Category: हुलाक स्पेसल

हुलाक स्पेसल

  • बानेश्वरमा चार घण्टा जे देखियाे… (ब्लग)

    बानेश्वरमा चार घण्टा जे देखियाे… (ब्लग)

    मंगलबार बसेकाे नेपाली कांग्रेसकाे संसदीय दलकाे बैठकले बुधबार एमसीसी सदनमा पेश गर्ने निर्णय गरेकाे समाचार सञ्चारमाध्यममा पढेकाे थिएँ । मंगलबार अफिसबाट घर फर्कने बेलामा साँझ नेकपा माओवादीका भ्रातृ संगठनलगायतले एमसीसीकाे विराेधमा नेपाल बन्दकाे आयाेजना गरेकाे समाचार पनि पढेकाे थिएँ ।

    बुधबार बिहान बानेश्वरमा संसद भवन घेराउ गर्ने माओवादीका भ्रातृ संगठनकाे अर्काे सूचना पाएकाे थिएँ । बिहानैदेखि नेपाल बन्दकाे प्रभाव खासै देखिएकाे थिएन । बन्दबारेकाे समाचार हेरिरहेकाे थिएँ । सञ्चारमाध्यममा पनि बन्दकाे खास प्रभाव नपरेकाे खबर आइरहेका थिए ।

    राजेश शर्मा

    बिहान १० बजे खाना खाएर सामाखुशीबाट बानेश्वर अफिसका लागि निस्किएँ । अफिस पुग्नासाथ एकछिनमा एकजना साथी (हिमाल शर्मा) लाई लिएर बानेश्वर चाेकतिर लागेँ । माओवादीकाे भ्रातृ संगठनहरुकाे विराेध प्रदर्शन सुरु भइसकेकाे थियाे । क्यामेरा निकालेर तस्बिर तथा दृश्य कैद गरिरहेकाे थिएँ । एकैछिनमा भीड एकदमै बढी भयाे ।

    प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजिरहेका थिए । प्रदर्शनकारीहरुकाे उग्र रुप लिएपछि एकैछिनमा झडपकाे स्थिति सिर्जना भयाे । प्रहरीकाे सहयाेगमा निरन्तर भिडियाे तथा फाेटाे खिचिरहेकाे थिएँ । झडपका क्रममा प्रहरीले पानीका फाेहाेरा हान्न थाल्याे । पानीकाे फाेहाेरा हान्न थालेपछि प्रदर्शनकारीहरु तितरवितर भए । प्रदर्शनकारीहरुले पनि प्रहरीमाथि ढुंगा तथा इट्टाका टुक्राहरु बर्षाइरहेका थिए ।

    यही क्रममा केही प्रदर्शनकारीहरु घाइते भए । केही प्रदर्शनकारीहरुलाई प्रहरी पक्राउ पनि गर्‍यो । हामी निरन्तर अपडेटमा थियाैँ । एकैछिनमा प्रदर्शन केही मथ्थर भएकाे थियाे । प्रदर्शनकारीका तर्फबाट केही वक्ताहरु बाेलिरहेका थिए । केही भने एमसीसीकाे विराेधमा चर्काे नाराबाजी पनि गरिरहेका थिए ।

    प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ गरिरहेकाे थियाे । यही क्रममा मेराे साथी हिमाल शर्मा पनि समातिन पुगे । पत्रकार भएकाे जानकारी गराइरहँदा पनि प्रहरीले भ्यानमा हाल्न लागिरहेकाे थियाे । पत्रकार भएकाे जानकारी र परिचयपत्र हेरेपछि साथीलाई प्रहरीले छाेडिदिए ।

    संसदमा एमसीसी टेबल गर्ने तयारी भएपछि विप्लवसहितका ६ दल र माओवादीका भ्रातृ संगठनले प्रदर्शन गरेपछि प्रहरीसँग झडप भएको थियो । झडपका केही प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएकाे दृश्य आफ्नै क्यामेरामा पनि कैद भएकाे थियाे । दर्जनाैँ प्रदर्शनकारी पक्राउ परेका थिए ।

    बिहान ११ बजेदेखि सुरु भएको एमसीसी विरुद्धको प्रदर्शनका कारण अशान्त रहेको बानेश्वर क्षेत्र करिब ४ घण्टापछि अहिले भने शान्त भएकाे छ ।

    हेर्नुहाेस् तस्बिर/भिडियाे :

  • एकमहिने स्वस्थानी व्रत समापन

    एकमहिने स्वस्थानी व्रत समापन

    काठमाडाैं । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिनेछ ।

    पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् । त्यसै दिनदेखि सुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने कामको पनि आजैदेखि अन्त्य गरिनेछ ।

    विधिपूर्वक एकमहिने व्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता तथा विभिन्न थरिका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र र भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगि बहाउने व्रत विधि छ ।

