Author: Hulak News

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि रूपमा बन्द भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नहुन्जेल विमानस्थल बन्द गरिएको जनाएको हो ।
    कार्यालयले उपत्यकामा जारी निषेधाज्ञा, कर्फ्यु आदेश, उपत्यकाभित्रको विषम परिस्थितिलगायत विमानस्थल वरपर विमान अवतरण मार्गमा देखिएको धुवाँलगायतले विमानको सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै बन्द गर्नुपरेको जिकिर गरेको छ ।
    “विमानस्थल बन्द रहेको अवस्थामा विमानस्थलमा नआइदिन पनि अनुरोध गरिएको छ । विमानस्थल खुलेको सूचना पाएपश्चात् सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्र आउन पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ,” विज्ञप्तिमा भनिएको छ ।
    विमानस्थल अनिश्चितकालका लागि बन्द हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका हवाई यात्रु अलपत्र परेका छन् ।
  • ओलीकाे पतनपछि एमाले नेतृत्व पुनर्गठन गर्नुपर्ने योगेश भट्टराईको सुझाव

    ओलीकाे पतनपछि एमाले नेतृत्व पुनर्गठन गर्नुपर्ने योगेश भट्टराईको सुझाव

    काठमाडाैं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी नेतृत्व पुनर्गठनको प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् बिहीबार आफ्नो धारणा सार्वजनिक गर्दै उनले एमालेको नेतृत्व पुनर्गठनको प्रस्ताव गरेका हुन् ।

    नेता भट्टराईले लेखेका छन्, ‘पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौँ, यो काम होशियारीपूर्वक गरौँ । जसले हाम्रो पार्टी एकता कायम गरोस् ।’ उनले एमालेका नेता–कार्यर्ताहरूलाई सम्बोधन गर्दै आफूहरू इतिहासकै गम्भीर संकटको अवस्थामा रहेको बताएका छन् । उनले देश र समाज भयानक अस्थिरतामा पुगेको टिप्पणी पनि गरेका छन् ।

    ‘हामी यतिबेला इतिहासकै गम्भीर संकटको अवस्थामा छौँ । देश र समाज भयानक अस्थिरतामा छ, हामी सबै तनावमा छौँ । यस्तो अवस्थामा उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सही ठाउँमा पुर्‍याउँदैन’ भट्टराईले भनेका छन् । नेता भट्टराईले पार्टी र देश निर्माणका लागि १० बुँदे प्रस्ताव पनि अघि सारेका छन् ।

    यस्ता छन् प्रस्तावहरू

    १. विकसित घटनाहरूलाई राम्रोसित विश्लेषण गरौँ । हामीबाट भएका कमजोरीको समीक्षा गरौँ । गल्तीप्रति आत्मालोचित होऔँ ।

    २. पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौँ । यो काम होशियारीपूर्वक गरौँ । जसले हाम्रो पार्टी एकता कायम गरोस् ।

    ३. पार्टीमा आम सदस्यहरूको अपनत्व र सहभागीता सुनिश्चित गरौँ ।

    ४. पार्टीका आन्तरिक प्रक्रियाहरूलाई पूर्णतः पारदर्शी र लोकतान्त्रिक बनाऔँ ।

    ५. जनतामा जाऔँ, जनतालाई सुनौँ र त्यसअनुसार निर्णय गरौँ ।

    ६. लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चता, कानूनको शासन यो जबजको आत्मा हो, यसबाट दाँया–बाँया नजाऔँ ।

    ७. खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नु छ । नेपालको हित चिताउने सबैसँगको समन्वयबाट यो काम संपन्न गर्ने अठोट गरौँ।

    ८. हिमाल, पहाड़, तराई, सबै जात, जाति र भाषा, भाषीबीचको एकतालाई बलियो बनाऔँ ।

    ९. देशभित्रको आन्तरिक सहमति अनि संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यताअनुरूप निकास दिनु पर्दछ । विश्व समुदायले नेपालीहरूको उक्त प्रयत्नलाई सहयोग गर्नु पर्दछ । यही आधारमा अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरौँ ।

