Category: ब्रेकिंग न्युज

ब्रेकिंग न्युज

  • धान उत्पादन पाँच वर्षयताकै कम

    धान उत्पादन पाँच वर्षयताकै कम

    काठमाडाैं । चालू आर्थिक वर्ष २०७८÷७९ मा धान उत्पादनमा कमी आएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विगत पाँच वर्षयताकै धान उत्पादनमा कमी आएको जनाएको हो ।

    मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा चालू आवमा धान उत्पादनमा ८.७४ प्रतिशतले कमी आएको हो । चालू आवमा ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको हो । गत आवमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

    यस्तै, आव २०७६/७७ मा ५५ लाख ५० हजार ८७८, आव २०७५/०७६ मा ५६ लाख १० हजार र २०७४/७५ मा ५१ लाख ५१ हजार ९२५ मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा मन्त्रालयले यसवर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरे पनि धान थन्काउने बेलामा नै वर्षा र हावाहुरीका कारण धानमा क्षति पुग्दा उत्पादनमा कमी आएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिए ।

    उनका अनुसार सुदूरपश्चिमका कैलाली र कञ्चनपुर तथा लुम्बिनी प्रदेशका बर्दिया, बाँके, कपिलवस्तुलगायत विभिन्न जिल्लामा बैमौसमी वर्षाले किसानको धानमा क्षति पुर्‍याउँदा समग्र राष्ट्रिय धान उत्पादनमा कमी आएको हो । यस वर्षको बेमौसमी वर्षाले मुलुकभरका एक लाख ११ हजार ६०९ हेक्टरमा लगाइएको चार लाख २४ हजार ११३ टन धानबालीमा क्षति पुर्‍याएकाे मन्त्रालयले जनाएको छ ।

    कुन प्रदेशमा कति उत्पादन ?

    मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा सुदूरपश्चिम प्रदेशमा धान उत्पादनमा कमी आएको छ । उक्त प्रदेशमा चार लाख ४१ हजार ९१३ मेट्रिक टन धान उत्पादन भएको हो । गत आवको तुलनामा ३१.४९ प्रतिशतले उत्पादनमा कमी आएको छ ।

    यस्तैगरी लुम्बनी प्रदेशमा १८.३८ प्रतिशत, प्रदेश नं १ मा ०.९३ प्रतिशत, प्रदेश नं २ मा ५.२४ प्रतिशत, बागमती प्रदेशमा ०.३५ प्रतिशत र कर्णालीमा ८.७६ प्रतिशतले उत्पादनमा कमी आएको छ । प्रदेशगत रुपमा धान उत्पादनको अवस्था हेर्दा गत आवको तुलनामा यसवर्ष गण्डकी प्रदेशबाहेक अन्य प्रदेशमा धान उत्पादन घटेको छ ।

    चालू आवमा गण्डकी प्रदेशमा मात्र २.३३ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । यसवर्ष धान रोप्ने समयमा नै मनसुन सक्रिय हुँदा १४ लाख ७७ हजार ३७८ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो ।

  • म फेरि परिवर्तनको लागि बौलाएको छु: डा. बाबुराम भट्टराई

    म फेरि परिवर्तनको लागि बौलाएको छु: डा. बाबुराम भट्टराई

    काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा राष्ट्रपतीय प्रणाली आवश्यक भएको बताएका छन् । पाँचथरको यासोकमा जसपाले आयोजना गरेको सभालाई सम्बोधन गर्दै भट्टराईले स्थायीत्वका लागि राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसदीय व्यवस्था हुनुपर्ने बताएका हुन् ।‘स्थायीत्वको नारा दिएर तत्कालिन नेकपाले दुई तिहाइको सरकार चलायो,’ भट्टराईले भने, ‘पूरा कार्याकाल सरकार नचलाउँदै सरकार मात्र ढलेन, नेकपा नै टुक्रियो । अस्थितरताको अत्यका लागि पूर्ण समानुपातिक संसदीय व्यवस्था र राष्ट्रपतीय प्रणालीमा जान आवश्यक छ ।’