    सय रोटी बर्तालुले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा बर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान र योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।

    सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिन्छ । चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरद मुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी व्रतकथामा उल्लेख छ । यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनःमिलन हुन्छ भन्ने विश्वास छ । रोगव्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ । सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नाग नागिनीको समेत पुनःमिलन भएको कथामा उल्लेख छ ।

    गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ले जानकारी दिए ।

    आज मध्याह्नकालपछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिमा जागराम बसी बिहीबार बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी व्रत समापन हुने विधि रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईले बताए । उपत्यकाको पूर्वी भेगस्थित शाली नदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत पनि आज अश्वमेध यज्ञ गरी समापन गरिँदै छ । विगत वर्षमा करिब ४०० जनाले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण १२५ जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षितसाथ राखिएको छ ।

    महिला १०६ र पुरुष १९ गरी १२५ जना यसपटक व्रतमा सहभागी भई परम्परादेखि गरिँदै आएको माधवनारायण व्रतको संस्कृति संरक्षण गरिरहेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शाली नदी सुधार समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले जानकारी दिए ।

  • भ्यालेन्टाइन्स डेमा सयौँको विवाह

    भ्यालेन्टाइन्स डेमा सयौँको विवाह

    प्रेम दिवसको रूपमा मनाउने गरिएको भ्यालेन्टाइन्स डेका अवसरमा मेक्सिकोमा सयौँ प्रेमी-फ्रेमिकाले विवाह गरेका छन् ।

    मेक्सिकोमा सोमबार आयोजना गरिएको सामूहिक विवाह कार्यक्रममा ६६१ जोडीले विवाह गरेको समाचारमा जनाइएको छ ।

    विवाह गर्नेमा ७४ वर्षीय फ्रान्सिस्को काल्भो र ६७ बर्षिया रोसाल्बा सिल्भाको जोडी पनि रहेको छ । उनीहरुको भेटघाट पाँच बर्ष अगाडि भएको थियो ।

    वैवाहिक कार्यक्रममा सहभागीहरूले वैवाहिक कार्यक्रम निकै रोमाञ्चक र पारिवारिक देखिएको अनुभव सुनाएका थिए ।

    ‘मेरो परिवारका दुई दिदीले यस्तै कार्यक्रम मार्फत यसअघि नै विवाह गर्नु भएको हो, उहाँहरु अहिले खुशी नै हुनुहुन्छ, त्यसैले मैले पनि यही तरिका अपनाएँ’ विवाह गरेका ४९ वर्षीय एक व्यक्तिले भने ।

    धेरै जनाको विवाह भएकाले व्यवस्थापनमा केही कठिनाइ भने भएको आयोजकहरूले बताएका छन् ।

    उनीहरूलाई कार्यक्रमस्थलमै विवाह दर्ता प्रमाणपत्र प्रदान पनि गरिएको थियो । ‘एकै ठाउँमा एकैचोटी ६६१ जोडिको विवाह गर्दा चुनौती र कठिनाइ त अवश्य भयो,’ व्यवस्थापनमा खटिएकी एक महिलाले भनिन् ।

  • किन मनाइन्छ ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस ?

    किन मनाइन्छ ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस ?

    काठमाडाैं । १४ फेब्रुअरी, ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस । युवापुस्ताले १४ फेब्रुअरीको दिनलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् ।

    पश्चिमी देशहरुमा मनाइने प्रणय दिवसलाई पछिल्ला केही वर्षयता नेपालमा पनि उत्साहपूर्वक मनाउने गरिएको छ । पहिले पहिले सहरी क्षेत्रमा मात्रै प्रणय दिवसको मनाउने गरिए पनि आधुनिक प्रविधिको पहुँच बढेसँगै गाउँघरमा पनि यो दिवसको चर्चा हुन थालेको छ ।

    याे दिन आफूलाई मन परेका व्यक्ति र माया गर्नेलाई रातो गुलाफ र विभिन्न उपहार दिने चलन छ ।

    विशेष गरी भ्यालेन्टाइन डे को औपचारिक सुरुवात इस्वी सम्वत २६९ रोमनबाट सुरु भएको हो । यो दिवससँग एउटा दुखान्त प्रेम कथा जोडिएको छ । तत्कालिन रोमन सम्राट क्लोडियस द्धितियले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लाएका थिए ।

    प्रेम तथा विवाहले सैनिक कजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लोडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए ।

    तर सम्राटको नियम मन नपराउने मध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए । उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराए । सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाएर जेलमा राखे ।

    जेलमा रहँदा सन्त भ्यालेन्टाइनको जेलरकी दृष्टिबिहीन छोरीसँग माया बस्यो । आफूलाई मृत्युदण्ड दिनुअघि सन्त भ्यालेन्टाइनले लभ फ्रम योर भ्यालेन्टाइन भन्ने हस्ताक्षरसहितको प्रेम पत्र आफ्नी प्रेमिका अथार्त जेरकी छोरीलाई दिएका कथन छ ।

