Author: Hulak News

  • रावल पक्षलाई भाेट नहाल्न ओली पक्षीयकाे पर्चा, भीम रावलको यस्तो कडा प्रतिक्रिया

    रावल पक्षलाई भाेट नहाल्न ओली पक्षीयकाे पर्चा, भीम रावलको यस्तो कडा प्रतिक्रिया

    चितवन । नेकपा (एमाले)को १०औँ महाधिवेशनमा अध्यक्षसहितका पदमा सहमति जुट्न नसकेपछि मंगलबार बिहानबाट मतदान जारी छ । महाधिवेशन प्रतिनिधि मतदानका लागि लामवद्ध रहँदा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली पक्षधरले अर्का प्रतिस्पर्धी भीम रावल पक्षलाई मत नदिन भन्दै पर्चा बाँडिरहेका छन् ।

    एमाले संस्थापन पक्षको यो कदम निर्वाचन आचारसंहिताविपरीत हो ।

    एमाले अध्यक्षका उम्मेदवार रहेका रावलले पर्चा बाँड्नु निर्वाचन आचारसंहिता विपरीत रहेको बताए । ‘त्यस्तो नगर्ने भनेर छलफल गरेर नै निर्वाचन आयोगले आफैँ आचारसंहिता केन्द्रीय बनाएको हो,’ उनले भने, ‘निर्वाचन आयोगका अध्यक्ष बिजय सुब्बा लगायत पदाधिकारी सबैलाई यो कदम चाँडो रोक्नुस् भनिसकेको छु ।’

    संस्थापन पक्षले बाँडिरहेको पर्चा नरोके धाँधली मानिने उनले बताए । ‘यदि त्यस्तो नगर्ने हो भने कतिपय ठाउँमा जसरी प्रतिनिधि छनोटमा धाधली गरियो, यो पनि धाधलीको एउटा रुप हो । यस्तो धाधली यति ठूलो पार्टीमा हुनु, आफै आचारसंहिता बनाउने, आफैं कार्यान्वयन नगर्नु भनेको लोकतन्त्रप्रतिको निष्ठा, लोकतन्त्र बलियो बनाउने कुरामा समस्या उत्पन्न हुन्छ,’ उनले भने ।

  • मेस्सीले साताैँ पटक जिते बालोन डि ओर

    मेस्सीले साताैँ पटक जिते बालोन डि ओर

    काठमाडौं । अर्जेन्टिना तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले बालोन डी ओर अवार्ड जितेका छन् । सोमबार राति स्टार खेलाडी लियोनल मेस्सीले २०२१ को उत्कृष्ट खेलाडी बन्दै बालोन डी ओर अवार्ड जितेका हुन् ।

    मेस्सीले कीर्तिमानी सातौं पटक बालोन डी’ओर अवार्ड जितेका हुन् । मेस्सीले २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा यस अवार्ड जितेका थिए ।

    मेस्सीले रोबर्ट लेवान्डोस्की र जर्गिन्होलाई पछि पार्दै अवार्ड जितेका हुन् । मेस्सी बालोन डी ओर जित्ने पीएसजीका पहिलो खेलाडी समेत बने ।मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए ।

    म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड रोनाल्डो छैटौँ स्थानमा रहे । रोनल्डोले यो अवार्ड पाच पटक जितेका छन् ।

    महिलातर्फको बालोन डी ओर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् ।

    जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले ‘स्ट्राइकर अफ दि इयर हात पारे । बार्सिलोनाका स्पेनिस मिडफिल्डर पेड्रीले यू-२१ को उत्कृष्ट खेलाडी बन्दै कोपा ट्रफी प्राप्त गरे । इटालीका गोलकिपर जियानलुगी डोनारुम्माले यासिन ट्रफी प्राप्त गरे । क्लब अफ दि इयरको अवार्ड चेल्सीले जितेको छ ।

  • १० सचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?

    १० सचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?

    काठमाडौं । सरकारले १० जना सचिवको सरुवा गरेको छ । साेमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निर्वाचन आयोगका सचिव सुरेश अधिकारीलाई ल्याइएको छ । उनले यसअघि उक्त मन्त्रालयमा सहसचिव तथा प्रवक्ता भएर काम गरिसकेका छन् ।

    उक्त मन्त्रालयमा सचिवको जिम्मेवारीमा रहेका एकनारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइएको छ । उक्त मन्त्रालयमा रहेका सूर्यप्रसाद गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ ।

    यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेश्वर न्यौपानेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ । उक्त मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।

    शिक्षा मन्त्रालयका शिक्षातर्फका सचिव रामप्रसाद थपलियाको पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । शहरी विकास मन्त्रालयका सचिव रमेश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा राखिएको छ । ऊर्जा आयोगका सचिव मणिराम गेलाललाई शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

    राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव गोकर्णमणि दुवाडीको निर्वाचन आयोगमा सरुवा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव भरतमणि सुवेदीलाई आयोगमा पठाइएको छ ।

  • कांग्रेस महाधिवेशनको सन्दर्भमा जसस जापानमा देखिएकाे समस्या समाधान गर्न समिति गठन

    कांग्रेस महाधिवेशनको सन्दर्भमा जसस जापानमा देखिएकाे समस्या समाधान गर्न समिति गठन

    जापान । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको सन्दर्भमा जनसम्पर्क समिति जापानले गरेका काम र समितिकाे भूमिकाप्रति समितिका पदाधिकारीहरुसहित र क्षेत्रीय समितिहरुले असन्तुष्टि व्यक्त गरेपछि समस्या समाधान समिति गठन गरिएकाे छ ।

    नाेभेम्बर २८ मा भएकाे वृहत् भेलाले बौद्धिक अग्रज धर्मराज अधिकारीको नेतृत्वमा जनसम्पर्क समिती जापानका संस्थापक सदस्यहरु जेपी पण्डित, डा. नेत्र प्रसाद भण्डारी, डा. विश्वराज कंडेल, पारस मणी पोखरेल, सुवास लोहनी जनसम्पर्क समिति जापानका उप सभापति सुजन जोशी, बद्री पौडेल कोषाध्यक्ष सावित्री लामा (लक्ष्मी), प्रवक्ता शुरेस गिरी केन्द्रीय सदस्यहरु लिल गुरुङ, किरन थापा मगर, अरुण खड्का लगायत नागोया क्षेत्रीय सभापति कुशलराज धिताल, फ़ुकुओक क्युशु क्षेत्रीय सभापति डिका कार्कीलगायत रहेको १०१ सदस्यीय समस्या समाधान समिति गठन गरेको हाे ।

    नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशनको तयारी भैरहेको सन्दर्भमा जन-सम्पर्क समिति जापानबाट पठाउनु पर्ने क्रियाशिल सदस्यताको शिफारिस एवं महाधिवेशन प्रतिनिधिको छनौटमा पार्टीको निर्देशन र जन-सम्पर्क समिति जापानको विधान विपरित आम कार्यकर्तालाई कुनै जानकारी नदिइ षड्यन्त्रमुलक र लज्जाजनक तरीकाले क्रियाशील सदस्यताको सिफारिस गरिएको पदाधिकारीहरुले आराेप पनि लगाएका थिए । साथै उनीहरुले पैसाको मोलतोलमा महाधिवेशन प्रतिनिधिहरूको छनौट गरी पठाउने प्रपन्च भैरहेको पनि आराेपसमेत लगाएका थिए । जनसम्पर्क समिति जापानमा देखिएकाे समस्या समाधानका लागि उक्त समिति गठन भएकाे हाे ।

    याे पनि पढ्नुहाेस् ।

    कांग्रेसको १४ औँ महाधिवेशनको सन्दर्भमा जसस जापानकाे काम र भूमिकाप्रति असन्तुष्टि व्यक्त

  • राखेपको सदस्य सचिवमा घिसिङ नियुक्त

    राखेपको सदस्य सचिवमा घिसिङ नियुक्त

    काठमाडाैं । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गर्ने निर्णय गर्ने निर्णय गरेको छ ।

    सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई सदस्य सचिव बनाउने निर्णय गरेको हाे ।

    घिसिङ माओवादीका बागमती प्रदेश कमिटी सदस्य समेत हुन् । तत्कालीन नेकपा सरकारले नियुक्त गरेका रमेश सिलवाललाई हटाएर सरकारले घिसिङलाई सदस्य सचिव नियुक्त गरेको हो ।

     

  • राप्रपा अध्यक्षका लागि कमल थापाकाे उम्मेदवारी घोषणा, पशुपति शमशेर नउठ्ने

    राप्रपा अध्यक्षका लागि कमल थापाकाे उम्मेदवारी घोषणा, पशुपति शमशेर नउठ्ने

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापाले उम्मेदवारी घोषणा गरेका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले भावी अध्यक्षका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

    राप्रपाका अर्का अध्यक्ष पशुपति शमशेर जबराले भने महाधिवेशनमा अध्यक्ष पदका लागि प्रतिस्पर्धा नगर्ने निर्णय लिएका छन् । मंसिर १५ देखि १९ गतेसम्म राप्रपाकाे महाधिवेशन हुन लागेकाे छ ।

    थापाले जबराको साथ आफूलाई नै मिल्ने पनि विश्वास लिएका छन् । यसअघि नै राप्रपाका राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । लिङ्देनलाई नेपालगञ्ज उपमहानगरपालिका मेयरसमेत रहेका नेता धवल शमशेर जबराले साथ दिएका छन् ।

