Category: समाज

समाज

  • जाजरकोटमा जीप दुर्घटना, ८ जनाको मृत्यु

    जाजरकोटमा जीप दुर्घटना, ८ जनाको मृत्यु

    जाजरकाेट । जाजरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । यस्तै दुई जना गम्भीर भएको प्रहरीले जनाएको छ ।

    सोमबार दिउँसो साढे ४ बजे छेडागाड नगरपालिका–४ स्थित खातिजेवाबाट सोही नगरपालिकाको वडा नम्बर ५ मा रहेको नगर अस्पतालमा उपचारको लागि बिरामी लिएर गइरहेकाे जीप दुर्घटना भएको हो ।

    चालक मानबहादुर रावतले चलाएको कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जीप भिरबाटी भन्ने स्थानमा आफैँ अनियन्त्रित भएर २०० मिटर तल खसेको थियो ।

    अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय दशेराबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जना र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको टोली उद्दारमा खटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

    मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

  • पाइप फुटेपछि पुरानै सञ्जालबाट पठाइयो मेलम्चीकाे पानी

    पाइप फुटेपछि पुरानै सञ्जालबाट पठाइयो मेलम्चीकाे पानी

    काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको लैनचौरस्थित नयाँ वितरण सञ्जालमा समस्या आएपछि पुरानै सञ्जालबाट पानी पठाइएको छ ।

    नयाँ सञ्जालमा समस्या आएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को पुरानो सञ्जालबाटै राजधानीको मुख्य सहरमा पानी पठाएको निर्देशनालयका प्रवक्ता एवं सूचना अधिकारी चन्द्रकुमार पाँ श्रेष्ठले जानकारी दिए ।

    नयाँ वितरण सञ्जालबाट पानी पठाउँदा लैनचौरस्थित नेपाल स्काउटअघि पाइप फुटेर जलमग्न भएको थियो । जसका कारण पैदलमार्ग हिँड्न पनि समस्या भएको यात्रुको गुनासो छ ।

    पाइप फुटेको ठाउँमा के भएको हो भन्ने हेर्न निर्माण व्यवसायीलाई निर्देशन दिएको प्रवक्ता श्रेष्ठले बताए । केही दिनमा फुटेको पाइप बनाएर नयाँ सञ्जालबाट पानी पठाइने जनाइएको छ ।

  • अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा दृष्टिविहीनहरुलाई वीपी काेइराला फाउन्डेशनकाे सहयाेग

    अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा दृष्टिविहीनहरुलाई वीपी काेइराला फाउन्डेशनकाे सहयाेग

    काठमाडाैं । अपाङ्गता संरक्षण नेपालले आइतबार अन्तर्राष्ट्रिय अपाङ्गता दिवस कार्यक्रम आयोजना गरेको छ ।

    उक्त कार्यक्रममा बी.पी कोइराला फाउन्डेसनका सचिव तथा भारतीय राजदूतावासका प्रथम सचिव डा.साहिल कुमार सहभागी भएका थिए ।

    कार्यक्रममा बी.पी कोइराला फाउन्डेसनका सचिवले दृष्टिविहीनहरुको सहयोगार्थ नेपालभर थप वितरणका लागि अपाङ्गता संरक्षण नेपालका अध्यक्षलाई ९५० थान सेतो छडी हस्तान्तरण गरेका थिए ।

    बी.पी कोइराला फाउन्डेसनको प्राथमिकताभित्र पर्ने एक क्षेत्र स्वास्थ्य पनि हो । फाउन्डेसनले कोभिड–१९ को महामारीका बेला सुदूरपश्चिम प्रदेशमा सुरक्षा सामग्रीसमेत उपलब्ध गराएको थियो ।

    भारत र नेपाल सरकारको संयुक्त पहलमा सन् १९९१ मा बी.पी कोइराला फाउन्डेसनको स्थापना भएको हो ।

    दुई राष्ट्रका संस्कृति र जनजीवनसँग सम्बन्धित बहुआयमिक पक्ष तथा कला, साहित्य, बौद्घिक सम्वादलाई प्रगाढ बनाउँदै भारत र नेपालबीचको सम्बन्धलाई थप मजबुत बनाउने यस फाउन्डेसनको उद्देश्य रहेको छ ।

  • कीर्तिपुरमा स्कुल बसको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु

    कीर्तिपुरमा स्कुल बसको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु

    काठमाडौं । कीर्तिपुरमा स्कूल बसको ठक्करबाट एकजना सशस्त्र प्रहरीको मृत्यु भएको छ ।

    कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित सशस्त्र प्रहरी गण अगाडिको मूल सडकमा बसले ठक्कर दिँदा २९ वर्षीय सुवासचन्द्र रतेलाको ज्यान गएको हो ।

    बल्खुबाट चोभारतर्फ गइरहेको इण्डियन मोडर्न स्कूलको ना१क १६१२ नम्बरको बसले रतेलालाई ठक्कर दिएको थियो । उनको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बझाङको जयपृथ्वीबहादुर नगरपालिका कोटेली-५ निवासी रतेला सशस्त्र प्रहरी केन्द्रीय कार्यालय हलचोकमा कार्यरत थिए ।

  • देशभर बढ्याे चिसाे, उपत्यकाकाे तापक्रम ६.५ डिग्री मापन

    देशभर बढ्याे चिसाे, उपत्यकाकाे तापक्रम ६.५ डिग्री मापन

    काठमाडौं । उपत्यकासहित देशभर चिसाे बढ्दै गएको छ । शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ६.५ डिग्री मापन गरिएको छ । यस्तै, अधिकतम तापक्रम १९ डिग्रीको अनुमान गरिएको छ ।

    मौसमविदका अनुसार अब देशभर चिसो बढ्दै जानेछ । हाल पश्चिम तराई, मध्य तराई र पूर्वी तराईका केही क्षेत्रमा हुस्सु लागेको छ । मध्यान्हपछि क्रमिक रूपमा सुधार जाने महाशाखाले जनाएको छ ।

    हाल सबैभन्दा कम तापक्रम जोमसोममा माइनस ४.५, जुम्लामा माइनस ३, र जिरिमा १.५ रहेको छ ।

    आज प्रदेश एक, गण्डकी र कर्णालीका केही पहाडी क्षेत्रमा मौसम आंशिक बदली हुने अनुमान छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश एक, गण्डकी र कर्णालीका पहाडी केही क्षेत्रबाहेक अरु ठाउँको मौसम समान्यतया सफा नै छ ।

    महाशाखाले चिसोबाट जोगिन आवश्यक तयारी र सावधानी अपनाउन पनि अनुरोध गरेको छ ।

    मौसम दुई तरिकाले चिसो हुन्छ । एउटा अधिकतम तापक्रम घटेर र अर्को न्यूनतम तापक्रम घटेर । डम्म बादल लाग्यो भने बादलले ब्ल्यांकेटको काम गर्छ र अधिकतम तापक्रम घट्छ ।

    बादल लागेन भने न्यूनतम तापक्रम घट्छ र चिसो हुन्छ । माैसमविदका अनुसार अहिले चिसो भएको न्यूनतम तापक्रम घटेर हो ।

  • आजदेखि फेरि काठमाडौंमा मेलम्चीको पानी वितरण गरिने

    आजदेखि फेरि काठमाडौंमा मेलम्चीको पानी वितरण गरिने

    काठमाडाैं । मेलम्ची खानेपानी आयोजनाले शुक्रबारदेखि काठमाडौं उपत्यकामा पुनः खानेपानी वितरण सुरु गर्दैछ।

    सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ्मार्गबाट एक हप्ताअघि हालेको पानी आजदेखि राजधानीमा वितरण गर्न लागिएको हो।

    गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङको अन्तिम विन्दुमा यही मङ्सिर १८ गते आइपुगेको पानी सुरुमा सुरुङ सफा गर्न वाग्मतीमा बगाइएको थियो।

    गत जेठ अन्तिम साता बन्द गरिएको सुरुङमा जम्मा भएको फोहर सफा गर्न सुरुको पानी वाग्मतीमा बगाइएको मेलम्ची खानेपानी आयोजनाका इञ्जिनीयर रामचन्द्र पौडेलले जानकारी दिए। यही मङ्सिर १९ गतेदेखि नै सुरुङमा पानी भर्न थालिएको थियो।

    केही दिन सुरुङमा भरिएको पानी बिहीबारदेखि महाँकालचौर शाखामा पठाइएको थियो। वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि गत हप्ता मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरुङमा पानी पठाएको थियो।

    असारदेखि सुरुङ बन्द रहेकाले सुरुमा थोरै पानी परीक्षणका रुपमा पठाइएको छ। यो पानी काठमाडौँस्थित सुरुङको अन्तिम विन्दु सुन्दरीजलमा एक हप्तामा आइपुगेको हो।

    आजदेखि भने दैनिक १७ करोड ५० लाख लिटर पानी नै सुरुङमा हालिने आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए।

    यही मङ्सिर ११ गते आइतबार साँझदेखि हालेको पानीले सुरुमा सुरुङ सफा गरेको थियो । पानी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले वितरण सञ्जाल निर्माण गरिरहेको छ । यो सञ्जालमार्फत आजदेखि राजधानीवासीले फेरि मेलम्चीको पानी पाउने भएका छन्।

