Tag: भारत

  • भारतकाे सहयोगमा काभ्रेमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको निर्माण हुने

    भारतकाे सहयोगमा काभ्रेमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको निर्माण हुने

    काठमाडाैं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल सरकारका माननीय गृहमन्त्री बालकृष्ण खाँणले काभ्रेपलाञ्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणका लागि संयुक्त रुपमा भूमि पूजन सम्पन्न गरेका छन् ।

    यस परियोजनाको शिलान्यास सन् २०१४ नोभेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नेपालका सम्माननीय प्रधानमन्त्री सुशील कोइराला र प्रधानमन्त्री मोदीले गरेका थिए । भारत सरकारको १ हजार करोड नेपाली रुपैयाँ अनुदानमा निर्माण हुने यो परियोजना भारत सरकारको सहयोगमा नेपालमा निर्माण भएका ठूला परियोजनाहरु मध्येकै एक हो ।

    यो कार्यक्रम भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” कै एक हिस्साको रुपमा रहेको छ ।

    यस परियोजनाको कुल क्षेत्रफल करिब ८४ एकड रहकोमा क्याम्पस भवनको निर्माण १.१० लाख वर्गमिटरको क्षेत्रफल हुनेछ । स्थानीय वास्तुकला र आधुनिक प्रविधिको सम्मिश्रण गरि प्रतिष्ठानका भवनहरुको निर्माण गरिनेछ ।

    दिगो विकास मापदण्ड अनुरुप निर्माण हुने यो परियोजना वातावरण एवम् उर्जामैत्री हुनेछ । आधुनिक सेवा सुविधा सहित निर्माण हुने यस संरचनाले नेपाल प्रहरीलाई अत्याधुनिक प्रशिक्षण पूर्वाधार प्रदान गर्नेछ ।

    कार्यक्रममा बोल्दै भारतीय राजदूत श्रीवास्तवले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्यान्वयन टोलीले सबैको साथ र सहयोगमा निर्धारित समय भित्रै निर्माण कार्य सम्पन्न गर्ने विश्वास व्यक्त गरे । साथै, उनले भारत र नेपालबीचको घनिष्ठ सम्बन्धको अर्को महत्वपूर्ण कोशेढुङ्गाको रुपमा रहेको यस प्रतिष्ठित परियोजनाको सफल कार्यान्वयनका लागि भारत सरकारको पूर्ण सहयोग रहने बताए ।

  • सडक किनारामा सुतिरहेका मानिसमाथि चढ्यो ट्रक, चार जनाको मृत्यु

    सडक किनारामा सुतिरहेका मानिसमाथि चढ्यो ट्रक, चार जनाको मृत्यु

    नयाँ दिल्ली । एक अज्ञात तीब्र गतिको ट्रकले दिल्लीमा अबेर राती स्थानीय समयानुसार १ बजेर ५१ मिनेटमा डिभाइडरमा सुतिरहेका चार जनालाई किचेको छ ।

    यो दुर्घटनामा चारजनाको मृत्यु हुनुका साथै दुई अन्य गम्भीर रुपमा घाइते भएका छन् ।

    ट्रकको ठक्करपछि दुईजनाको घटनास्थलमा नै मृत्यु भएको हो भने अन्य दुईको उपचारको क्रममा मृत्यु भएको हो ।

    तीब्र गतिको ट्रक दिल्लीको सीमापुरीको डिटिसी डिपोट रेड लाइटलाई पार गर्ने कोसिस गरिरहेका बेला दुर्घटना भएको प्रहरीले जनाएको छ ।

  • भारतमा माेदी नेतृत्वकाे सरकारकाे १० याेजना, जसले आम नागरिकमा खुशी ल्यायो

    भारतमा माेदी नेतृत्वकाे सरकारकाे १० याेजना, जसले आम नागरिकमा खुशी ल्यायो

    काठमाडाैं । सन् २०१४ मा पहिलो पटक भारतीय जनता पार्टी (भाजपा) काे तर्फबाट नरेन्द्र माेदी प्रधानमन्त्री बनेका थिए । त्यसपछि दाेस्राे पटक माेदी सन् २०१९ मा फेरि पनि प्रधानमन्त्री बने ।

    ८ वर्षको कार्यकालमा माेदी नेतृत्वकाे भाजपा सरकारले भारतमा नोटबन्दी, तीन तलाक, धारा ३७० र राम मन्दिर जस्ता ठूला निर्णय लिएको छ । यसका अलावा मोदी नेतृत्वकाे सरकारले भारतलाई ठूला योजनाको उपहार पनि दिएकाे छ । यस्ता छन् भारतमा माेदी सरकारले ल्याएका १० याेजना :