    उनले आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकार गरेका थिए । उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । यही दिनको सम्झनामा सन्त भ्यालेन्टाइने प्रेमका लागि गरेको त्यागको सम्झना गर्दै विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन डे मनाउने गरिएको हो ।

    भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दुई सय २९ वर्षपछि सन् ४९८ मा इसाइ धर्मगुरु पोप जेलासिएसले भ्यालेन्टाइनको सम्झनामा दिवसकै रुपमा मनाउने घोषणा गरेका थिए । त्यसपछि इंग्ल्याण्ड र फ्रान्सलगायत पछिल्लोसमय विश्वभर १४ फेब्रुअरीलाई भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको रुपमा मनाउने गरिएको छ ।

  • महाअभियोगका लागि यस्तो छ संवैधानिक व्यवस्था, अब यसरी अघि बढ्छ प्रक्रिया

    महाअभियोगका लागि यस्तो छ संवैधानिक व्यवस्था, अब यसरी अघि बढ्छ प्रक्रिया

    काठमाडाैं । प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पदबाट निलम्बित भएका छन् । संवैधानिक निकायका प्रमुखमाथि संसदमा महाअभियोगलगायत मुद्दा दर्ता हुनेवित्तिकै स्वतः निलम्बन हुने संवैधानिक व्यवस्था छ ।

    नेपालको संविधानको धारा १०१ को उपधारा २ मा संविधान र कानुनको गम्भीर उल्लङ्घन गरेको, कार्यक्षमताको अभाव, खराब आचरण भएको, इमानदारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालन नगरेको वा आचार संहिताको गम्भीर उल्लङ्घन गरेका कारण आफ्नो पदीय जिम्मेवारी पूरा गर्न नसकेको आधारमा नेपालको प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव पेस गर्न पाउने उल्लेख छ ।

    त्यसका लागि प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइ सदस्यले प्रस्ताव पेस गर्न सक्छन् । संविधानमा भनिएकाे छ, ‘त्यस्तो प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा दुई तिहाइ बहुमतबाट पारित भएमा सम्बन्धित व्यक्ति पदबाट मुक्त हुनेछ ।’

    उपधारा २ बमोजिम त्यस्तो उजुरी प्रतिनिधिसभाका कम्तीमा तीन जना सदस्यले प्रमाणित गरी पेस गरेमा उपधारा ३ बमोजिमको महाभियोग सिफारिस समितिले सङ्घीय कानुन बमोजिम छानबिन गरी महाभियोगसम्बन्धी कारबाहीका लागि प्रतिनिधिसभा सिफारिस गरेमा उपधारा २ अनुसार महाभियोगको प्रस्ताव पेस हुनसक्ने संविधानमा उल्लेख छ ।

    उपधारा २ बमोजिम महाभियोगको कारबाही प्रारम्भ भएपछि नेपालको प्रधान न्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीले त्यस्तो कारबाहीको टुङ्गो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न नपाउने व्यवस्था छ ।

    त्यस्तै, महाभियोगको प्रस्ताव पारित भएर पदमुक्त भएको अवस्थामा त्यस्ता व्यक्तिले पदबाट पाउने कुनै सुविधा लिन र भविष्यमा कुनै पनि सार्वजनिक पदमा नियुक्त वा मनोनयन हुन नपाउने संवैधानिक प्रावधान छ ।

    संविधानको धारा १०१ को उपधारा ३ का अनुसार अब महाअभियोगको प्रस्ताव संसदमा पेश गर्ने आधार र कारण विद्यमान भए नभएको छानबिन गर्न प्रतिनिधिसभाको महाअभियोग सिफारिस समिति बन्नेछ । याे समितिमा प्रतिनिधिसभाका ११ जना सदस्य रहने व्यवस्था छ ।

    प्रस्ताव दर्ता भएको मितिले सातदिनपछिको कुनै पनि बैठकमा छलफल हुने गरी सभामुखले दिन र समय तोक्ने व्यवस्था प्रतिनिधिसभा नियमावली २०७५ मा छ । संसद चालु नभएको अवस्थामा प्रस्ताव दर्ता भएको १५ दिनभित्र बैठक बोलाएर बैठक सुरु भएको तीन दिनमा प्रस्ताव छलफल गर्ने व्यवस्था रहेको छ ।

    हाल संसदको बैठक लगातार स्थगित भइरहेकाे छ । अब भने सभामुखले सात दिनमा बैठक बोलाइसक्नु पर्नेछ । सभामुखले बैठकको मिति तोकेपछि प्रस्तावकले बैठकमा जबराविरुद्धको महाभियोगको प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि सभामुखले उक्त प्रस्तावमा छलफल हुने समयावधि निर्धारण गर्नेछन् । छलफल समाप्त भएपछि सभामुखले प्रस्तावलाई महाभियोग सिफारिस समितिमा पठाउनेछन् ।

