Category: खेल

खेल

  • गलकोट स्पोर्ट्स क्लब जापानले सातौँ सिल्भर रनिङ कप खुल्ला भलिबल प्रतियोगिता गर्ने

    गलकोट स्पोर्ट्स क्लब जापानले सातौँ सिल्भर रनिङ कप खुल्ला भलिबल प्रतियोगिता गर्ने

    जापान । गलकोट स्पोर्ट्स क्लब जापानले आठौँ वार्षिकोत्सवको अवसरमा सातौँ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२२ गर्ने भएको छ ।

    ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मान्यता राखेर स्थापना भएको क्लबले वार्षिक रूपमा गर्दै आएको खुल्ला पुरुष भलिबल प्रतियोगिता अप्रिल १८ तारिक सोमबारका दिन टोकियोको ओता कु सोउगो ताइइकुकानको कामतामा गर्न लागेको महासचिव हिमाल कँडेलले जानकारी दिए ।

    नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेर पनि संरक्षण प्रवर्द्धन र खेलाडी र खेलको विकासका लागि विगत ७ वर्षदेखि निरन्तर रूपमा सञ्चालन गरिँदै आएको यस प्रतियोगिताको प्रथम पुरस्कार ३ लाख १० हजार येन, प्रमाणपत्र सिल्भर कप र मेडल रहेको छ ।

    यसैगरी, द्वितीय पुरस्कारको रूपमा २ लाख १० हजार येन नगद, प्रमाणपत्र कप र मेडल अनि सान्त्वना पुरस्कार दुई टिमलाई ५५ हजार ५५५ येन र प्रमाण पत्रका दरले प्रदान गरिने क्लबका अध्यक्ष डिलाराम निउरेले जानकारी दिए ।

    खुल्ला पुरुष भलिबल प्रतियोगिता रहेकोले नेपालबाट जापानमा आएका तोकिएको नियम पूरा भएका हरेक टिमले अफिसियलसहित १२ जना खेलाडी खेलमा सहभागी हुन पाउने र दर्ता शुल्क चार मान अर्थात् चालिस हजार येन रहेको अध्यक्ष निउरेले बताए ।

    नेपालको राष्ट्रिय खेल भलिबललाई परदेशको भूमिमा रहेर पनि प्रवर्द्धन र विकास गर्नका लागि खुल्ला मैत्रीपूर्ण रनिङ सिल्भर कप आयोजना गर्दै आइरहेको सचिव दिनेश थापाले बताए ।

    सोही कार्यक्रमलाई निरन्तरता दिँदै जापान सरकारबाट कोरोना रोकथाम तथा न्यूनीकरणका लागि तोकिएका सम्पूर्ण मापदण्ड पूरा गरी सातौँ वार्षिकोत्सवसहित प्रतियोगिता सञ्चालन गरिने महासचिव कँडेलले बताए ।

    खेलाडीको हौसला र खेलकुदमार्फत अनुशासनको संस्कृति विकासका लागि बेष्ट प्लेअर, बेष्ट स्पाइकर, बेष्ट सटर, बेष्ट डिफेन्सर, बेष्ट सर्भिससहित ५ विधामा खेलाडीहरूलाई पुरस्कृत गरिने र प्रतियोगिताको टाइसिट मार्च १७ तारिक पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने खेलकुद संयोजक गणेश खत्रीले जानकारी दिए ।

    कार्यक्रम व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि अध्यक्ष निउरेको संयोजकत्वमा मूल आयोजक समिति रहने गरि विभिन्न उपसमिति बनाइ कार्य विभाजनसमेत गरिएको छ । जसमा आर्थिक समिति, प्रचार-प्रसार समिति, हल व्यवस्थापन समिति, खेलाडी व्यवस्थापन, खाना/पानी व्यवस्थापन, अतिथि व्यवस्थापन, रेफ्री/एम्पाएर एवं खेल सामग्री संयोजन उपसमिति रहेका छन् ।