    वर्षामा बाढी आएर सुरुङमार्गमा क्षति गर्ने भएपछि गत असारदेखि मेलम्चीको पानी बन्द गरिएको थियो।

    विसं २०७७ चैतमा मेलम्चीको पानी अस्थायी रुपमा राजधानी आइपुगेको थियो । विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीले मेलम्चीका संरचना एवं प्रवेशमार्गमा क्षति पुगेपछि २०७८ चैतमा दोस्रोपटक मेलम्चीको पानी राजधानी आइपुगेको थियो।

    मेलम्चीको मुहानस्थलमा हेडवक्र्स निर्माणको काम नसकिएकाले हाल हिउँदका समयमा मात्र मेलम्चीको पानी राजधानी आउने गरेको छ । अर्बौँ रकम खर्च गरेर अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाबाट अस्थायी रुपमा मात्र पानी आउन थालेपछि राजधानीवासी काकाकुल हुनुपर्ने अवस्था रहेको उपभोक्ता अधिकारकर्मी रोशन पोखरेलले बताए।

    आज बिहान खानेपानीमन्त्री उमाकान्त चौधरीले महाँकालचौरस्थित पानी ट्याङ्कीबाट पानी वितरणको उद्घाटन गर्ने कार्यक्रम रहेको मन्त्रीका प्रेस सल्लाहकार लीलाराज खनालले जानकारी दिए।

    राजधानीमा खानेपानीको अभाव भएपछि नेपाली कांग्रेसका नेता एवं काठमाडौँ १ बाट नवनिर्वाचित सांसद प्रकाशमान सिंह नेतृत्वको टोलीले पनि गत हप्ता मेलम्चीको मुहान पुगेर स्थलगत अध्ययन गरेको थियो।

    नेता सिंहसहितका नवनिर्वाचित सांसद एवं जनप्रतिनिधिको समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी स्थायीरुपमा वर्षभर नै मेलम्चीको पानी राजधानी आउने वातावरण बनाउन माग गरेको थियो। रासस

  • नवलपुरमा बस र ट्रक ठाेक्कियाे, १७ जना घाइते

    नवलपुरमा बस र ट्रक ठाेक्कियाे, १७ जना घाइते

    नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

    पूर्व पश्चिम राजमार्गअन्तर्गत विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र ट्रक ठक्कर खाएको थियो ।

    बागलुङबाट भैरहवाका लागि छुटेको लु १ ख ४६७० नम्बरको बस र पश्चिमबाट छुटेको लु २ ख ८९३ नम्बरको ट्रक ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताए ।

    घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ ।

    बसमा ३० जना सवार रहेकोमा अन्य यात्रु भने सामान्य घाइते छन् ।

    बस र ट्रक ठोक्किएपछि अहिले उक्त स्थानमा एकतर्फरुपमा मात्रै यातायात सञ्चालन भएको छ । दुर्घटनामा परेका सवारी हटाएपछि मात्र दुईतर्फीरुपमा सवारी सञ्चालनमा आउने उनले बताए ।

  • प्रदुषण जाँच पास नभएको सवारी साधनलाई पुस १ गतेदेखि १ लाख रुपैयाँ जरिवाना

    प्रदुषण जाँच पास नभएको सवारी साधनलाई पुस १ गतेदेखि १ लाख रुपैयाँ जरिवाना

    काठमाडौं । प्रदुषण जाँच पास नभएको सवारी साधनहरुलाई पुस १ गतेदेखि १ लाख रुपैयाँ जरिवाना हुने भएको छ ।

    वन मन्त्रालय अन्तर्गतको वातावरण विभागले पुस १ गते पछि विभागको परीक्षणमा प्रदुषण जाँच पास नभएको सवारी साधनहरुलाई वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना हुने बताएकाे हाे ।

    साथै, सवारीको मर्मत गरी तोकिएको मापदण्डको सिमासम्म मात्र प्रदुषण गर्ने बनाई जाँच पास गराएर मात्र सार्वजनिक स्थानमा सञ्चालनमा ल्याउन सबै यातायात व्यवसायीलाई अनुरोध गरेको छ ।

    विभागबाट पछिल्लो समयमा गरिएको छड्के जाँचमा काठमाडौं उपत्यकामा सञ्चालन भईरहेका सवारी साधनहरुको धुँवा निस्कासनको अवस्था अत्यन्त दयनीय पाइएकोले आगामी दिनमा विभागले सवारी साधनको धुँवा निस्कासनको अवस्थाको परिक्षणलाई सघनताका साथ प्रभावकारी रुपमा गर्न लागेको एक विज्ञप्तिमार्फत जनाएको छ ।

