा भर्ना हुने निर्णय गरे। उनले भने, “मलाई लाग्यो यदि म मरिन्समा भर्ना भएँ भने मैले डेबीलाई पैसा पठाउन सक्छु, जसले गर्दा तत्काल विवाहको आवश्यकता पर्दैन। मरिन्सले डेबी र बच्चाको स्वास्थ्य उपचारको जिम्मा लिनेछ भन्ने मलाई लागेको थियो। तालिम सकिएपछि हामी विवाह गरौँला भन्ने सोचेको थिएँ।”

तर, त्यो केवल एक आशा मात्र रह्यो। तालिमकै क्रममा केभिनले डेबीको एउटा पत्र पाए। त्यसमा लेखिएको थियो– उनी बच्चालाई धर्मपुत्र/धर्मपुत्रीका रूपमा दिन तयार भएकी छन्। केभिन भन्छन्, “त्यो खबरले म भित्रैदेखि टुटिसकेको थिएँ। म मरिन्सको तालिममा थिएँ जहाँ भावना देखाउन मनाही थियो, …तर भित्रभित्रै मेरो संसार भत्किसकेको थियो।”
केभिन भियतनाम युद्धमा जानुअघि नै डेबीले उनीसँगको सम्बन्ध तोडिन्। बच्चालाई अरूको जिम्मा लगाइसकेपछि डेबीलाई भयानक सपनाहरू आउन थाले। डाक्टरले उनलाई भनेका थिए, “एउटा परिवार छ जसका चार सन्तान छन्, तर आमाले अब अर्को बच्चा जन्माउन सक्दिनन्। यदि तिम्रो छोरी भइन् भने उनीहरूले धर्मपुत्रीका रूपमा लिन चाहन्छन्।”
अन्ततः डेबीले छोरीलाई जन्म दिइन्, जो उनका अनुसार ठ्याक्कै केभिन जस्तै देखिन्थिन्। उनले ती बालिकालाई उक्त परिवारको जिम्मा लगाइन्। त्यसपछि डेबीको परिवार नयाँ जीवन सुरु गर्न अर्कै ठाउँमा बसाइँ सरे।
उता केभिन भियतनाम युद्धमा होमिए। उनले भने, “मेरो काम युद्धमा खसेका विमानका पाइलटहरूलाई फिर्ता ल्याउनु थियो। १० अक्टोबर १९६९ मा हामी एउटा सप्लाई हेलिकप्टर बचाउन गएका थियौँ।”
त्यस अपरेसनका क्रममा केभिन गम्भीर घाइते भए। उनले भने, “मलाई लाग्यो म बाँच्दिनँ। मैले भगवानसँग गुनासो गर्दै भनेँ– घरबाट १८ हजार माइल टाढा, डेबी र मेरो बच्चालाई नदेखि मलाई यहाँ मर्न नदिनुस्।”
भाग्यवश, एक साथी सैनिकले उनको ज्यान बचाए। लामो उपचार र १८ वटा शल्यक्रियापछि उनी अमेरिका फर्किए। ह्विलचेयरबाट वाकर, वाकरबाट वैशाखी र अन्ततः छडीको सहारामा उनी हिँड्न सक्ने भए।
यति धेरै पीडाका बीच पनि केभिनले डेबीलाई खोज्ने कोसिस गरे, तर फेला पार्न सकेनन्। उता डेबी पश्चाताप र पीडा बिर्सन नयाँ जीवनमा व्यस्त भइन्। उनले विवाह गरिन् र तीन छोरीहरू जन्माइन्। यता श्रीमतीको मृत्युपछि केभिन एक्लै थिए।
दुवैलाई आफूले जन्माएर अरूलाई सुम्पिएकी छोरीको कुनै खबर थिएन।
एकअर्काको खोजी र पुनर्मिलन
अन्ततः डेबी वेबरले आफ्ना छोरीहरूलाई सत्य बताउने निर्णय गरिन्। “त्यो ‘मदर्स डे’ (आमाको मुख हेर्ने दिन) थियो। मैले मेरा छोरीहरूलाई भान्सामा बोलाएर भनेँ– म धेरै सानो हुँदा मैले एउटी छोरीलाई जन्म दिएकी थिएँ। त्यसपछि मैले उनीहरूलाई केभिन र मेरो प्रेम कथा सुनाएँ,” डेबीले भनिन्।
यो सुनेपछि उनकी एउटी छोरीले ती दिदीलाई खोज्न चाहेको बताइन्। डेबीलाई त्यो परिवारको थर, ठाउँ र उनीहरूका चार छोराहरू भएको कुरा याद थियो। यति जानकारी काफी भयो। डेबीकी छोरीले त्यो परिवारलाई पत्ता लगाइन्।
त्यसपछि एउटा फोन कल आयो। फोन गर्ने अरू कोही नभएर वर्षौँअघि धर्मपुत्री बनाइएकी छोरी ‘भ्याल’ थिइन्। भ्यालले बीबीसीलाई भनिन्, “मैले बिहान आठ बजे फोन गरेँ। मैले भनेँ– हामीले धेरै कुरा गर्न बाँकी छ, तर म तपाईंको निर्णयको कदर गर्छु। मेरो मनमा कुनै गुनासो छैन।”
यो सुनेपछि डेबीको मनको बोझ हल्का भयो। सोही रात आमा–छोरीको भेट भयो। भेटमा एउटा ठूलो प्रश्न उठ्यो– भ्यालका असली पिता अर्थात् केभिन कहाँ छन्? इन्टरनेटमा धेरै खोजेपछि केभिनकी श्रीमतीको निधनको शोक–सन्देश भेटियो। त्यसपछि डेबीले केभिनलाई पत्र लेखिन्।
केही समयपछि डेबीले केभिनलाई भनिन्, “मैले तिमीलाई एउटा कुरा भन्नु छ… मैले हाम्रो छोरीलाई भेटाएकी छु। के तिमी उसलाई भेट्न चाहन्छौ?” केभिनले तुरुन्तै ‘हुन्छ’ भने। डेबीको घरमा उनीहरूको भेट तय भयो। जब केभिन आइपुगे, भ्याल आफ्नी आमाको प्रतिक्रिया देखेर हाँसिन्। डेबीले भनिन्, “ओहो, उनी त कति ह्यान्डसम (सुन्दर) छन्!”
भ्याल र केभिनले घन्टौँसम्म कुरा गरे। पछि केभिनले स्वीकार गरे कि उनले डेबीलाई माया गर्न कहिल्यै छोडेका थिएनन्। परिस्थितिले भगाउन नसकेको र एकअर्काबाट विछोड भएको करिब ४० वर्षपछि, केभिन र डेबीले विवाह गरे। अहिले उनीहरू ७० वर्षको हाराहारीमा छन् र एकअर्काको ख्याल राख्दै जीवन बिताइरहेका छन्।
डेबी भन्छिन्, “हामी एकअर्काको हेरचाह गर्न सक्छौँ, एकअर्कालाई माया दिन सक्छौँ… साँचो भन्नुपर्दा, मलाई अब योभन्दा बढी केही चाहिँदैन।”
(यो कहानी बीबीसी वर्ल्ड सर्भिसको आउटलुक कार्यक्रममा आधारित छ)