    आफूले अवसर पाए संविधान संशोधन गरेर उक्त काम गर्ने भट्टराईको तर्क छ । सम्बोधनकै क्रममा भट्टराईले संघीयतालाई वैज्ञानिक ढंगले कार्यान्वयन गर्नुपर्ने बताए । नेपालमा गलत ढगले संघीयता कार्यान्वयन भएकाले देशमा संकट आएको भट्टराईको ठम्याइ छ । ‘नेपालमा गलत ढंगले संघीयताको कार्यान्वयन भइरहेको छ,’भट्टराईले भने, ‘कार्यान्वयनको शैली परिवर्तन नभए मुलुकमा ठूलो संकट आइलाग्नेछ ।’

    उनले वैज्ञानिक ढंगले कार्यान्वयन गरिएको संघीयताले मात्र जनजातीहरुको उत्थान गर्न सक्ने बताए । लिम्बूहरुले लिम्बुवानको मात्र कुरा नगरेर सम्पूर्ण जनजाती र उत्पीडित वर्गहरुका लागि संघर्ष गर्नुपर्ने उनको भनाइ छ ।

    ‘लिम्बुवानमा उभिएर मैले बोल्नैपछ कि लिम्बूहरुले सम्पूर्ण जनजातीहरुको पक्षमा संघर्ष गर्न जरुरी छ,’ उनले भने । प्रतिगामी शक्तिहरुले आफूलाई बौलाहा भएको प्रसंग निकाल्दै भट्टराईले देशमा सकारात्मक परिवर्तनका लागि सचेत नेपालीहरु बौलाउनुपर्ने उल्लेख गरे ।

    ‘परिवर्तनका लागि विद्वानहरु बौलाउन जरुरी छ,’ उनले भने, ‘परिवर्तका लागि पहिले पनि बौलाएर क्रान्तिको बिगुल फुकेकै हो, म फेरि एकपटक परिवर्तनका लागि बौलाएको छु।’

    परिवर्तन र विकासका लागि जसपा निर्माण गरिएको उनको भनाइ थियो । जसपा पुरानो सोच र सिद्धान्त बोकोको पार्टी नभएर नयाँ सोच, दृष्टिकोण र सिद्धान्त बोकेको पार्टी भएको भट्टराईको दावी छ ।

    मुलुकलाई समृद्ध बनाउने अवसर पाएका पार्टी र तिनका नेताहरुले केही गर्न नसकेपछि राष्ट्रियताको हौवा फैलाएको भट्टराईको आरोप छ। ‘तपाईंहरुकै क्षेत्रका एक नेताले दुई तिहाइको सरकार चलाउने मौका पाए,’ पूर्वप्रधानमन्त्रीसमते रहेका एमाले अध्यक्ष केपी ओलीप्रति इंगित गर्दै भट्टराईले भने, ‘देश बनाउन त परै जाओस्, आफ्नै पार्टीलाई सम्हाल्न नसकेर तहसनहस बनाएका उनैले अहिले राष्ट्रियताको चर्को कुरा गरिरहेका छन् ।’ आफ्ना बदमासी लुकाउन राष्ट्रियता खतरामा छ भन्दै कराएर जनतालाई भ्रममा पारेको भट्टराईको तर्क छ ।

    कार्यक्रमको अवसरमा भट्टराईले कुम्मायक गाउँपालिका ४ का अध्यक्ष देबेन्द्र लावतीसहित दर्जनौंलाई पार्टी प्रवेश गराएका थिए। उक्त कार्यक्रमलाई जसपाका केन्द्रीय कार्यकारिणी सदस्य रकम चेम्जोङ, राणध्वज कन्दङवा, केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जयराम यादव, लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमलगायत आधा दर्जन बढी नेताहरुले सम्बोधन गरेका थिए ।

     

     

  • पाल्पामा मलामी बोकेको बस दुर्घटना सातजनाको मृत्यु

    पाल्पामा मलामी बोकेको बस दुर्घटना सातजनाको मृत्यु

    बुटवलबाट गुल्मीको रिडी शव लिएर जाँदै गरेको बस पाल्पाको लघुवामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।आइतबार बिहान शव लिएर जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य ७ जना घाइतेलाई उपचारका लागि पाल्पा अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय हार्थोक पाल्पाले जनाएको छ ।

    ३६ जना मलामी सवार बस बाटो चिप्लो हुँदा सडकबाट करिब ५० मिटर तल झरेको प्रहरीले जनाएको छ ।मृतक तथा घाइते सबैको विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ।

