Category: खेल

खेल

  • बेंगलुरुस्थित चिन्नास्वामी स्टेडियम असुरक्षित घोषित

    बेंगलुरुस्थित चिन्नास्वामी स्टेडियम असुरक्षित घोषित

    बेंगलुरुस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियमलाई ठूला खेलका लागि असुरक्षित घोषित गरिएको छ। हालै सार्वजनिक भएको कुन्हा आयोगको प्रतिवेदनमा स्टेडियमको संरचना र डिजाइन ठूलो दर्शक संख्याका लागि अनुपयुक्त र जोखिमपूर्ण रहेको उल्लेख छ।

    यो प्रतिवेदन आरसीबी (रोयल च्यालेन्जर्स बैंगलोर) पहिलोपटक आईपीएल च्याम्पियन बनेको खुशीयालीमा आयोजित समारोहमा भएको भगदडको अनुसन्धानपछि तयार गरिएको हो। सो घटनामा ११ जनाको ज्यान गएको थियो। आयोगको प्रतिवेदन हालै राज्य मन्त्रिपरिषदमा पेश गरिएको हो।

    पीटीआईले प्राप्त गरेको प्रतिवेदन अनुसार “स्टेडियमको डिजाइन र संरचना ठूला भीड व्यवस्थापनका लागि उपयुक्त छैन। आपतकालीन निकास र सुरक्षा पूर्वाधार पनि कमजोर रहेकोले भविष्यमै झन ठूलो जोखिम निम्त्याउन सक्छ।”

    गम्भीर चिन्ताको विषय के छ भने यही वर्षको अन्त्यमा हुने आईसीसी महिला विश्वकपको उद्घाटन र फाइनल खेल यही चिन्नास्वामी स्टेडियममा आयोजना हुने तय भएको छ। आयोगको सुझावलाई राज्य सरकारले स्वीकार गरिसकेकोले अब ती खेलहरू तय मितिमा हुने वा हुने नहुने भन्नेमा अन्योल उत्पन्न भएको छ।

    अब राज्य सरकार र क्रिकेट बोर्डले या त स्टेडियमको संरचना तत्काल सुधार्नुपर्ने वा विश्वकपको स्थान परिवर्तन गर्नुपर्ने चुनौती सामना गर्नु परेको छ। यो घटनाक्रमले आईसीसी र क्रिकेट प्रेमीहरूलाई पनि गम्भीर रूपमा सोच्न बाध्य बनाएको छ।

  • काठमाण्डु गोर्खाज नयाँ लोगो र रणनीतिसहित एनपीएल दोस्रो संस्करणमा

    काठमाण्डु गोर्खाज नयाँ लोगो र रणनीतिसहित एनपीएल दोस्रो संस्करणमा

    नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि काठमाण्डु गोर्खाज टोली नयाँ पहिरन र रणनीतिसहित मैदानमा आएको छ। टोलीले आफ्नो नाम परिवर्तन गरी नयाँ लोगो पनि सार्वजनिक गरेको छ। नयाँ लोगोमा काठमाडौं उपत्यकाको संस्कृति र सम्पदालाई समेटिएको छ, जसमा काठमाडौं, भक्तपुर, ललितपुर र नुवाकोटका तत्त्वहरू मिसाइएको छ।

    पहिले काठमाण्डु गुर्खाजको रूपमा खेल्ने टोलीले अब ‘काठमाण्डु गोर्खाज’ नामबाट प्रतिस्पर्धा गर्नेछ र सामाजिक संजालमा पनि नयाँ नाम सक्रिय गरिएको छ। गत सिजन पाँचौं स्थानमा पुगेपछि प्लेअफबाट बाहिरिएपनि, टोलीले सुधार गर्दै नयाँ रूप लिएर अगाडि बढ्ने योजना बनाएको छ।

    टोलीले मोन्टी देसाईलाई मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको छ भने वसन्त शाही, सुरज शाक्य र पुरन तिरुवा लगायतका सहायक टोली सदस्यहरूलाई निरन्तरता दिएको छ। मार्की खेलाडी करण केसीले प्रशिक्षक मोन्टीको नेतृत्वमा उपाधि जित्ने लक्ष्य रहेको बताए।

    नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट सुविधा पूरा गरेर रातिको खेल सञ्चालन गर्ने तयारीमा रहेको बताए।

    गोर्खाजले हस्पिटालिटी पार्टनरको रूपमा ललितपुरको ग्वार्कोस्थित पाँचतारे रोयल टुलिप काठमाडौं होटलसँग सम्झौता गरेको छ भने मुख्य प्रायोजकका रूपमा वर्ल्डलिंकसँग सम्झौता गरिएको छ।

    टोलीले पहिलो सिजनका प्रमुख खेलाडीहरू जस्तै करण केसी, भीम सार्की, शाहब आलम, रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई पनि रिटेन गरेको छ। उनीहरूको प्रशिक्षण थन्डर बोल्ट क्रिकेट एकेडेमीमा हुनेछ, जुन जेम्स स्कुल परिसरमा रहेको आधुनिक सुविधा सम्पन्न एकेडेमी हो।

  • भारतमा विशेष प्रशिक्षण लिने नेपाली टोली : क्रिकेटमार्फत सुदृढ हुँदै नेपाल-भारत कूटनीति

    भारतमा विशेष प्रशिक्षण लिने नेपाली टोली : क्रिकेटमार्फत सुदृढ हुँदै नेपाल-भारत कूटनीति

    नेपाल र भारतबीचको सम्बन्ध पछिल्ला वर्षहरूमा बहुपक्षीय रूपमा विस्तार भइरहेको छ । आर्थिक, सांस्कृतिक र राजनीतिक सम्बन्धसँगै खेलकुद क्षेत्र पनि दुई देशको कूटनीतिक सम्बन्ध प्रगाढ बनाउने माध्यम बन्न थालेको छ ।

    यही सन्दर्भमा, नेपालको राष्ट्रिय क्रिकेट टोली आगामी अगस्ट २० देखि सेप्टेम्बर ४ सम्म भारतको बैंगलोरस्थित बीसीसीआईको ‘सेन्टर अफ एक्सिलेन्स’ मा विशेष प्रशिक्षण लिने भएको छ । यो प्रशिक्षण ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकप छनोटको तयारीका लागि आयोजना गरिएको हो ।

    भारतको विदेश मन्त्रालय, बीसीसीआई र नेपाल क्रिकेट संघ (क्यान)को समन्वयमा सञ्चालन हुने यो कार्यक्रम भारतको ‘नेबरहुड फस्ट’ नीतिअन्तर्गत नेपालसँगको सम्बन्ध मजबुत बनाउने रणनीतिक पहलका रूपमा लिइएको छ ।

    पछिल्ला दुई वर्षयता भारतले नेपाली क्रिकेटलाई नियमित सहयोग गर्दै आएको छ । यसै वर्षको सुरूमा भारतका विदेशमन्त्री एस. जयशंकरले नेपाली टोली र क्यान प्रतिनिधिसँग भेट गरी सहयोगको प्रतिबद्धता जनाएका थिए ।

    महिला र यू–१९ टोलीहरूलाई समेत भारतले प्रशिक्षणको अवसर दिएको छ । थाइल्याण्डमा भएको एसिया वुमेन्स वर्ल्ड कप क्वालिफायर्सको तयारीका क्रममा नेपाली महिला टोलीले दिल्लीमा विशेष प्रशिक्षण लिएको थियो । साथै, भोपाललगायत भारतका विभिन्न सहरमा नेपाली युवा खेलाडीका लागि प्रशिक्षण क्याम्प सञ्चालन भएका छन् ।

    खेलकुदमार्फत प्रगाढ बन्दै गएको नेपाल–भारत सम्बन्धलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणले अझ सशक्त बनाउने अपेक्षा गरिएको छ ।

    प्रधानमन्त्री ओलीले हालै कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोनमार्फत समवेदना प्रकट गरेका थिए, जुन सकारात्मक कूटनीतिक सन्देशका रूपमा लिइएको छ । यसअघि पनि दुई प्रधानमन्त्रीबीच बैंककमा आयोजित बिमस्टेक सम्मेलनमा भेटवार्ता भएको थियो ।