  • कांग्रेस अधिवेशनमा झडप, निर्वाचन अधिकृतसहित ५ घाइते

    कांग्रेस अधिवेशनमा झडप, निर्वाचन अधिकृतसहित ५ घाइते

    सर्लाही । जिल्लामा नेपाली काँग्रेसको वडा अधिवेशन क्रममा विवाद भएको छ । अधिवेशनकै क्रममा भएको विवादले उग्र रूप लिएपछि झडप भएको हो । झडपमा परी मतदान अधिकृतसहित ५ जना घाइते भएका छन् ।

    सर्लाहीको निर्वाचन क्षेत्र ४ स्थित बलरा नगरपालिका वडा नम्बर ८ वडा अधिवेशन गराउन पुगेका मतदान अधिकृत उमेशचन्द्र झामाथि आक्रमण भएपछि प्रहरीसँग झडप भएको थियो । झडपको क्रममा ५ जना घाइते भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिए । वडा अधिवेशनकै क्रममा मतदान अधिकृत झामाथि हातपात हुन थालेपछि प्रहरी बचाउनका लागि प्रयास गर्ने क्रममा प्रहरीसँग झडप भएको हो ।

    झडपमा परेर झा सहित ३ जना प्रहरी र एक जना सर्वसाधारण घाइते भएको बताइएको छ । यस अघि यही क्षेत्रमा आइतबार साँझ वडा अधिवेशनकै क्रममा प्रदेश २ का महिला बालबालिका तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहका पिएसओले हवाई फायर गरेका थिए ।

  • पदाधिकारी सूचीमा नअटाएपछि महाधिवेशनस्थल छाडेर लालबाबु पण्डित काठमाडौंमा

    पदाधिकारी सूचीमा नअटाएपछि महाधिवेशनस्थल छाडेर लालबाबु पण्डित काठमाडौंमा

    चितवन । नेकपा एमालेका नेता लालबाबु पण्डित चितवनमा जारी महाधिवेशनस्थल छोडेर काठमाडौं आइपुगेका छन् । पदाधिकारीका आकांक्षी पण्डितलाई अध्यक्ष केपी ओलीले पदाधिकारी सूचीमा नअटाएपछि केन्द्रीय सदस्य नबन्ने घोषणा गर्दै काठमाडौं फर्किएका हुन् ।

    ‘मैले पहिला नै पदाधिकारीबाहेक अन्य पदमा बस्दिन भनेर घोषणा गरेको थिएँ, सोहीअनुसार केन्द्रीय सदस्य त्याग गरेको हुँ,’ पण्डितले भने, ‘बिहानको खाना खाएर म अहिले काठमाडौं फर्किसकेको छु ।’

    उनले निर्वाचन समितिले उम्मेदवार दिने अवसर दिए पनि कुनै पनि कार्यकारी पदमा उम्मेदवार रहन भने अनिच्छुक भएकाले काठमाडौं फर्किएको बताए ।

  • नेप्सेमा आज पनि गिरावट, ४ अर्बको कारोबार

    नेप्सेमा आज पनि गिरावट, ४ अर्बको कारोबार

    काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज पनि घटेकाे छ । साेमबार सेयर बजार परिसूचक नेप्से २१.५१ अंकले घटेर २६२९.९७ बिन्दुमा कारोबार बन्द भएको छ । २२८ कम्पनीको ८२ लाख २५ हजार ८२२ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेमा करिब ४ अर्ब रुपैयाँ बाराबरको सेयर कारोबार भएको छ ।

    साेमबार सबैभन्दा धेरै जीवन बीमा समूहको ११७ अंकले घटेको छ । यसैगरी नीर्जीवन बीमा समूहको ७६.६८ अंक, होटल तथा पर्यटन समूहको ७३.३ अंक, विकास बैंक समूहको ६७.४४ अंक, उत्पादन तथा प्रसोधनमुलक समूहको ६१.९५ अंक, अन्य समूहको ४१.१३ अंक, लघुवित्त वित्तीय समूहको ४०.८३ अंक, वित्तीय समूहको ३२.६७ अंक र बैंकिङ समूहको १०.८९ अंकले सेयर कारोबारमा गिरावट आएको छ ।

    नेप्सेमा गिरावट आएपनि न्यादी जलविद्युत कम्पनी र सामलिङ जलविद्युत कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ ।

  • एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी दर्ता

    एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी दर्ता

    चितवन । नेकपा (एमाले)को अध्यक्षमा डा भीमबहादुर रावलको उम्मेदवारी दर्ता भएको छ । बिहान ८ बजेबाट सुरु भएको मनोनयमा रावलले आफ्नो उम्मदेवारी दर्ता गराएका हुन् ।

    रावलले आइतबार राति नै मनोनयन दर्ता गराउन खोजे पनि निर्वाचन समितिले आज बिहान ८ बजेसम्मलाई स्थगन गरेको थियो । रावलको प्रस्तावकमा महादेव बजगाईँ, समर्थकमा दूधकला विष्ट छन् ।