  • माओवादीमा राति ८ बजेदेखि उम्मेदवारी दर्ता, यस्ताे छ निर्वाचन कार्यतालिका

    माओवादीमा राति ८ बजेदेखि उम्मेदवारी दर्ता, यस्ताे छ निर्वाचन कार्यतालिका

    काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ ।

    निर्वाचन समितिले शनिबार अपरान्ह सार्वजनिक गरेको कार्यक्रम अनुसार उम्मेदवारले मनोनयन पत्र दर्ता साँझ ८ देखि १० बजे गर्न सक्नेछन् ।

    उम्मेदवारको मनोनय पत्र दर्ता सूची प्रकाशन १०: ३० बजे गरिनेछ ।

    यसैगरी उम्मेदवारको विरोधमा भोलि बिहान ८ बजेदेखि ८: ३० सम्म उजुरी दिन सकिनेछ । भोलि बिहान ११ बजेदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

    यसअघि निर्वाचन समितिले १७४२ जना मतदाताको नामावली प्रकाशन गरेको थियो ।

  • राजेन्द्र लिङ्देनकाे निर्णयमाथि कमल थापाकाे चुनाैति

    राजेन्द्र लिङ्देनकाे निर्णयमाथि कमल थापाकाे चुनाैति

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले गरेको निर्णयलाई निवर्तमान अध्यक्ष कमल थापाले चुनौती दिएका छन् ।

    राप्रपा काभ्रेका जिल्ला अध्यक्ष टुल्कु लामा, उपाध्यक्षद्वय श्रीदास लामा र गंगामाया लामा तथा सचिव धनजित लामालाई कारबाही गर्ने पदाधिकारी बैठकको निर्णय अवैधानिक रहेको थापाले जनाएका छन् ।

    चारै जना पार्टीको साधारण सदस्य समेत नरहने गरी निश्कासनमा परेका थिए । पदाधिकारी बैठकको निर्णय पार्टी हितमा नरहेको थापाले जनाएका छन् ।

    थापाले शनिबार सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् – राप्रपा काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामा र गाउँपालिकाका २ निर्वाचित वडाध्यक्षहरूलाई स्पष्टीकरण दिने अवसर नै नदिइ पार्टीबाट निष्कासन गर्ने पदाधिकारी बैठकको निर्णय अवैधानिक र पार्टी हित विपरीत छ । उक्त निर्णयप्रति खेद व्यक्त गर्दछु । पदाधिकारी बैठकलाई विधानले त्यस्तो अधिकार दिएको छैन ।

  • माओवादीकाे विधान संशाेधनसहित पारित, १५ पदाधिकारीसहित २९९ सदस्यीय समिति

    माओवादीकाे विधान संशाेधनसहित पारित, १५ पदाधिकारीसहित २९९ सदस्यीय समिति

    काठमाडौं । कमलादीस्थित प्रज्ञा भवनमा चलिरहेको नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनले पार्टीको विधान संशोधन सहित पारित गरेको छ ।

    विधानअनुसार माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ भने १५ जना पदाधिकारी रहने छन् । विधान अनुसार पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछ ।

    विधान अनुसार पदाधिकारीलाई समावेशी बनाउने उल्लेख गरिएको छ । यस्तै केन्द्रीय समितिमा ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी मिलाइने व्यवस्था रहेको छ । १५ प्रतिशत सदस्य मनोनीत गरिने छ । यसअघि १० प्रतिशतमात्रै मनोनीत हुने व्यवस्था थियो ।

  • सरकार बचाउनुपर्ने सेनापतिहरु अरुसँग बिके अनि मेराे सरकार ढल्याे : केपी ओली (भिडिओसहित)

    सरकार बचाउनुपर्ने सेनापतिहरु अरुसँग बिके अनि मेराे सरकार ढल्याे : केपी ओली (भिडिओसहित)

    काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीको सरकारलाई बचाउनुपर्ने सेनापतिहरू प्रचण्ड र माधव नेपाल आफैँ अरुसँग बिकेकाले कम्युनिस्ट सरकार ढलेको दाबी गरेका छन् ।

    शुक्रबार स्वदेश फर्किएका नेपालीहरूको भेलामा ओलीले आफ्नो हालत बंगाली नवावकाे जस्ताे भएकाे भनी चर्चा गरेका हुन् । बंगाल राज्य बचाउनुपर्नेमा अंग्रेज सरकारसँग नै सेनापति मिलेकाले बचाउन नसकिएको जस्तै अहिले आफ्नो हालत पनि त्यस्तै भएको बताए ।

