कांग्रेसको १४ औँ महाधिवेशनको सन्दर्भमा जसस जापानकाे काम र भूमिकाप्रति असन्तुष्टि व्यक्त

जापान । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको सन्दर्भमा जन सम्पर्क समिति जापानले गरेका काम र समितिकाे भूमिकाप्रति समितिका पदाधिकारीहरुसहित र क्षेत्रीय समितिहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

अधिवेशनको तयारी भैरहेको सन्दर्भमा जन-सम्पर्क समिति जापानबाट पठाउनु पर्ने क्रियाशिल सदस्यताको शिफारिस एवं महाधिवेशन प्रतिनिधिको छनौटमा पार्टीको निर्देशन र जन-सम्पर्क समिति जापानको विधान विपरित आम कार्यकर्तालाई कुनै जानकारी नदिइ षड्यन्त्रमुलक र लज्जाजनक तरीकाले क्रियाशील सदस्यताको सिफारिस गरिएको पदाधिकारीहरुले आराेप पनि लगाएका छन् । साथै उनीहरुले विज्ञप्तिमार्फत पैसाको मोलतोलमा महाधिवेशन प्रतिनिधिहरूको छनौट गरी पठाउने प्रपन्च भैरहेको पनि आराेप लगाएका छन् ।

विज्ञप्तिमा उनीहरुले भनेका छन्, ‘कांग्रेस पार्टीको क्रियाशिल सदस्य बनेका र पार्टीमा योगदान दिएका हरेक व्यक्तिलाई पार्टीका निकायहरूका निर्वाचनहरूमा सहभागी हुने, नेतृत्व चयन गर्ने वा नेतृत्व गर्न प्रतिस्पर्धा गर्न पाउने हाम्रो नैसर्गिक हकलाईसमेत षडयन्त्रमुलक ढंगले खोसिएको छ ।’

उनीहरुले नेपाली कांग्रेसको आदर्श, सिद्धान्त र मूल्य-मान्यताको जगेर्ना गर्न र आम काँग्रेसका कार्यकर्ता र शुभचिन्तकको भावनाको कदर गर्दै विभिन्न माग राखेर नेपाली कांग्रेसका सभापतिलाई पत्र समेत पठाएका छन् ।

उनीहरुले बिना छानविन शिफारिस गरिएका क्रियाशील सदस्यताका फारमको छानविन गर्न उच्च सतरिय छानविन समितिको गठन गर्न, नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशनका प्रतिनिधिहरूको निर्वाचन र जसस जापानको क्षेत्रीय तथा राष्ट्रिय अधिवेशनको तत्काल आयोजना गर्न एउटा अधिवेशन तयारी समिति को गठन गर्न र संगठनलाई यस्तो अस्तव्यस्त पार्ने र पार्टीको निर्देशन र संगठनको विधि-विधानलाई समेत पालना गर्न असमर्थ वर्तमान जसस जापान को कार्य समितिलाई तुरून्त भंग गर्न मागसमेत गरेका छन् ।

उनीहरुले अहिले भइरहेका सबै प्रकारका जसस जापानले गरेका विधिविधान विपरितका कार्यहरुको विरोध गर्न र वर्तमान अवस्थाको उचित समाधानको बाटोको विषयमा छलफल गर्न नाेभेम्बर २८ मा बृहत् कार्यकर्ता भेलाकाे आयाेजनासमेत गरेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१