    प्रतियोगिता बिहान ९ बजेदेखि हिगासी कामता ओता सिटी सेन्टरमा सञ्चालन हुनेछ ।

    प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई जापानमा नेपालीहरूद्वारा सञ्चालित मिराइ लाइफ स्वास्थ्य बीमाले मिराइ लाइफ उत्कृष्ट खेलाडीको विशेष पुरस्कार प्रदान गर्ने बताइएको छ ।

  • च्याम्पिन्स लिग फुटबल प्रतियोगिताको फाइनल खेल अब रुसमा नहुने

    च्याम्पिन्स लिग फुटबल प्रतियोगिताको फाइनल खेल अब रुसमा नहुने

    काठमाडाैं । रुसले युक्रेनमाथि आक्रमण गरेपछि च्याम्पिन्स लिग फुटबल प्रतियोगिताको फाइनल खेल रुसमा नहुने भएकाे छ । युरोपेली फुटबलको सबैभन्दा सम्मानित प्रतियोगिताको फाइनल खेल अब फ्रान्समा हुने बीबीसीले जनाएकाे हाे ।

    शुक्रबार आयोजित एउटा बैठकमा यूईएफएले त्यसबारे निर्णय गर्दै फाइनल खेल फ्रान्समा गर्ने निर्णय गरेको हो ।

    यसअघि च्याम्पियन्स लिगकाे फाइनल खेल रुसकाे सेन्ट पिटर्सबर्गमा मे २८ मा हुने कार्यक्रम थियो । रुसले युक्रेनमाथि आक्रमण गरेपछि यूईएफएले च्याम्पियन्स लिगकाे फाइनल खेल हुने स्थान परिवर्तन गरेकाे हाे ।

  • ओमानविरुद्ध नेपाल ९ विकेटले विजयी, ग्लाेबल क्वालिफायरमा तेस्राे स्थानमा

    ओमानविरुद्ध नेपाल ९ विकेटले विजयी, ग्लाेबल क्वालिफायरमा तेस्राे स्थानमा

    काठमाडौं । ओमानविरुद्धकाे खेलमा नेपालले जित हात पारेकाे छ । नेपालले तेस्रो स्थानमा रहेर आईसीसी टी२० ग्लोबल क्वालिफायर सम्पन्न गरेकाे छ ।

    सेमिफाइनलमा पराजित भएको नेपाल ओमानलाई ९ विकेटले हराएर नेपाल तेस्रो भएको हो ।

    ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेपछि ओमानले दिएको ८८ रनको लक्ष्य नेपालले १७.२ ओभर खेल्दै १ विकेट गुमाएर पूरा गरेको हो ।

    भुर्तेलले ५३ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा अविजित ५५ रन बनाए । यस्तै, आरिफ शेखले अविजित २१ रन जोडे ।

    पहिलो विकेटका लागि भुर्तेल र आसिफ शेखले ७.३ ओभरमा ५० रनको साझेदारी गरेका थिए । आसिफ शेख १३ रन बनाएर आउट भए ।

    त्यसअघि मस्कटस्थित अल अमेरात रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको ओमान ८७ रनमै रोकिएको थियो ।

  • ओमानले दियाे नेपाललाई ८८ रनको लक्ष्य

    ओमानले दियाे नेपाललाई ८८ रनको लक्ष्य

    काठमाडौ । आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट एमा ओमानले नेपाललाई ८८ रनको लक्ष्य दिएको छ ।

    ओमानको मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ओभरमा ९ विकेट गुमाएर ८७ रन बनाएको हो ।

    नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने कमल ऐरी, आरिफ शेख, अबिनाश बोहोरा, र सागर ढकालले १–१ विकेट लिए ।

    सेमिफाईनलमा यूएईसँग पराजित भएको नेपालकाे विश्वकप ढाेका बन्द भइसकेकाे छ । आजको खेल जिते नेपालले तेस्रो स्थान पक्का गर्नेछ ।

  • ओमानविरुद्ध फिल्डिङमा नेपाल

    ओमानविरुद्ध फिल्डिङमा नेपाल

    काठमाडौं । ओमानमा जारी आईसिसी टी-२० विश्वकप क्रिकेट छनोटअन्तर्गतकाे खेलमा नेपालले ओमानविरुद्ध फिल्डिङ गरिरहेकाे छ ।

