काठमाडौं । आइसिसी टी-२० विश्वकप छनोटको निर्णायक खेलमा यूएईसँग पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना टुटेकाे छ ।
मंगलबार ओमानमा भएको विश्वकप छनोटको सेमिफाइनलमा युएईले नेपाललाई ६८ रनले पराजित गरेपछि नेपालकाे विश्वकप खेल्ने सपना चकनाचुर भएकाे हाे । जितपछि यूएई भने आगामी अक्टोबरमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट भएको छ ।
एक सय ७६ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ७ रन जोड्यो ।
नेपालका दीपेन्द्रसिंह ऐरी ३८, ज्ञानेन्द्र मल्ल २० र आरिफ शेखले ११ रन बनाएर आउट भए । आसिफ शेख र लोकेश बमले खाता खोल्न सकेनन् । कुशल भुर्तेल ७ रन जोडेर आउट भए ।
टस जितेर पहिला ब्याटिङ रोजेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ७५ रन जोडेको थियो । यूएईका मुहम्मद वासिमले सर्वाधिक ७० र अरविन्दले ४६ रन बनाएका थिए ।
समूहगत चरणमा नेपालले तीनवटा खेल जितेको थियो । नेपालले समूह चरणमा ओमानलाई ३९ रन, फिलिपिन्सलाई १ सय ३६ रन र क्यानडालाई ८ विकेटले हराएको थियो । तर यूएईसँगकाे खेलमा नेपालले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्न नसक्दा विश्वकपकाे ढाेकामा पुगेर फर्किन बाध्य भयाे ।