    समितिले कारवाही अघि बढाएपछि प्रधानन्यायाधीशले सात दिन भित्र लागेको आरोपको सफाइ पेश गर्न मौका पाउनेछन् । सफाइ सन्तोषजनक नभएमा वा तोकिएको म्यान भित्र प्रधानन्यायाधीश उपस्थित भएर सफाइ पेश नगरेकाे खण्डमा महाभियोग सिफारिस समितिले आफ्नो सिफारिस सहितको प्रतिवेदन सदन समक्ष पेश गर्नेछ ।

    महाभियोग सिफारिस समितिले आफ्नो कारवाही प्रारम्भ गरेको मितिले बढीमा तीन महिनामा प्रतिनिधिसभामा सिफारिससहितको प्रतिवेदन पेश गर्नुपर्ने नियमावलीमा उल्लेख छ । प्रतिवेदनमाथि बैठकमा छलफल हुने दिनको कम्तीमा दुई दिन अगावै प्रतिवेदन सबै सदस्यलाई वितरण गर्नुपर्ने व्यवस्था छ। त्यसपछि सभामुखले तोकेको मितिमा समितिका सभापति वा कुनै पनि सदस्यले प्रतिवेदनलाई प्रतिनिधिसभामा पेश गर्नेछन् । र, बैठकमा छलफल सुरु हुनेछ ।

    यसरी प्रतिवेदनमाथि छलफल भइरहँदा कुनै सदस्यले प्रतिवेदनमा संशोधन पेश गर्न वा कुनै कुरा सम्बन्ध पुन: छानबिन गर्न प्रतिवेदनलाई फेरि समितिमा फिर्ता पठाउने प्रस्ताव पेश गर्न सक्छन् । उक्त प्रस्ताव स्वीकृत भएमा प्रतिवेदन समितिमा फर्किनेछ र समितिले सातदिन भित्र पुन: छानबिन गरी बैठकमा प्रतिवेदन पेश गर्नेछन् ।

    पेश भएको प्रस्ताव वा पेश भएको संशोधनमाथि संक्षिप्त छलफलपछि सभामुखले सबै संशोधन निर्णयार्थ बैठकमा पेश गर्नेछन् । त्यसपछि प्रतिवेदनमा उल्लेखित सिफारिसलाई निर्णयार्थ बैठकमा पेश गरिनेछ ।

    महाभियोगको प्रस्तावमाथि सभाको निर्णय प्रतिनिधिसभा सदस्यको दस्तखत सहितको मत विभाजनबाट हुने व्यवस्था नियमावलीमा उल्लेख छ । यसरी मत विभाजनबाट महाभियोग प्रमाणित हुन्छ भन्ने ठहरका साथ महाभियोग सिफारिस समिति पेश गरेको प्रतिवेदन प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाई बहुमतले पारित भए प्रधान न्यायाधीश पदमुक्त हुनेछन् । यसरी पदमुक्त भएमा कसूर अनुसार संघीय कानुन बमोजिम कारवाही गर्न बाधा पुग्नेछैन ।

    सम्बन्धित समाचार :

    प्रधानन्यायाधीश राणा स्वतः निलम्बित, दीपककुमार कार्की कायममुकाय

    यसकारण प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियाेग प्रस्ताव (पूर्णपाठसहित)

    प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता

  • यसकारण प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियाेग प्रस्ताव (पूर्णपाठसहित)

    यसकारण प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियाेग प्रस्ताव (पूर्णपाठसहित)

    काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध तीन दलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव संघीय संसद् सचिवालयमा दर्ता गराएका छन् ।

    आइतबार गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले हस्ताक्षर गरेर महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् । दर्ता गरिएको पत्रमा महाअभियोग लगाउनुपर्ने आधार र कारण खुलाइको छ ।

    प्रधानन्यायाधीश जबरा लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, स्वतन्त्र, सक्षम, निष्पक्ष र जिम्मेवार न्यायपालिकाको जर्गेना गर्न असक्षम भएको उल्लेख छ ।

    हेर्नुहाेस् पूर्णपाठ :

  • सरकार र नेकपाबीच भएकाे सहमति कार्यान्वयनबारे छलफल, छलफल सकारात्मक भएकाे प्रतिक्रिया

    सरकार र नेकपाबीच भएकाे सहमति कार्यान्वयनबारे छलफल, छलफल सकारात्मक भएकाे प्रतिक्रिया

    काठमाडाैं । नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा शनिबार छलफल भएको छ ।

    गृह मन्त्रालयमा भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुनसचिव उदयराज सापकोटा तथा नेकपाका तर्फबाट नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा सहभागी भएका थिए ।