    १०. जेन–जी समूहले अघि सारेका भ्रष्टाचार र बेथिती अन्त्य गर्ने मागलाई समर्थन र कार्यान्वयनमा सहयोग गरौँ । नेपाल बचाऊँ, नेपालित्व जोगाऔँ ।

  • बाजुरामा पनि कफ्र्यु आदेश जारी, मार्तडी सुनसान

    बाजुरामा पनि कफ्र्यु आदेश जारी, मार्तडी सुनसान

    बाजुरा । बाजुरामा पनि कफ्र्यु आदेश जारी गरिएको छ । नेपाली सेनाले देशैभरी भोलि(विहीबार)विहानसम्मका लागि कफ्र्यु जारी गरेसंगै जिल्ला प्रशासन कार्यालय बाजुराले एक सूचना जारी गर्दै कफ्र्यु आदेश जारी गरेको हो ।

    प्रशानसले बुधबार सूचना जारी गर्दै आजदेखि अर्काे आदेश जारी नभएसम्म स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा (३क) बमोजिम जिल्ला सदरमुकाम मार्तडी स्थित पुर्वमा मालिका मन्दिर,पश्चिममा कारागार मोड, उत्तरमा जिल्ला अस्पताल पछाडी,र दक्षिणमा निर्माणाधिन बसपार्क क्षेत्रभित्र कफ्र्यु आदेश जारी गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलद्वारा जारी कफ्र्यु आदेशमा यी चारवटै सिमाक्षेत्र भित्र नारा, जुलुस, सभा, बैठक, प्रर्दशनलगायत घेराउ गर्न नपाउने गरि कफ्र्यु जारी गरिएको हो । कफ्र्यु आदेश अवधिभर अत्यावश्यक सेवाका सवारीसाधन जस्तैः (एम्बुलेन्स,शब वहान) आवागमनमा सुरक्षाकर्मीबाट सहजीकरण सूचनामा भनिएको छ ।

    सदरमुकाम मार्तडी यतिवेला सुरक्षाकर्मीको घेरामा रहेको छ । देशैभरी जेनजीले गरेको आन्दोलन आक्रामक बनेकोले बाजुरामा पनि जेनजीको आन्दोलनले घटना निम्तिन सक्ने हुँदा सम्पूर्ण नागरिकलाई घरभित्रै सुरक्षित बस्न आग्रह गरिएको छ । सुरक्षाकर्मीको घेरामा परेको मार्तडी बजार यतिवेला सुनसान बनेको छ । देशैभरी जेनजीले गरेको आन्दोलन आक्रामक बनेकोले बाजुरामा पनि जेनजीको आन्दोलनले घटना निम्तिन सक्ने हुँदा सम्पूर्ण नागरिकलाई घरभित्रै सुरक्षित बस्न आग्रह गरे संगै बजारका पसलहरु पुर्ण रुपमा बन्द रहेका छन् ।

  • सिंहदरबारमा आगलागी, तर पृथ्वीनारायणको सालिक यथावत् (तस्बिरहरू)

    सिंहदरबारमा आगलागी, तर पृथ्वीनारायणको सालिक यथावत् (तस्बिरहरू)

    आन्दोलनकारीले सिंहदरबारमा भीषण आगजनी हुँदा पनि, नेपालको एकताको प्रतीक पृथ्वीनारायण शाहको सालिक सतीसाल जस्तै अडिग भएर उभिएको देखिएको छ। आन्दोलनकारीहरुले शालिक जोगाएका छन् । धुवाँ र भग्नावशेषको बीचमा शालिक सुरक्षित देखिन्छ ।

     