    अंग्रेज सरकारले बंगाललाई नियन्त्रणमा लिँदा त्यहाँको सेनापति मिर जाफरलाई जसरी किनेर प्रयोग गरेको थियो, त्यसरी नै आफ्नो पार्टीका नेताहरूले बिकेकाले आफ्नो सरकार ढलेको उनकाे भनाइ थियाे ।

    आफ्नो सरकारलाई देश–विदेशी प्रतिक्रियावादी शक्तिले ढालेको उनले दाबी गरे ।

    अध्यक्ष ओलीले अलिकति इमान गुमाएपछि जहिल्यै सत्तामा बस्न पाइने बताएका छन् । शुक्रबार स्वदेश फर्किएका नेपालीहरूको भेलामा बोल्दै एमाले ओलीले इमान जमान गुमाएकैले माओवादी केन्द्र जहिल्यै सत्तामा पुगेको भन्दै कटाक्ष गरे ।

    ‘अलिकति राजनीति इमान र जमान गुमाएपछि जहिल्यै पनि सत्तामा बस्न पाइने रहेछ । जस्तै, प्रचण्डहरू हिजो म प्रधानमन्त्री हुँदा पनि सरकारमै थिए, अहिले कांग्रेस नेतृत्वमा सरकारमा छन्,’ ओलीले भने ।

    ओलीले आफ्नो पार्टीले नेपाल बनाउने दाबी पनि गरे । ‘नेकपा एमालेको नीति सही छन्, एमालेले नै देश बनाउँछ भन्नेमा तपाईहरू विश्वस्त हुनु भएको छ, यो राम्रो हो,’ उनले भने ।

    यसअघि फरक प्रसंगमा ओलीले नेपाल देश जीवनमय भएकोले नयाँ बिरुवा लगाउनु नपर्ने र भएको नमास्दा मात्रै पुग्ने पनि बताए ।

    ‘हाम्रो देश जीवनमय देश छ । पहिले गंड्यौला, बाँदर, बाघभालु, हात्तिगैंडाको खेती पहिले कसले गर्थ्यो ? सालघारी, सिसौ, खयर कसले लगाएका हुन् ? यार्चागुम्बा कसले उमारेका हुन् ? आफैं उम्रिन्छ । निमा रुख कसले उमारे ? सबै आफैं उम्रिन्छ । झारपात आफैं उम्रिन्छ । फलफूल आफैं उम्रिन्छ’ ओलीले भने, ‘आरा बन्चरो लिएर जंगल नपस्ने हो भने दस वर्षमा देश जंगलमय भइसक्छ । बिरुवा उमार्नका लागि केही गर्नु नै पर्दैन । खाली नमासे पुग्छ ।’

    हेर्नुहाेस् भिडियो :

  • प्रचण्डको प्रतिवेदन पारित, एमसीसीबारे दिए यस्तो जवाफ

    प्रचण्डको प्रतिवेदन पारित, एमसीसीबारे दिए यस्तो जवाफ

    काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ । प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बन्दसत्रले पारित गरेको हो ।

    महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ ।

    नेताहरु राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलको पुरक र फरक मत प्रस्तावबारे अध्यक्ष प्रचण्डले जवाफ दिएनन् । आइतबारबाट सुरु भएको महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

    जवाफ दिने क्रममा प्रचण्डले एमसीसीबारे ठोस कुरा गरेनन् । उनले भने, ‘एमसीसीको बारेमा धेरै बोल्दा देश खतरातर्फ जाने सम्भावना भएको हुँदा धेरै बोल्नु परेन । सारमा जे प्रतिवेदनमा छ, त्यही रुपमा बुझ्नुहोला। पार लगाइन्छ ।’

    प्रचण्डले आफूमाथि विभिन्न प्रश्न उठेको भन्दै पार्टीका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको दाबी गरे ।

    ‘कतिपयले प्रचण्ड फेरि झुपडीमा जान सक्ला त ? चिल्लो गाडी छोड्न सक्ला त ? काठमाडौँको रमझम छोड्न सक्लान् त? भनेर पनि भन्ने गर्छन्,’ उनले अगाडि भने, ‘तर म के भन्न चाहन्छु भने जरुरी पर्दा मलाई गाउँघरमा जान, उनीहरुसँगै बस्न, मजदुरसँग खान, जनतामाझ गएर बस्न कुनै गाह्रो छैन । यो पार्टीलाई क्रान्तिकारी बनाउन, जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न तयार छु । म यो अन्तिम अवसर गुम्न दिन्नँ ।’

  • डेरा सर्ने विषयमा अलमलमा प्रचण्ड, काठमाडाैं कि चितवन !