    नेकपासँग सरकारले विसं २०७७ फागुन २० मा तीन बुँदे सहमति गरेको थियो । उक्त सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । मन्त्रालयका प्रवक्ता पोखरेलले फिर्ता लिन मिल्ने मुद्दा छिटो फिर्ता गर्ने विषयमा पनि छलफल भएको जानकारी दिए ।

    वार्तामा नेकपाका प्रवक्ता विश्वकर्माले विभिन्न आन्दोलनका क्रममा पार्टी कार्याकर्तालाई लगाइएका मुद्दा र जेलमा रहेका कार्यकर्ताको विवरण सरकारलाई बुझाएका थिए । सरकारका तर्फबाट पनि अहिलेसम्म थुनामा रहेका नेकपाका कार्यकर्ता र मुद्दाको विवरण प्रस्तुत भएको प्रवक्ता पोखरेलले जानकारी दिए ।

    बैठकपछि नेकपा प्रवक्ता विश्वकर्माले तीन बुँदे सहमति कार्यान्वयनको टाइमलाइन वार्तामा बनाइएको र माग कार्यान्वयनमा सरकार सकारात्मक देखिएको जानकारी गराए । ‘केही विषय टुङ्गिएका पनि छन्, केही टुङ्गिने क्रममा छन्, आशा छ छिटै निष्कर्ष निष्कन्छ’, प्रवक्ता विश्वकर्माले भने ।

    नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सहमति कार्यान्वयन गर्न गृह मन्त्रालयले उक्त पार्टीसँग निरन्तर छलफल गरिरहेको छ ।

  • खोपको २४ लाख मात्रा हराएको छैन : स्वास्थ्यमन्त्री खतिवडा

    खोपको २४ लाख मात्रा हराएको छैन : स्वास्थ्यमन्त्री खतिवडा

    काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरसविरुद्धको खोपको २४ लाख मात्रा नहराएको बताएका छन् । मन्त्री भएको एक सय दिन पुगेको अवसरमा शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले खोप हराएको नभइ तथ्याङ्क नआएको उल्लेख गरे ।

    “खोपको २४ लाख मात्रा हराएको होइन, हामीले खोप लगाउनका लागि प्रदेश, जिल्ला, स्थानीय तह हुँदै टोलटोलमा स्वास्थ्यकर्मी खटाएका थियौँ”, मन्त्री खतिवडाले भने, “टोलटोलमा गएर लगाएको तथ्याङ्क नआएको मात्र हो ।” उनले खोप लगाउँदा केही मात्रा खेर गएकाले पनि तथ्याङ्क नमिलेको बताए ।

    “एउटा डब्बामा रहेको खोपको १० मध्ये आठ मात्रा लगाइयो र बाँकी दुई मात्रा खोप त्यही दिन लगाइन भने त्यो खेर जान्छ” उनले भने, “त्यसकरी पनि खोपको मात्रा खेर गइरहेको छ ।” हराएको खोपको सम्बन्धमा मन्त्रालयले प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको र चाँडै नै हराएको खोपका बारेमा जानकारी दिने मन्त्री खतिवडाको भनाइ थियो ।

    मन्त्री खतिवडाले आगामी वैशाख मसान्तसम्म लक्षित जनसङ्ख्या सबैलाई कोभिड –१९ विरुद्धको खोपको पूर्ण मात्रा प्रदान गर्ने लक्ष निर्धारण गरिएको र त्यसका लागि आवश्यक पर्ने खोपको मौज्दात सुनिश्चित गरिसकिएको बताए । उनले १२ वर्षदेखि माथिका सबैलाई खोप लगाइने जानकारी दिनुभयो । सरकारले माघ २७ गतेसम्म १२ वर्षभन्दा माथिको लक्षित जनसङ्ख्याको ७७% लाई पहिलो मात्रा र ६९% लाई खोपको पूर्ण मात्रा प्रदान गरेको छ ।

    यस्तै, मन्त्री खतिवडाले ५–११ वर्ष उमेर समूहका बालबालिकालाई समेत कोभिड–१९ विरुद्धको खोप प्रदान गर्न खोपको उपलब्धता सुनिश्चितता भइसकेको पनि बताए । हालसम्म चार करोड ६५ लाख ७० हजार ७२० खोपको मात्रा प्राप्त भइसकेमा तीन करोड ४८ लाख २५ हजार ६०१ मात्रा लगाइएको छ । मन्त्रालयले खोपको पहुँच नपुगेको स्थान र समुदायको पहिचान गरी प्रदेश र स्थानीय सरकारको नेतृत्वमा खोप अभियान सञ्चालन गरेको मन्त्री खतिवडाले जानकारी दिए ।

