काठमाडाैं । अपाङ्गता संरक्षण नेपालले आइतबार अन्तर्राष्ट्रिय अपाङ्गता दिवस कार्यक्रम आयोजना गरेको छ ।
उक्त कार्यक्रममा बी.पी कोइराला फाउन्डेसनका सचिव तथा भारतीय राजदूतावासका प्रथम सचिव डा.साहिल कुमार सहभागी भएका थिए ।
कार्यक्रममा बी.पी कोइराला फाउन्डेसनका सचिवले दृष्टिविहीनहरुको सहयोगार्थ नेपालभर थप वितरणका लागि अपाङ्गता संरक्षण नेपालका अध्यक्षलाई ९५० थान सेतो छडी हस्तान्तरण गरेका थिए ।
बी.पी कोइराला फाउन्डेसनको प्राथमिकताभित्र पर्ने एक क्षेत्र स्वास्थ्य पनि हो । फाउन्डेसनले कोभिड–१९ को महामारीका बेला सुदूरपश्चिम प्रदेशमा सुरक्षा सामग्रीसमेत उपलब्ध गराएको थियो ।
भारत र नेपाल सरकारको संयुक्त पहलमा सन् १९९१ मा बी.पी कोइराला फाउन्डेसनको स्थापना भएको हो ।
दुई राष्ट्रका संस्कृति र जनजीवनसँग सम्बन्धित बहुआयमिक पक्ष तथा कला, साहित्य, बौद्घिक सम्वादलाई प्रगाढ बनाउँदै भारत र नेपालबीचको सम्बन्धलाई थप मजबुत बनाउने यस फाउन्डेसनको उद्देश्य रहेको छ ।