    सेमिफाइनलमा पराजित भएका दुवै टोली तेस्रो स्थानका लागि भिड्न लागेका हुन् । टस जितेर ओमानले ब्याटिङ गरिरहेकाे छ ।

    अन्तिम चारमा नेपालले यूएई र ओमानले आयरल्यान्डसँग हार ब्यहोरेपछि विश्वकपमा छनोट हुन असफल भएका थिए ।

     

  • विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक

    विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक

    काठमाडाैं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र पपुवा न्युनिगीबीच हुने त्रिकोणात्मक एक दिवसीय सिरिज आगामी चैतको पहिलो सातादेखि संयुक्त अरब इमिरेट्समा सुरुआत हुनेछ ।

    उक्त सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यू गिनीसँग खेल्ने छ । नेपाल र पपुवा न्युगिनीबीचको खेल आगामी चैत २ गते युएइको शारजहा क्रिकेट मैदानमा हुनेछ ।

    त्यस्तै नेपालले आफनो दोस्रो खेल युएईसँग चैत ४ गते खेल्नेछ भने तेस्रो खेल युएईविरुद्ध चैत ७ गते खेल्नेछ । नेपालले पपुवा न्युगिनिसँग चैत ८ गते खेल्नेछ । आइसिसी विश्वकप लिग–२ को नेपालले ८ खेलमा ४ खेलमा विजयी भएको छ भने ४ खेलमा पराजित भएको छ ।

    नेपाल ८ अंक जोड्दै अंक तालिकाको छैटाैँ स्थानमा छ । त्यसैगरी ओमानले २३ खेलमा १५ खेलमा जित तथा ७ खेलमा हार बेहोर्दै ३० अंक जोडेको छ । ओमन अंक तालिकाको शीर्ष स्थानमा छ । स्कटल्यान्ड १२ खेलमा ७ मा जित र ३ मा हारसहित १६ अङ्कका साथ दोस्रो स्थानमा छ । अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हारसहित तेस्रो स्थानमा छ ।

    युएई १० खेलमा ५ मा जित र ३ मा हारसहित १२ अंकका साथ चौथो स्थाानमा छ । नामिबिया ९ खेलमा १० अंकका साथ पाँचौं स्थानमा छ । पपुवा न्युगिनी १२ खेलमा १२ मानै हारका साथ अन्तिम स्थानमा छ । सन् २०२३ सम्म चल्ने विश्वकप लिग–२ का शीर्ष तीन टोलीले सोही वर्ष हुने एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउनेछन् ।

  • क्याच छाेडेकाे भन्दै बलरले सहकर्मीकाे गाला चड्काएपछि… (भिडियाेसहित)

    क्याच छाेडेकाे भन्दै बलरले सहकर्मीकाे गाला चड्काएपछि… (भिडियाेसहित)

    काठमाडाैं । लाहोरस्थित गद्दाफी स्टेडियममा पाकिस्तानका तीव्र गतिका बलर ह्यारिस रउफले क्याच छुटाएको भन्दै आफ्ना एक साथीमाथि थप्पड हानेका छन् ।

    पाकिस्तान सुपर लिगअन्तर्गत मंगलबार भएको खेलमा रउफले आफ्ना साथी कमरान घुल्मनलाई थप्पड हानेका हुन् । पेशावर जाल्मीविरुद्धकाे खेलमा ओपनर हजरातुल्लाह जाजाईले प्रहार गरेको बलमा घुल्मनले क्याच छाडेका थिए।

    लाहोर कालान्डर्सका रउफले आफूले बलिङ गर्दा विपक्षी टोलीका खेलाडीको क्याच नसमाएको रिसमा घुल्मनलाई थप्पड हानेका हुन् ।

    त्यही ओभरमा रउफले अर्का ब्याट्सम्यानलाई आउट गरे । विपक्षी खेलाडी आउट भएपछि खुसीयाली मनाउन पुगेका घुल्मनलाई रउफले थप्पड हानेका हुन् ।