    “ठूला अस्पतालमा र जनघनत्व बढी भएका सहरका विभिन्न सार्वजनिक स्थानमा खोप केन्द्र निर्धारण गरेर दैनिक रुपमा खोप प्रदान भइरहेको छ,” उहाँले भन्नुभयो, “दैनिक आवतजावत गर्ने स्थान जस्तै बसपार्क, काठमाडाँै उपत्यकाका मुख्य प्रवेश नाकामा यात्रुलाई लक्षित गरी दैनिक खोप सेवा प्रदान गरिएको छ ।”

    मन्त्री खतिवडाले आफ्नो सय दिनको कार्यकालको उपलब्धमा कोरोना भाइरसको पिसिआर परीक्षण शुल्क घटाएको उल्लेख गर्नुभएको छ । निजी अस्पताल÷प्रयोगशालामा रु दुई हजारबाट रु एक हजार ५०० र सरकारी स्वास्थ्य संस्थामा रु एक हजारबाट रु आठ सय कायम गरिएको जानकारी दिनुभयो ।

    यस्तै कोरोना सङ्क्रमितको उपचार व्यवस्थापनका लागि अक्सिजन प्लान्ट, अक्सिजन सिलिन्डर, सघन उपचार कक्ष (आइसियु) शय्या, हाई डिपेडेन्सी युनिट (एचडियु) शय्याको सङ्ख्या वृद्धि गरी अस्पतालको क्षमता वृद्धि गरिएको मन्त्री शर्माले बताउनुभयो । यस्तै कोभिड–१९ युनिफाइड अस्पताल (वीर अस्पताल) मा २४ सै घण्टा कोरोना भाइरसको उपचारका लागि हटलाइन (११३३) सेवा मार्फत परामर्श सेवा प्रदान गर्न सुरु गरिएको छ । भारतसँग सिमाना जोडिएका प्रवेश विन्दुमा स्थापित हेल्थ डेस्कको क्षमता वृद्धि गरी दैनिक नेपाल प्रवेश गर्ने यात्रुमध्ये ९०% को स्क्रिनिङ् भएको र तिमध्ये ८७ % भन्दा बढीको कोभिड–१९ को परीक्षण भइरहेको मन्त्री खतिवडाले जानकारी दिनुभयो ।

    रेविज विरुद्धको खोप ‘इम्युनोग लोबुलिन’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुबाट मात्र वितरण गरिँदै आएकामा हाल सातै प्रदेशका एक/एक अस्पतालबाट निःशुल्क उपलब्ध हुने व्यवस्था गरिएको उनले बताए ।

    ज्येष्ठ नागरिक अस्पताल अर्को आर्थिक वर्षमा

    मन्त्री खतिवडाले ज्येष्ठ नागरिकलाई मात्र उपचार गर्न भनेर ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्न लागिएको बताए । उनले अस्पताल स्थापनाका लागि समिति गठन गरेर सम्भाव्यता अध्ययन कार्य भइरहेको र अर्को वर्ष बजेट विनियोजन गरेर कार्य प्रारम्भ गर्ने जानकारी दिए । मुलुकको मध्यभागमा ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्ने सरकारको तयारी छ ।

    यस्तै दुई हजार २०० वडामा वडा तहको आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको उनकाे भनाइ छ । दुई सय २६ पालिकामा पाँच, दश, १५ शय्याका आधारभूत अस्पतालको बोलपत्र प्रक्रिया भई कार्य प्रारम्भ भएको उनले बताए । जर्मन विकास बैंकको सहयोगमा दोलखाको जिरी, रामेछाप र गोर्खामा सुविधा सम्पन्न अस्पताल भवन निर्माण सम्पन्न भएर हस्तान्तरणसमेत भइसकेको उनले बताए ।

    खतिवडा गत असोज २२ गते स्वास्थ्यमन्त्रीमा नियुक्त भएका थिए । २०७४ सालको संसदीय निर्वाचनमा मकवानपुर क्षेत्र नं २ बाट निर्वाचित उनी निर्वाचित भएका हुन् । रासस

  • निर्वाचनका लागि थप ४० अर्ब माग, स्रोत व्यवस्थापन गर्छौँ : अर्थमन्त्री

    निर्वाचनका लागि थप ४० अर्ब माग, स्रोत व्यवस्थापन गर्छौँ : अर्थमन्त्री

    काठमाडाैं । चालु आर्थिक वर्षको बजेटमा निर्वाचनका लागि मात्रै रु १० अर्ब बराबरको व्यवस्था भए पनि रु ४० अर्ब बराबरको माग आएको छ । अर्थमनन्त्रालयमा बिहीबार आयोजित चालु आवको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुराको जानकारी दिएका हुन् ।

    निर्वाचन राष्ट्रिय अभियान भएकाले त्यसका लागि साधन र स्रोत उपलब्ध गराउनु सरकारको दायित्व भए पनि आफूहरु चापमा रहेको उनकाे भनाइ छ । सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेको छ ।