  • रामेछापमा कफ्र्यू हट्यो

    रामेछापमा कफ्र्यू हट्यो

    रामेछाप । रामेछाप जिल्लामा लगाइएको कफ्र्यू हटाएर निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाको शान्ति–सुरक्षाको अवस्था र उत्पन्न परिस्थिति मूल्याङ्कन गर्दै बिहीबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन सहित) को दफा ६ को उपदफा (३क) बमोजिम आदेश जारी गर्दै तोकिएका क्षेत्रमा ५ जनाभन्दा बढी भेला भई जुलुस, हुलदङ्गा, प्रदर्शन, घेराउ वा विरोध कार्यक्रम नगर्न आग्रह गरेका छन्। आदेश उल्लंघन गर्नेहरूमाथि कानुनअनुसार कारबाही हुने चेतावनी समेत दिइएको छ ।

    यसअघि मिति २०८२ भदौ २४ गते राति १० बजेदेखि भदौ २५ गते दिउँसो १२ बजेसम्म कफ्र्यू आदेश लागू गरिएको थियो। तर परिस्थिति केही सहज बनेपछि उक्त आदेश हटाएर निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

    निषेधाज्ञाले मन्थली नगरपालिका–२ को आकासे पुलदेखि दक्षिणतर्फ रामेछाप नगरपालिका–२ को सुकाजोर खोला पुल (बिटारसम्म), मन्थली–खुर्कोट सडकखण्डको सोलमारीस्थित सुकाजोर खोला पुलदेखि मदन आश्रित चोक हुँदै सानीमदौ सीटीईभीटीसम्म, मन्थली नगरपालिका–१ का सम्पूर्ण क्षेत्र, रामेछाप नगरपालिका–८ को भंगेरीदेखि गौरीशंकर माध्यमिक विद्यालय र रामेछाप अस्पतालसम्मको क्षेत्रलाई समेटेको छ । त्यस्तै, जिल्लाभित्रका सबै पालिका र वडा कार्यालय रहेका स्थानहरूमा पनि निषेधाज्ञा लागू हुने जनाइएको छ ।

    प्रशासनले अत्यावश्यक कामका लागि निस्कनुपर्ने सर्वसाधारणलाई सहज हुने गरी व्यवस्था मिलाइएको जनाएको छ ।

  • बौद्ध–चाबहिल लुटपाट प्रकरण: सेना द्वारा नगद बरामद

    बौद्ध–चाबहिल लुटपाट प्रकरण: सेना द्वारा नगद बरामद

    काठमाडौँ । काठमाडौँको बौद्ध र चाबहिल क्षेत्रमा अराजक समूहले लुटेको ३३ लाख ७० हजार रुपैयाँ सेनाले बरामद गरेको छ ।

    बौद्ध, चाबहिल र गौशाला क्षेत्रबाट लुटिएको रकम बरामद गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

  • तीन दिनका लागि एनटीसीको भ्वाइस कल र इन्टरनेट सेवा निःशुल्क

    तीन दिनका लागि एनटीसीको भ्वाइस कल र इन्टरनेट सेवा निःशुल्क

    काठमाडौं । दूरसञ्चार प्रदायक कम्पनी नेपाल टेलिकम (एनटीसी)ले तीन दिनका लागि भ्वाइस कल र इन्टरनेट सेवा निःशुल्क गरेको छ ।

    हाल देशमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै एनटीसीले डाटा तथा भ्वाइस सहितको प्याकेज निशुल्क गरेको हो । बुधबारदेखि प्रत्येक उपभोक्ताहरुलाई सन्देश मार्फत डाटा तथा भ्वाइस सहितको प्याकेज दिएको हो ।

    डाटा लिन स्टार १४१५ स्टार ८ स्टार ३ ह्याज डायल गरी भ्वाइस कलको सेवा लिन सकिने एनटीसीले जानकारी दिएको छ । यस्तै एनटीसीका अनुसार डाटाको लागि स्टार १४१५ स्टार ८ स्टार ७ ह्याज डायल गरी सेवा लिन सकिन्छ ।