    डेरा सर्ने विषयमा अलमलमा प्रचण्ड, काठमाडाैं कि चितवन !

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डेरा सर्ने बताएका छन् । खुमलटारमा बस्दै आएका प्रचण्डले ८औं महाधिवेशनमा प्रतिनिधिले उठाएका प्रश्नको जवाफ दिँदै डेरा सर्न लागेको जानकारी गराएका हुन् ।

    उनको बसाइबारे प्रतिनिधिले पनि प्रश्न उठाएका थिए ।

    जवाफमा उनले भने- ‘डेरा सर्ने कुरा ठीक छ । खुमलटारबाट डेरा सर्छु । अर्को डेराको खोजी हुँदैछ । ठेकेदारको घरमा बस्यो भनेर आलोचना भयो । घर सल्लाह गर्छु । यहीँ बस्ने कि चितवन ।’

    ‘केन्द्रीय सदस्य काठमाडौंमा बस्न पाउने छैनन् । आफ्नो जिल्ला गाउँमै बस्नु पर्नेछ,’ उनले भने । डेरा सर्दा काठमाडौं नै बस्ने कि चितवन भन्ने प्रश्नले अध्यक्ष प्रचण्ड अलमलमा छन् ।

    प्रचण्ड अहिले ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा बस्दै आएका छन् । अधिकारीले ठेक्का पाएका धेरै ठाउँमा काम अलपत्र छाडेका छन् । त्यसैले उनीमाथि शारदाप्रसाद अधिकारीलाई बचाउँदै आएको आरोप पनि लाग्दै आएको छ ।

    प्रचण्डले अमेरिकी सहायता मिलिनियम च्यालेज कर्पोरेशन (एमसीसी)बारे भने दस्तावेजको धारणामा परिवर्तन नहुने बताए । राजनीतिक प्रतिवेदनमा संशोधनबिना एमसीसी अघि नबढ्ने उल्लेख छ ।

  • एकीकृत समाजवादी पार्टीप्रतिकाे आकर्षणले थप उत्साहित बनाएकाे छ : माधव नेपाल

    एकीकृत समाजवादी पार्टीप्रतिकाे आकर्षणले थप उत्साहित बनाएकाे छ : माधव नेपाल

    काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको लक्ष्य र उदेश्य जनतामात्र भएको बताएका छन् ।

    शुक्रबार नेकपा (एकीकृत समाजवादी) र साध्यबहादुर भण्डारी नेतृत्वको राष्ट्रिय जागरण परिषद नेपालबीच पार्टी एकता घोषणा कार्यक्रममा अध्यक्ष नेपालले आफ्नो उदेश्य चूनाव नभएर जनता र जनताको समस्या भएको बताएका हुन् । उनले जनताको समस्या समाधानका लागि आफ्नो पार्टी अग्रपङ्तीमा उभिने जिकिर गरे ।

    उनले छलफल र परामर्शका आधारमा पार्टीले सहि निर्णय गर्ने बताए । अध्यक्ष नेपालले अहिले एकीकृत समाजवादी पार्टी प्रति आकर्षण बढेको भन्दै यसले थप उत्साहित बनाएको पनि जानकारी गराए ।

    कार्यक्रममा राष्ट्रिय जागरण परिषद भण्डारीले आफू सदैव राष्ट्रिय हितको पक्षमा लाग्ने व्यक्ति भएकाले एकीकृत समाजवादीमा आएको बताए । उनले एमसीसीको चालवाजीलाई अब नेपाली जनताले बुझ्नुपर्ने धारणा राखे ।

    भण्डारी केही वर्षअघि राष्ट्रिय जनमोर्चामा र एमालेमा पनि थिए । तर, एमालेले एमसीसीको पक्ष लिएकोमा असन्तुष्ट भण्डारीले गत वर्ष जागरण परिषद् गठन गरेका थिए ।