    निर्वाचनका लागि बजेट व्यवस्थापन गर्न सरकार लागिपरेको जानकारी दिँदै अर्थमन्त्रीले बजेटको जोहो गरिने र निर्वाचन समयमै सम्पन्न गरिने बताए । कानूनी एवं संरचनागत समस्याका कारण बजेटमा व्यवस्था भएबमोजिमको विकास बजेट खर्च हुन नसकेको भन्दै उनले जग्गा प्राप्ति तथा स्रोत नै उपलब्ध नभएको आयोजना राख्ने प्रवृत्ति पनि उत्तिकै जिम्मेवार रहेको उल्लेख गरे ।

    योजनाको छनोटदेखि नै समस्या रहेको जानकारी दिँदै उनले राजनीतिक प्रभाव र दबाबमा राखिएका आयोजनाको पूर्वतयारीमा नै लामो समय लागेकाले पनि अपेक्षित प्रगति हुन नसकेको स्पष्ट पारे । दक्ष जनशक्तिको अभाव तथा आयोजनामा जिम्मेवारी लिएकाले इमान्दार प्रयास नगरेको तथा गरेकाले समेत दण्डित हुनुपर्ने अवस्था रहेकाले पूँजीगत खर्चमा समस्या देखिएको उनकाे भनाइ छ ।

    उनले प्रक्रियागत झन्झट तथा फाइल घुमिरहने प्रवृत्तिको सुधारका लागि अनलाइन प्रणाली सञ्चालनसम्बन्धी कार्यविधि स्वीकृत भई कार्यान्वयनमा आउने क्रममा रहेको बताए । बजेटको अर्धवार्षिक समीक्षा गर्दै उनले पूर्णरूपमा बजेट खर्च नहुने उल्लेख गरे । कूल विनियोजित बजेटमध्ये रु १५ खर्ब ४६ अर्ब २८ करोड बराबरको खर्च हुने संशोधित अनुमान अर्थमन्त्रीले प्रस्तुत गरे । जुन विनियोजित बजेटको ९४.७ प्रतिशत मात्रै हो । गत असोजमा प्रतिस्थापन विधेयकमार्फत अर्थमन्त्री शर्माले बजेटको आकार रु १६ खर्ब ३२ अर्ब बराबरको तय गरेका थिए ।

    उनले चालु आवमा चालु खर्च रु १० खर्ब ३५ अर्ब ४६ करोड, पूँजीगत खर्च र रु तीन खर्ब ४० अर्ब ३२ करोड ९० र वित्तीय व्यवस्थापनमा रु एक खर्ब ७० अर्ब ४९ करोड अर्थात् विनियोजित बजेटको ९० प्रतिशत खर्च हुने अनुमान सुनाए ।

    उनले पूर्णरूपमा तयारी नगरी बजेट ल्याउँदा पूँजीगत खर्च हुन नसकेको उल्लेख गरे । उनले बजेट निर्माणको तरिका नै बदल्नुपर्ने पक्षमा आफू रहेको बताए । उनले भने – कस्तो आयोजना प्रदेशले बनाउने हो र कस्ता सङ्घ र स्थानीय तहले बनाउने हो त्यसमा स्पष्ट मापदण्ड आवश्यक छ । अर्थमन्त्रीले हाल नेपालमा क्रिप्टोकरेन्सी, हाइपर फण्ड, अनलाइन गेमिङलगायतका अवैध कारोबारको चुनौतीलाई रोक्न सरोकारवाला सबैको साथ र सहयोगको आवश्यकता औँल्याए ।

    विज्ञान प्रविधिको गैरकानूनी प्रयोगमार्फत भइरहेको मुद्राको पलायन रोक्न सरकारले आवश्यक रणनीतिका साथ काम गरिरहेको उनकाे भनाइ छ । नेपाल राष्ट्र बैंक, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागले पनि यसमा काम गरिरहेको उनकाे भनाइ थियो ।

    यस्तै वैदेशिक मुद्राको सञ्चितिमा परेको चापलाई कम गर्न विभिन्न नीतिगत उपाय अबलम्बन गरिएको तथा गैरआवासीय नेपाली नागरिकलाई अमेरिकी डलरलगायत विभिन्न आठवटा विदेशी मुद्रामा नेपालमा खाता खोल्न सक्ने व्यवस्था गरिएको अर्थमन्त्रीको भनाइ थियो ।

    यस्तै, चालु आवको बाँकी अवधिमा बजेट कार्यान्वयनको संशोधित कार्ययोजना बनाई कार्यान्वयन गर्ने एवं कार्य सम्पन्न भएका आयोजनाको बाँकी दायित्व तत्काल भुक्तानी दिने व्यवस्था मिलाइने भएको छ । वैदेशिक सहायताको अनुदान तथा ऋण परिचालन गर्न सबै कार्य पूरा गरी वैदेशिक स्रोतको अधिकतम परिचालन गर्ने र वैदेशिक सहायताको कार्यान्वयनमा देखिएको समस्या समयमै समाधान गरिनेछ ।