    आयुष्मान भारत योजना

    आयुष्मान भारत योजना २०१८ मा सुरु भएको थियो । यस योजनाको उद्देश्य देशका गरिब र आर्थिक रूपमा पिछडिएका वर्गका १० करोडभन्दा बढी परिवारलाई स्वास्थ्य बीमा उपलब्ध गराउनु रहेको थियाे । यस योजना अन्तर्गत भारत सरकारले देशका गरिब जनतालाई वार्षिक ५ लाख रुपैयाँको बीमा प्रदान गर्छ । याे याेजना तिनीहरुका लागि उपयुक्त छ जसले आफ्नाे स्वास्थ्य समस्याकाे उपचार पनि गर्न सक्दैनन् ।

    पीएम किसान सम्मान निधि(काेष) योजना

    प्रधानमन्त्री नरेन्द्र मोदीले साना किसानहरूका लागि पीएम किसान सम्मान निधि योजना सुरु गरेका छन् । यो योजनाको लाभ २ हेक्टरभन्दा कम जग्गा भएका किसानलाई दिइएको छ । यस योजना अन्तर्गत सरकारले किसान परिवारलाई वार्षिक ६ हजार रुपैयाँ दिइरहेकाे छ, जसलाई प्रत्येक चार महिनामा २–२ हजार रुपैयाँ किस्ताका रूपमा दिइन्छ । यो पैसा सिधै किसानको खातामा पुग्छ ।

    उज्ज्वला योजना

    उज्ज्वला योजना अन्तर्गत, ठूलो संख्यामा गरीब परिवारहरूलाई नि:शुल्क ग्यास जडान वितरण गरिएको छ । पहिले दाउरा बालेर खाना पकाउने घरमा अहिले यो योजनामार्फत सिलिन्डर पुगेको छ । सन् २०१६ देखि लागू भएको यो योजनाबाट धेरै मानिस लाभान्वित भएका छन् । यस योजनाको उद्देश्य ग्रामीण महिलाहरूलाई धुवाँबाट स्वतन्त्रता दिनु हो । यस योजना अन्तर्गत अहिलेसम्म करोडौँ ग्यास जडानहरू वितरण भइसकेका छन् ।

    प्रधानमन्त्री जन-धन योजना

    प्रधानमन्त्री जन-धन योजना २०१४ मा सुरु भएको थियो । यसअन्तर्गत देशका प्रत्येक परिवारलाई बैंकिङ सुविधा उपलब्ध गराउने काम भइरहेको छ । यस योजनामा परिवारका दुई सदस्यले शून्य ब्यालेन्समा खाता खोल्न सक्छन् ।

    जन–धन खातामा पैसा जम्मा गर्न वा निकाल्न कुनै शुल्क लाग्दैन। याे याेजना अन्तर्गत खाता खोल्नको लागि आधार कार्ड, प्यान कार्ड, ड्राइभिङ लाइसेन्स र पासपोर्ट साइजको फोटो आवश्यक छ । यसमा १० वर्षभन्दा माथिका व्यक्तिले बैंक खाता खोल्न सक्नेछन् । खाता खोल्नेहरूले रुपे डेबिट कार्ड पनि पाउनेछन् । साथै, एटीएम कार्डमा २ लाखको बीमा पनि उपलब्ध छ । याेसहित ३० हजार रुपैयाँको जीवन बीमा पनि उपलब्ध छ । याे याेजना अन्तर्गत अगस्ट २०२२ सम्म ४६.२५ करोड खाता खोलिएको छ ।

    प्रधानमन्त्री गरीब कल्याण अन्न योजना

    कोरोना महामारीका कारण सन् २०२० मा लकडाउनको समयमा जनतालाई खाद्यान्न उपलब्ध गराउन मोदी सरकारले प्रधानमन्त्री गरीब कल्याण अन्न योजना ल्याएको हाे । यो योजनामा प्रतिव्यक्ति ५ किलो रासन प्रति महिना नि:शुल्क दिइन्छ । यस योजनाबाट देशका ८० करोडभन्दा बढी जनता लाभान्वित भएका छन् । यो योजना खाद्य सुरक्षा ऐन अन्तर्गत सुरु भएको हो ।

    प्रधानमन्त्री आवास योजना

    प्रधानमन्त्री आवास योजना सन् २०१५ मा सुरु भएको थियो । यस योजनाको उद्देश्य सहरमा बस्ने गरिबहरूका लागि २ करोड घर निर्माण गर्ने हो । यसका साथै, सरकारले घर निर्माणका लागि आर्थिक सहयोग पनि गर्दै आएको छ । यस योजना अन्तर्गत घर कर्जाको ब्याजमा अनुदान दिइन्छ । यस अन्तर्गत प्रत्येक परिवारले २ लाख ६० हजार रुपैयाँको लाभ पाउनेछन् । यस योजना अन्तर्गत प्राप्त रकम र अनुदान सिधै सेवाग्राहीकाे बैंक खातामा आउँछ, जुन आधार कार्डसँग जोडिएको छ।