    १७ सय किलोमिटरभन्दा लामो खुला सीमा, साझा सांस्कृतिक इतिहास र पारिवारिक सम्बन्धले बाँधिएका भारत र नेपालबीच पछिल्ला १० वर्षमा राष्ट्राध्यक्ष तथा सरकार प्रमुखस्तरका १७ भ्रमणहरू सम्पन्न भइसकेका छन् । यस्तो नियमित उच्चस्तरीय संवादले दुई देशबीचको आपसी समझदारीलाई अझ बलियो बनाउने विश्वास गरिएको छ ।

    भारत विश्व क्रिकेटको शक्ति केन्द्र हो । बीसीसीआईसँग उच्चस्तरीय संरचना, प्राविधिक क्षमता, प्रशिक्षक र अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार छन् । त्यस्तो शक्तिशाली छिमेकीबाट नेपालले अहिलेसम्म उल्लेखनीय लाभ लिन नसक्नु दुर्भाग्यपूर्ण हो । नेपाली क्रिकेट अझै पनि पूर्वाधार, व्यवस्थापन र प्रतिस्पर्धात्मक लिगको अभावमा छ । भारतसँगको सहकार्यले नेपाली क्रिकेटलाई आवश्यक गति र गुणस्तर दिन सक्छ ।

    नेपाल र भारतबीचको भाषिक, सांस्कृतिक र सामाजिक निकटताले नेपाली खेलाडीलाई भारतमा प्रशिक्षण लिँदा सहजता दिन्छ । भारतमा खेलेको अनुभवले उनीहरूको रणनीति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमता बढाउँछ । विशेष गरी यू–१९, महिला टोली र फ्रेन्चाइज लिगमा भारतसँगको नियमित सहकार्यले दीर्घकालीन सुधार ल्याउन सक्छ ।

    नेपालले भने अझै पनि भारतसँग क्रिकेटका बारेमा गम्भीर संवाद गर्न सकेको छैन । परराष्ट्र मन्त्रालयदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप) सम्मका निकायमा खेलकुद कूटनीति (स्पोर्ट्स डिप्लोमेसी) बुझ्ने दक्ष जनशक्ति नहुनु प्रमुख कमजोरी हो । खेल बुझ्ने मात्र पर्याप्त हुँदैन , खेलकुदलाई कूटनीतिक रूपमा प्रस्तुत गर्ने सीप आवश्यक पर्छ । तर नेपाल अझै पनि खेलकुदलाई द्विपक्षीय सम्बन्धको एजेन्डामा राख्न हिच्किचाइरहेको छ ।

    आजको विश्वमा खेलकुद केवल मनोरञ्जन नभई अर्थतन्त्रको महत्वपूर्ण अङ्ग बनेको छ । खेलकुदमा लगानी, ब्रान्डिङ, टेलिकास्ट र मार्केटिङमार्फत ठूलो आर्थिक गतिविधि हुन्छ । खेलकुदलाई लिएर देशहरूबीचको सम्बन्ध थप बलियो बनाउन सकिन्छ भन्ने बुझाइ भारतमा छ, तर नेपालमा त्यो चेतना अझै पर्याप्त रूपमा विकसित भएको छैन ।

    यसबीच भारतले नेपाली क्रिकेटमा सहयोग नगरेको भने होइन । तर ती प्रयासहरू मुख्यतः एकपक्षीय र अनौपचारिक प्रकृतिका छन् । ती प्रयासहरूलाई दीर्घकालीन साझेदारीमा परिणत गर्न नेपाल स्वयंले गम्भीर पहल गर्नुपर्छ । त्यसका लागि नेपालले स्पष्ट प्राथमिकता तय गरेर भारतसँग औपचारिक प्रस्ताव र रणनीति तयार गर्न आवश्यक छ ।

    भारतको सहकार्यका प्रमुख कदमहरू:

    २०१३
    – भारत सरकारले नेपाल क्रिकेट संघ (क्यान) लाई यातायातका लागि बस प्रदान गर्‍यो।

    २०२३
    – अक्टोबरमा काठमाडौंस्थित भारतीय दूतावासले बीपी कोइराला भारत नेपाल फाउन्डेसन र एसजेभीएन लिमिटेडमार्फत व्यावसायिक खेल सामग्री प्रदान गर्‍यो – खेलाडीका लागि किट, बल, प्याड र प्रशिक्षण उपकरण।