    नगद प्रवाहको नियमित विश्लेषण गरी आवश्यकतानुसार बजेटमा अनुमान गरिएको सीमाभित्र आन्तरिक ऋण परिचालन गर्ने सरकारको लक्ष्य छ ।

  • युट्युब च्यानल चलाउनुहुन्छ ? तपाईँले जान्नैपर्ने यी कुरा

    युट्युब च्यानल चलाउनुहुन्छ ? तपाईँले जान्नैपर्ने यी कुरा

    काठमाडाैं । पछिल्लो समयमा एकदमै नाम चलेका ठूला च्यानलहरु ह्याक हुने क्रम फेरि बढेको छ, हिजो मात्रै र्‍यापर भिटेन को च्यानल ह्याक भयो । केही दिन अगाडि एपी वान टीभीकाे युट्युब च्यानल ह्याक भएकाे थियाे ।

    धेरै जसो कलाकार र सर्जकहरुको मुख्य आम्दानीकाे माध्यम युट्युब नै बनेको कारणले पनि समस्या परिसकेपछिको तनाव अत्यन्तै धेरै हुन्छ । ह्याक हुन बाट जोगिन र केही गरी ह्याक भइहाले पनि च्यानल फिर्ता पाउन निम्न कुरामा ध्यान दिनुहाेला ।

    १. आफ्नो Gmail & YouTube मा Two Step Verification On गरिराख्नुस् ।

    २. आफ्नो YouTube Channel मा Recovery email, Recovery Number कुन छ, त्यो Verified छ कि छैन, Recovery email र Mobile Number तपाइँले Access पाउने गरी उपलब्ध छ छैन, एकदमै याद गर्नुहोस्, छैन भने Access प्राप्त गर्न सकिने बनाइहल्नुहोस् ।

    ३. आफ्नो YouTube Channel अरुको मोबाइलमा नखोल्नुस्, खोल्नुभएको छ भने एकचोटी Password
    परिवर्तन गर्नुस, Password परिवर्तन गरेपछि Login छ भने पनि Logout हुन्छ (केही समय अगाडी एकजना चर्चित कलाकारको YouTube ह्याक हुँदा ९ वटा फोनमा Logged in भेटेको थिएँ)।

    ४. कतैबाट आफ्नो YouTube मा भिडियो Upload गराउनुछ भने YouTube Channel मा Manager/Editor Permission दिनुहोस्, ID Password नै दिँदा त्यहाँ केही समस्या पर्यो भने आफ्नो च्यानल समस्यामा पर्छ भन्ने बुझ्नुहोस् ।

    ५. धेरै जसो YouTube Channel ह्याक हुनुको पछाडि Ransomware Attack & Link Click रहेको छ, त्योबाट बच्न आफ्नो Computer मा सकेसम्म Pirated Software नहाल्नुस्, धेरै जसो Pirated Software ले Ransomware बोकेका हुन थालेका छन्, जसले File Lock गरी Save रहेका सबै Password हरु चोर्दछन् अनि Hack गर्दछन् ।

    ६. Password Change केही समयमै गरिराख्नुस्, बिर्सिन्छ जस्तो लागे Password Saver Application हरुमा Save गर्नुहोस्, घरमा नोटमा टिपिराख्नुहोस् ।

    ७. WhatsApp र e-mail मा आउने हजाराैँ डलरकाे विज्ञापन दिने कुरा नपत्याउनुस, त्यसरी सजिलै कसैले विज्ञापन दिँदैनन् उनीहरुको उदेश्य Facebook Page, YouTube Hacking नै हो भन्ने बुझ्नुस् ।

    यी सब कुरा गर्दागर्दै पनि केही गरी Channel Hack भए YouTube Support मा Contact गर्न सकिन्छ, Contact को लागि निम्न विवरण जुनसुकै बेला चाहिनसक्छ भनेर टिपिराख्नुहोस्, यी विवरण अरु बेला पनि काम लाग्छन् ।

    १. आफ्नो YouTube Channel को Channel ID, YouTube.com/ पछाडि सुरु हुने ID ।

    २. Channel Create गरेको मिति, Channel को About Section मा हुन्छ ।

    ३. केही गरी ह्याक भएर अरु भिडियो Upload भए भने त्यो Video ID, आफूले Upload गरेका पछिल्लो भिडियोका Video ID ।

    ४. आफ्नो AdSense को Publisher ID ।
    (यति कुरा चाहिँ कतै Save गरिराख्नुस, अन्य बेलामा पनि चाहिन सक्छ।)

    आफूले प्रयोग गर्ने Device हरुमा Internet Security सहितको Antivirus, सकेसम्म Genuine Operating System प्रयोग गर्नुहोस्, सुरक्षित रहनुहोस् ।