    यो घटनाले उनीहरुको सम्बन्धमा कुनै नराम्रो असर नपरेको पाकिस्तानी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । क्रिकेटका जानकारहरुले भने रउफले देखाएको व्यवहारको आलोचना गरेका छन् ।

  • टुट्याे नेपालकाे विश्वकप खेल्ने सपना, यूएईसँग ६८ रनले पराजित

    टुट्याे नेपालकाे विश्वकप खेल्ने सपना, यूएईसँग ६८ रनले पराजित

    काठमाडौं । आइसिसी टी-२० विश्वकप छनोटको निर्णायक खेलमा यूएईसँग पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना टुटेकाे छ ।

    मंगलबार ओमानमा भएको विश्वकप छनोटको सेमिफाइनलमा युएईले नेपाललाई ६८ रनले पराजित गरेपछि नेपालकाे विश्वकप खेल्ने सपना चकनाचुर भएकाे हाे । जितपछि यूएई भने आगामी अक्टोबरमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट भएको छ ।

    एक सय ७६ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ७ रन जोड्यो ।

    नेपालका दीपेन्द्रसिंह ऐरी ३८, ज्ञानेन्द्र मल्ल २० र आरिफ शेखले ११ रन बनाएर आउट भए । आसिफ शेख र लोकेश बमले खाता खोल्न सकेनन् । कुशल भुर्तेल ७ रन जोडेर आउट भए ।

    टस जितेर पहिला ब्याटिङ रोजेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ७५ रन जोडेको थियो । यूएईका मुहम्मद वासिमले सर्वाधिक ७० र अरविन्दले ४६ रन बनाएका थिए ।

    समूहगत चरणमा नेपालले तीनवटा खेल जितेको थियो । नेपालले समूह चरणमा ओमानलाई ३९ रन, फिलिपिन्सलाई १ सय ३६ रन र क्यानडालाई ८ विकेटले हराएको थियो । तर यूएईसँगकाे खेलमा नेपालले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्न नसक्दा विश्वकपकाे ढाेकामा पुगेर फर्किन बाध्य भयाे ।

  • नेपालकाे कमजाेर ब्याटिङ, नेपालले गुमायाे तीन ओभरमा तीन विकेट

    नेपालकाे कमजाेर ब्याटिङ, नेपालले गुमायाे तीन ओभरमा तीन विकेट

    काठमाडाैं । युएईले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले सुरूआती तीन ओभरमै तीन विकेट गुमाएको छ ।

    ओपनर आशिफ शेख र लोकेश बम शुन्यमा आउट हुँदा कुशल भुर्तेलले ७ रन जोडे । ओपनर आशिफ शेख पहिलो ओभरमै शून्य रनमा आउट भए । लगत्तै आएका लोकेश बम डक आउट भए ।

    युएईले नेपालसामु १७६ रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ ।

    ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा टस जितेर ब्याटिङ गरेकाे यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएकाे हाे । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेकाे छ ।

  • यूएईविरुद्ध नेपालले पायाे १७६ रनकाे चुनाैतिपूर्ण लक्ष्य

    यूएईविरुद्ध नेपालले पायाे १७६ रनकाे चुनाैतिपूर्ण लक्ष्य

    काठमाडाैं । नेपालले आइसिसी टि२० विश्वकप छनोट ए को पहिलो सेमिफाइनल खेलमा युएईले नेपालसामु १७६ रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ ।

    ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा टस जितेर ब्याटिङ गरेकाे यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएकाे हाे ।

    यूएईका लागि मोहम वसिमले विस्फोटक ब्याटिङ गर्दै ४८ बलमा सर्वाधिक ७० रन बनाए । त्यस्तै, भ्रित्य अरभिन्दले पनि ४६ रनको योगदान दिए भने मोहमद उसमानले १७ रन बनाए ।

    नेपालका लागि जितेन्द्र मुखिया र अविनास बोहराले ३–३ विकेट लिए । कप्तान सन्दीप लामिछानले १ विकेट लिए ।

    आजकाे खेलमा नेपालले यूएईलाई हराए आगामी अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपमा खेल्न पाउनेछ । यसअघि नेपाल पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको थियो ।