    २०२४
    – जनवरी: भारतका विदेशमन्त्री डा. एस. जयशंकरले काठमाडौंमा नेपाली राष्ट्रिय टोलीसँग भेट गर्दै सहयोगको प्रतिबद्धता जनाए।
    – अप्रिल: बरोडा र गुजरात क्रिकेट संघसँग त्रिकोणात्मक अभ्यास शृङ्खला।
    – अगस्ट: बेंगलुरुस्थित बीसीसीआई सेन्टर अफ एक्सिलेन्समा प्रशिक्षण शिविर।

    २०२५
    – मार्च: भारतले यू–१९ टोलीबीच अभ्यास शृङ्खला आयोजना गर्‍यो, जसले नेपाली टोलीलाई आईसीसी यू–१९ विश्वकप छनोटको तयारी गरायो।
    – अप्रिल–मे: नेपाल महिला टोली दिल्लीमा प्रशिक्षण शिविरमा सहभागी भई थाइल्याण्डमा भएको आईसीसी महिला विश्वकप एसिया छनोटको फाइनलसम्म पुग्यो।
    – जुलाई–अगस्ट: नेपाल पुरुष टोलीको लागि बेंगलुरुमा दुई हप्ते विशेष शिविर सञ्चालन, जसले अक्टोबरमा ओमानमा हुने टी–२० विश्वकप छनोटको तयारीलाई लक्ष्य राखेको छ।
    – जुलाई: भारतीय दूतावासमार्फत ३ जना यू–१९ क्रिकेटरलाई भोपालमा एक महिनाको व्यावसायिक प्रशिक्षणमा सहभागी गराइयो।

    यी सबै गतिविधि र सम्भावनालाई दृष्टिगत गर्दा नेपालले अब भारतसँगको सम्बन्धलाई खेलकुद कूटनीतिको नयाँ युगमा प्रवेश गराउने समय आएको छ । क्रिकेटको माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउँदै नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन सकिन्छ ।

  • साफ यू-२० महिला च्याम्पियनशिपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्कियो

    साफ यू-२० महिला च्याम्पियनशिपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्कियो

    काठमाडौँ । २० वर्षमुनिको साफ महिला च्याम्पियनसिप खेलेर नेपाली टोली आज स्वदेश फर्किएको छ ।

    टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य तथा महिला कमिटी संयोजक सरिला श्रेष्ठ मलेकु र प्रवक्ता सुरेश शाहले स्वागत गरे ।

    बंगलादेशमा भएको २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाली टोली उपविजेता बनेको थियो । हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपाललाई ४-० गोलले हराउँदै घरेलु टोली बंगलादेश पाँचौँ पटक विजेता बनेको थियो । नेपाल तेस्रो पटक उपविजेतामा सीमित बन्यो ।

    डबल राउन्ड रोबिनमा आधारित चार वटा देश सहभागी प्रतियोगितामा नेपालले श्रीलंक र भूटानलाई २/२ पटक हराएको थियो । बंगलादेशसँगको पहिलो खेलमा पनि नेपाल ३-२ गोलले पराजित भएको थियो ।

  • नेपाललाई फेरि अन्तर्राष्ट्रिय अवार्ड! ‘डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड ’ दोस्रोपटक नेपालकै पोल्टामा

    नेपाललाई फेरि अन्तर्राष्ट्रिय अवार्ड! ‘डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड ’ दोस्रोपटक नेपालकै पोल्टामा

    काठमाडौं ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाललाई लगातार दोस्रो वर्ष ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड प्रदान गरेको छ।

    आईसीसीले घोषणा गरेको यो प्रतिष्ठित अवार्डले नेपाल क्रिकेट संघ (क्यान) को डिजिटल माध्यमबाट फ्यानहरूसँगको सक्रिय सम्पर्क, संलग्नता र नविन प्रयासहरूलाई विश्वस्तरमै सम्मानित गरेको हो।

    गत वर्ष जस्तै यसपालि पनि नेपालले उत्कृष्ट डिजिटल गतिविधिहरू, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग र खेलप्रति जनचासो बढाउन अपनाएको रणनीतिका कारण यो अवार्ड जित्न सफल भएको हो।