    विज्ञप्तिमा भनिएको छ,‘जुनसुकै समयमा वातावरण विभागबाट छड्के जाँच हुन सक्ने र प्रदुषण जाँचपासको रुपमा यस अघि जारी भएको हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदुषण जाँचपास अनुत्तिर्ण हुने सवारीलाई समेत उल्लिखित व्यवस्था बमोजिम जरिवाना लगायतका कारवाही हुने व्यहोरा अनुरोध छ ।’

    साथै, आफ्नो टोल छर छिमेकमा खुला रुपमा कोही कसैले फोहोर जलाउने कार्य गरिरहेको छ भने त्यसको जानकारी वातावरण विभागमा गराउन समेत अनुरोध गरेको छ ।

  • शुक्रबारदेखि काठमाडौंबासीका घरको धारामा मेलम्चीको पानी आउने

    शुक्रबारदेखि काठमाडौंबासीका घरको धारामा मेलम्चीको पानी आउने

    काठमाडाैं । शुक्रबारदेखि काठमाडौंबासीका घरको धारामा मेलम्चीको पानी आउने भएको छ ।

    मेलम्चीको पानी प्रशोधन गरेर शुक्रबारदेखि वितरण प्रणालीमा छोड्न लागिएको मेलम्ची खानेपानी विकास समितिले जनाएकाे छ ।

    मेलम्ची नदीबाट सुरुङमा पानी छाडेको झन्डै एक सातापछि आइतबार सुन्दरीजलमा पानी आइपुगेको थियो ।

    सुरुङ पूर्ण रुपमा नभरिएका कारण ३ दिन सुन्दरीजलको गेट थुनेर सुरुङमा पूर्णरुपमा पानी भर्ने काम भइरहेको छ ।

    आउँदो मनसुन सुरु हुनुभन्दा अगाडिसम्म हिँउदभर दैनिक प्रतिसेकेण्ड २ हजार लिटर पानी अर्थात् दैनिक १७ करोड लिटर पानी काठमाडौं आइरहनेछ ।

    अघिल्लो वर्ष असारमा आएको भीषण बाढी पहिरोले आयोजना स्थलमा क्षति पुर्‍याएपछि गत वैशाखमा अस्थायी बाँध बनाएर १ महिनासम्म काठमाडौंमा पानी वितरण गरिएको थियो ।

  • २० वर्ष पुगेर विवाह गर्ने किशोरीलाई १० हजार रुपैयाँ

    २० वर्ष पुगेर विवाह गर्ने किशोरीलाई १० हजार रुपैयाँ

    कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु १० हजार प्रदान गर्ने भएको छ । वडाले बालविवाह न्यूनीकरण गर्न यस्तो निर्णय गरेको जनाइएको छ ।

    बालविवाहविरुद्धको साझा अभियान कालीकोटका संयोजक खडानन्द अधिकारीको वडालाई बालविवाह न्यूनीकरणका लागि वडाले गरेको निर्णयले केही हदसम्म कम गर्ने बताए । ‘बालविवाह गर्ने चलन निकै रहेको ठाउँमा वडाले पुरुस्कार दिँदा न्यूनीकरण हुन्छ भन्ने उद्देश्य राखेको छ’, उनले भने, ‘उमेर नपुगी विवाह गर्ने चलन अन्त्य गर्नका लागि यो अभियानलाई जिल्लाभर लैजान जरुरी रहेको छ ।’

    दलित समुदायका उमेर पुगेर विवाह गर्ने महिलालाई रु १० हजार नगद दिने निर्णय वडाले गरेको वडाध्यक्ष धर्मराज ताम्राकारले जानकारी दिए । ‘हामीले उमेर पुगेर विवाह गर्ने किशोरीलाई पुरस्कार दिने निर्णय गरेका छौँ’, उनले भने, ‘यसले बालविवाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएका छौँ ।’

    विशेषगरी विद्यालयस्तरमा र बालविवाहबारे चेतना जगाउने खालका कार्यक्रमलाई विशेषरूपमा नगरपालिकाले अगाडि बढाएको नगरपालिका उपप्रमुख गणेशबहादुर शाहीले बताए । ‘अहिले उमेर पुगेपछि विवाह गर्ने किशोरीलाई एउटा वडामा मात्रै पुरस्कार दिने निर्णय गरेका छौँ ।’ उनले भने ‘आगामी दिनमा नगरपालिका सबै वडामा यो कार्यक्रम लागू गर्ने योजना रहेको छ ।’