  • सर्वोच्च अदालतमा मुद्दा स्थगित, पुन: सुनुवाइको मिति तोकिएको छैन

    सर्वोच्च अदालतमा मुद्दा स्थगित, पुन: सुनुवाइको मिति तोकिएको छैन

    काठमाडौँ । सर्वोच्च अदालतले पेसीमा रहेका मुद्दाहरूको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ ।

    आगजनीका कारण सर्वोच्च अदालत पूर्णरुपमा क्षतिग्रस्त भएकाले सुनुवाइहरू अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

    जेन जेड युवाको प्रदर्शनको क्रममा मंगलबार सर्वोच्च अदालत पूर्णरुपमा जलेर नष्ट भएको छ ।

  • भीमफेदी कारागारमा मध्यरातको भागाभाग: २६० कैदी फरार, दुई घाइते

    भीमफेदी कारागारमा मध्यरातको भागाभाग: २६० कैदी फरार, दुई घाइते

    हेटौंडा । मकवानपुरको क्षेत्रीय कारागार भीमफेदीबाट मध्यरातमा २६० जना कैदी भागे गरेका छन्।कारागार प्रमुख सुवास पौडेलका अनुसार राति १२ः५५ बजे ‘क’ ब्लकमा रहेका कैदीहरूले तीनवटा गेट तोडेर बाहिर निस्कने प्रयास गरेका थिए ।

    त्यही क्रममा उनीहरूले कारागारको पश्चिमपट्टिको पर्खाल भत्काएर भागेका हुन् । सो ब्लकमा ५ सयभन्दा बढी कैदी रहेका मध्ये करिब २३० जनालाई नियन्त्रणमा लिएर पुनः कारागारमा फर्काइएको पौडेलले जानकारी दिए ।

    सुरक्षाकर्मी र कैदीबीच करिब ४ घण्टासम्म तनावपूर्ण अवस्था कायम भएको थियो। त्यही क्रममा सेनाले चलाएको गोली लागेर दुई जना कैदी घाइते भएका छन् । उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । कारागारको गाडी लिएर भाग्ने क्रममा टायरमा प्रहार गरिएको गोली कैदीलाई लागेको कारागार प्रशासनले जनाएको छ ।

    कैदीहरूले कारागार परिसरमा तोडफोड र आगजनीसमेत गरेका थिए। स्थिति नियन्त्रणमा लिन सेनाले करिब २०० राउन्ड हवाई फायर गरेको थियो । त्यस्तै, सशस्त्र प्रहरीले पनि २ राउन्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो । कारागारको अर्को ‘ख’ ब्लक भने सुरक्षित रहेको कारागार प्रमुख पौडेलले बताए।

  • सेनाले भन्यो: नेपाल र नेपाली जनताको रक्षा गर्न प्रतिबद्ध छौँ 

    सेनाले भन्यो: नेपाल र नेपाली जनताको रक्षा गर्न प्रतिबद्ध छौँ 

    नेपाली सेनाले नेपाल र नेपाली जनताको रक्षा गर्न प्रतिबद्ध रहेको बताएको छ । आज एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जिउधनको सुरक्षार्थ विषम परिस्थितिमा पनि नेपाली सेना प्रतिबद्ध रही आएको जनाएको हो ।
    सेनाले नेपालमा हाल भइरहेको जेनजी आन्दोलनका विकसित घटनाक्रमहरूबारे विश्लेषण गरिरहेको समेत जनाएको छ । सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस आन्दोलनको क्रममा हुन पुगेको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्नुका साथै शोक सन्तप्त परिवारजन प्रति नेपाली सेना हार्दिक समवेदना र सहानुभूति व्यक्त गर्दछ । साथै, घाइते बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछ ।”
    सेनाले यस विषम परिस्थितिमा संयमित हुन सबैलाई अपिल अनुरोध समेत गरेको छ । “यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो । तसर्थ, विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।