    यो सफलताले नेपाली क्रिकेटप्रतिको बढ्दो जनमाया मात्र होइन, डिजिटल युगमा नेपालले खेल क्षेत्रमै अन्तर्राष्ट्रिय पहिचान बनाउन थालेको प्रष्ट संकेत दिएको छ।

  • स्याङ्जामा सन्दीप लामिछानेको सम्मानमा रंगशाला निर्माण सुरु

    स्याङ्जामा सन्दीप लामिछानेको सम्मानमा रंगशाला निर्माण सुरु

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको सम्मानमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ आरुचौरस्थित थाप्लेमा क्रिकेट रंगशाला निर्माण थालिएको छ। लामिछानेको जन्मस्थलमै निर्माण हुन लागेको यो रंगशालाको निर्माण कार्य गाउँपालिका कार्यालयको पहल र स्थानीयवासीको जनश्रमदानमा अघि बढाइएको हो।

    गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीका अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ देखि सार्वजनिक गौचरनलाई सम्याएर क्रिकेट मैदान बनाउने काम प्रारम्भ गरिएको हो। हाल वर्षाका कारण निर्माण कार्य रोकिएको भए पनि मौसम अनुकूल भएपछि तीव्र गतिमा काम अघि बढाइने बताइएको छ।

    समुन्द्र सतहदेखि १९०७ मिटरको उचाइमा रहेको यो क्षेत्रलाई ‘नाइन्टिन ओ सेभेन अरिना’ नाम दिइएको छ। मैदानको केन्द्रविन्दुबाट चारैतर्फ ४५ मिटर परिधिमा फैलिएको यो रंगशाला राष्ट्रियस्तरको क्रिकेट मापदण्डअनुसार निर्माण भइरहेको छ।

    पीच निर्माण तथा अन्य प्रविधिक पक्षहरूमा क्रिकेटसँग सम्बन्धित स्थानीय, प्रदेश र केन्द्रीय विज्ञहरूसँग परामर्श लिइँदैछ। अध्यक्ष तिवारीका अनुसार, सन्दीप लामिछानेजस्तो अन्तर्राष्ट्रिय स्तरमा देशको नाम चम्काउने खेलाडीको जन्मस्थलमा मैदान बनाउनु सधैं प्रेरणादायी हुनेछ। यसले नयाँ प्रतिभा पहिचान गर्न र उनीहरूलाई अभिव्यक्तिको प्लेटफर्म दिन सहयोग गर्ने विश्वास गरिएको छ।

    रंगशाला नजिकै अवस्थित दक्षिण एसियाकै पहिलो सामुदायिक होमस्टे सिरुबारीसँग क्रिकेट पर्यटनको सम्भावना पनि देखिएको बताइएको छ। मैदान निर्माणपछि राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको छ भने अभ्यासका लागि छुट्टै संरचना निर्माण गर्ने योजना पनि रहेको गाउँपालिकाले जनाएको छ।

  • नेपालका तीन क्रिकेटरले भारतमा एक महिना प्रशिक्षण गर्ने

    नेपालका तीन क्रिकेटरले भारतमा एक महिना प्रशिक्षण गर्ने

    नेपालका तीन क्रिकेटरले भारतमा एक महिनाको व्यावसायिक प्रशिक्षण गर्ने भएका छन्।

    नेपालको यू-१९ टोलीका खेलाडीहरू नरेन भट्ट, साहिल पटेल र पूजा महतोले एक महिना प्रशिक्षण गर्ने भएका हुन्।

    उनीहरूले १५ जुलाई देखि १४ अगस्ट २०२५ सम्म भारतको भोपालस्थित एलबी शास्त्री क्रिकेट शालामा एक महिना लामो व्यावसायिक प्रशिक्षण कार्यक्रममा भाग लिने कार्यक्रम छ।

    भारतीय दूतावास काठमाडौँको पहलमा युवा नेपाली क्रिकेटरले प्रशिक्षणमा गर्न जान लागेका हुन्।

    दूतावासले व्यावसायिक एक्सपोजरले खेलाडीहरूको सीपमा उल्लेखनीय वृद्धि गर्ने र नेपालको क्रिकेट आकांक्षामा योगदान पुर्‍याउने अपेक्षा गरेको छ।

    नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र आज नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दको उपस्थितिमा खेलाडीहरूसँग भेटघाट र अन्तरक्रिया गरिएको थियो।

