क्याच छाेडेकाे भन्दै बलरले सहकर्मीकाे गाला चड्काएपछि… (भिडियाेसहित)

काठमाडाैं । लाहोरस्थित गद्दाफी स्टेडियममा पाकिस्तानका तीव्र गतिका बलर ह्यारिस रउफले क्याच छुटाएको भन्दै आफ्ना एक साथीमाथि थप्पड हानेका छन् ।

पाकिस्तान सुपर लिगअन्तर्गत मंगलबार भएको खेलमा रउफले आफ्ना साथी कमरान घुल्मनलाई थप्पड हानेका हुन् । पेशावर जाल्मीविरुद्धकाे खेलमा ओपनर हजरातुल्लाह जाजाईले प्रहार गरेको बलमा घुल्मनले क्याच छाडेका थिए।

लाहोर कालान्डर्सका रउफले आफूले बलिङ गर्दा विपक्षी टोलीका खेलाडीको क्याच नसमाएको रिसमा घुल्मनलाई थप्पड हानेका हुन् ।

त्यही ओभरमा रउफले अर्का ब्याट्सम्यानलाई आउट गरे । विपक्षी खेलाडी आउट भएपछि खुसीयाली मनाउन पुगेका घुल्मनलाई रउफले थप्पड हानेका हुन् ।

यो घटनाले उनीहरुको सम्बन्धमा कुनै नराम्रो असर नपरेको पाकिस्तानी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । क्रिकेटका जानकारहरुले भने रउफले देखाएको व्यवहारको आलोचना गरेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१