    राजदूत श्रीवास्तव र अध्यक्ष चन्दले उनीहरूको प्रशिक्षण कार्यक्रमको लागि शुभकामना व्यक्त गरे।

  • प्रधानमन्त्रीको भिडियो कलले खेलाडी तनावमा परेको प्रश्नमा ओलीको जवाफ– “दिमाग खुस्केको मान्छेले गर्छ यस्तो कुरा”

    प्रधानमन्त्रीको भिडियो कलले खेलाडी तनावमा परेको प्रश्नमा ओलीको जवाफ– “दिमाग खुस्केको मान्छेले गर्छ यस्तो कुरा”

    नेपालउजबेकिस्तानबीचको निर्णायक खेलमा नेपाली महिला फुटबल टिमले हार बेहोर्नुपरेको खेलसँगभन्दा बढी अहिले त्यसअघिको राजनीतिक हस्तक्षेपको विषयमा बहस चर्किएको छ। खेल अगाडि नै राजनितीक कारणले खेलाडीहरु मानसिक तनावमा परेको कुराले अहिले निकै चर्चा पाएको छ । खेल शुरु हुनुअघि बिहान ११ बजे प्रधानमन्त्रीसँग गरिएको भर्चुअल मिटिङ खेलाडीहरूका लागि ‘राजनीतिक दबाब’मा परिणत भएको भनेर नेपालका प्रशिक्षक प्याट्रिक डे वाइल्डले एक अन्तरवार्तामा भनेका थिए ।

    यो विषयमा एन्फा कम्प्लेक्स, सातदोबाटोमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीले जब प्रधानमन्त्रीलाई सोधे प्रधानमन्त्रीज्यू, तपाईंले खेल भएको दिनै खेलाडीहरूसँग भिडियोकलमार्फत् सम्पर्क गर्नुभयो, जसले गर्दा उनीहरूमा मानसिक तनाब थपियो रे नि त?”

    जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले भने “यस्तो कुरा दिमाग खुस्केको मान्छेले गर्ने कुरा हो।”

    प्रशिक्षक प्याट्रिक डे वाइल्डका अनुसार त्यस दिनको खेलको नतिजा खेलाडीहरूको मानसिक अवस्था र राजनीतिक हस्तक्षेपसँग गाँसिएको दाबी गरेका थिए ।

    वाइल्डका अनुसार, “हामीले खेल ३१ को स्थितिबाट बराबरीमा ल्याएका थियौं, तर पेनाल्टी सुटआउटमा ३ देखि ५ जना खेलाडीले पेनाल्टि प्रहार गर्नै मानेनन्। उनीहरू प्रधानमन्त्रीसँगको भिडियोकलका कारण तनावमा थिए। उनीहरू खेलको दबाबमा होइन, राजनीतिक दबाबमा थिए।”

    वाइल्डले थपे, “यति संवेदनशील घडीमा प्रधानमन्त्रीसँगको मिटिङ आवश्यक थियो? मैले उजबेकिस्तानको टोलीलाई सोधेँ तिमीहरूलाई राष्ट्रपतिको फोन आयो?’ उनीहरूको जवाफ थियो हाम्रो टिममा राष्ट्र प्रमुखले कुनै दबाब दिएका छैनन्।’”

    प्रशिक्षकले रियल मड्रिड क्लबको उदाहरण दिँदै भने, “जब रियल मड्रिड च्याम्पियन्स लिग खेल्छ, के अध्यक्ष फ्लोरेन्टिनो पेरेज मिडियामा आउँछन्? त्यता पनि त्यस्तो हुँदैन ।

     

     

  • टी–२० विश्वकप छनोटमा नेपाल कुवेत र जापानसँग एउटै समूहमा

    टी–२० विश्वकप छनोटमा नेपाल कुवेत र जापानसँग एउटै समूहमा

    काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्र छनोटमा नेपाल समूह-२ मा परेको छ। ओमनमा आगामी अक्टोबरमा हुने उक्त छनोटमा नेपाल समूह-२ मा परेको हो ।

    उक्त समूहमा नेपालसहित कुवेत र जापान छन् । छनोटमा सहभागी ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ । समूह-१ मा युएई, मलेसिया र कतार छन् । यस्तै समूह-३ मा आयोजक ओमान, पपुवान्यूगिनी र सामोआ छन्।

    तीनवटै समूहबाट शीर्ष दुईमा रहने टोली सुपर-६ मा पुग्नेछ । सुपर-६ बाट शीर्ष ३ मा पर्ने टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकपमा छनोट खेल्नेछन् । छनोट अक्टोबर ८ देखि १७ सम्म ओमनमा हुनेछ ।

    छनोटअन्तर्गत नेपालले पहिलो खेल अक्टोबर ८ मा कुवेतसँग खेल्नेछ । दोस्रो खेल अक्टोबर १० मा जापानसँग हुनेछ ।
  • कप्तानको नाम बाहिरिने डरले अन्तिमसम्म गोप्य राखेका थिए प्रशिक्षकले साम्बाको नाम

    कप्तानको नाम बाहिरिने डरले अन्तिमसम्म गोप्य राखेका थिए प्रशिक्षकले साम्बाको नाम

    नेपाली महिला फुटबल टोलीको कप्तानी सम्बन्धी विवाद नेपालमै हुँदा सुरु भएको खुलेको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा) की कार्यकारी समिति सदस्य सरिला श्रेष्ठले उक्त विवादको बारेमा खुलासा गरिन्।

    श्रेष्ठका अनुसार, नेपाली टोली उज्बेकिस्तान प्रस्थान गर्नु अघि नै कप्तान चयन गर्ने प्रस्ताव गरिएको थियो तर प्रशिक्षक प्याट्रिक डे वाइल्डले त्यसलाई अस्वीकार गरेका थिए। ‘हामीले नेपालमै कप्तान तोकेर जानुपर्छ भनेका थियौं, तर प्रशिक्षकले “उज्बेकिस्तान पुगेर निर्णय गरौंला” भनेर टारे,’ श्रेष्ठले बताइन्।

    उज्बेकिस्तान पुगेपछि पनि प्रशिक्षक वाइल्डले निर्णयमा ढिलाइ गरे। श्रेष्ठका अनुसार, खेल सुरु हुनु ९० मिनेटअघि टिमको अन्तिम सूची दिनुपर्ने थियो तर प्रशिक्षकले त्यसबेलासम्म पनि कप्तान को हो भन्ने स्पष्ट गरेनन्। ‘उहाँले भन्नुभयो – “तिमीहरूले बाहिर नाम दिँन्छौ, त्यसैले म अहिले भन्न सक्दिन।”’

    त्यसपछि प्रशिक्षकले तोकिएको समयभन्दा पाँच मिनेट अगाडि मात्र टिमको सूची बुझाएका थिए, त्यो पनि भिडियोमार्फत टिम हेर्न भनेका थिए। भिडियोमा पनि कप्तानको नाम उल्लेख नभएको श्रेष्ठको भनाइ छ। जब मैदान जानु पर्ने बेला आयो, उनीहरूले अनुभवी खेलाडी रेनुका नगरकोटीलाई कप्तान बनाएर एएफसीलाई सूची पठाए।

    तर खेल सुरु हुनु अघि रेनुकालाई कप्तानको आर्मब्यान्ड लगाउन खोज्दा प्रशिक्षकले हस्तक्षेप गर्दै सावित्रा भण्डारी (साम्बा) कप्तान भएको जानकारी दिए। श्रेष्ठले थपिन्, ‘हामीलाई सावित्रा कप्तान बनाउनेमा कुनै आपत्ति थिएन, तर नेपालमै रहँदा जानकारी दिइएको भए समस्या हुने थिएन।’

    त्यसपछि कप्तान सम्बन्धी सूची फरक परेपछि कारवाहीको डरले उनीहरूले प्रशिक्षकसँग प्रश्न गर्दा वाइल्ड रिसाउन थालेको श्रेष्ठले जनाइन्। म्याच कमिस्नरले समेत यस विषयमा प्रश्न गर्दा पनि प्रशिक्षकले कसैको कुरा नसुनेको उनले बताइन्।

    श्रेष्ठका अनुसार, प्रशिक्षक वाइल्डको यस्तो लापरबाही र अस्पष्ट व्यवहारले कप्तानी विवाद उत्पन्न भएको हो, जुन सामान्य संवादमै समाधान हुन सक्थ्यो।