    प्रधानमन्त्री जीवन ज्योति र सुरक्षा बीमा योजना

    केन्द्र सरकारले दुईवटा बीमा योजना सुरु गरेको छ । यी योजनाहरूमा प्रधानमन्त्री सुरक्षा बीमा योजना र प्रधानमन्त्री जीवन ज्योति बीमा योजना समावेश छन् । प्रधानमन्त्री सुरक्षा बीमा योजनामा, तपाईंले प्रतिवर्ष मात्र १२ रुपैयाँको प्रिमियम तिरेर २ लाख रुपैयाँसम्म प्राप्त गर्न सक्नुहुन्छ । साथै, तपाईंले प्रधानमन्त्री जीवन ज्योति बीमा योजना अन्तर्गत वार्षिक ४३६ रुपैयाँ तिरेर २ लाखको बीमा प्राप्त गर्न सक्नुहुन्छ।

    प्रधानमन्त्री मुद्रा ऋण योजना

    प्रधानमन्त्री मुद्रा योजनाको ७ वर्ष पूरा भएको छ । यस योजना अन्तर्गत गैर-कर्पोरेट, गैर-कृषि, साना वा लघु उद्यमीहरूसँग आवद्ध व्यक्तिहरूलाई १० लाख रुपैयाँसम्म ऋण दिइन्छ । यो ऋण व्यक्तिगत व्यवसाय सुरु गर्न दिइएको हो । यसका साथै, व्यवसाय बढाउन यो योजना अन्तर्गत कर्जाको सुविधा पनि दिइएको छ । शिशु, किशोर र तरुण वर्गमा ऋण दिइन्छ । शिशु योजना अन्तर्गत ५० हजार, किशोर योजना अन्तर्गत ५ लाख र तरुण योजना अन्तर्गत ५ देखि १० लाख रुपैयाँसम्म दिइन्छ ।

    सुकन्या समृद्धि योजना

    ‘बेटी बचाओ-बेटी पढाओ’ अभियानअन्तर्गत देशका छोरीहरूलाई आत्मनिर्भर बनाउन र उनीहरूलाई थप प्रगति गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले जनवरी २०१५ मा सुकन्या समृद्धि योजना सुरु गरेका थिए ।

    पैसाका कारण आफ्ना छोराछोरीलाई पढाउन नसकेका परिवारहरू, विशेष गरी केटीहरूका चिन्तालाई सम्बोधन गर्न सरकारले सुकन्या समृद्धि योजना ल्याएको हो । यसमा लगानी गरेर छोरीको पढाइदेखि विवाहसम्मको खर्चमा पैसा थप्न सकिन्छ । सुकन्या समृद्धि योजना अन्तर्गत, १० वर्ष मुनिका छोरीहरूको खाता उनीहरूको आमाबाबुको नाममा मात्र खोलिन्छ । यो योजना अन्तर्गत हुलाक कार्यालय वा बैंकमा गएर खाता खोल्न सकिन्छ । सुकन्या समृद्धि योजना २१ वर्षमा परिपक्व हुन्छ । तर, बालिकाको १८ वर्ष पुगेपछि पढाइका लागि यस खाताबाट रकम झिक्न सकिने भए पनि २१ वर्षपछि मात्रै पूरै रकम पाइन्छ ।

    प्रधानमन्त्री श्रम योगी मानधन योजना

    प्रधानमन्त्री श्रम योगी मानधन योजना देशको कम आय वर्ग अर्थात् महिनामा १५ हजारभन्दा कम आयस्राेत भएका मानिसहरुका लागि ल्याइएकाे याेजना हाे । याे योजना भारतीय जीवन बीमा निगमसँगको सहकार्यमा सञ्चालित छ ।

    याे योजना असंगठित क्षेत्रमा काम गर्ने मानिसहरूका लागि पेन्सन ग्यारेन्टी योजना हो । यो योजना अन्तर्गत ६० वर्षपछि कामदारले न्यूनतम ३ हजार रुपियाँ पेन्सन पाउनेछन् ।

    –भारतीय सञ्चारमाध्यमकाे सहयाेगमा । 

  • यस्ताे रह्यो भारतीय सेनाध्यक्ष मनोज पाण्डेकाे नेपाल भ्रमण

    यस्ताे रह्यो भारतीय सेनाध्यक्ष मनोज पाण्डेकाे नेपाल भ्रमण

    काठमाडाैं । भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले आफ्नो पाँच दिने नेपाल भ्रमण सफलतापूर्वक सम्पन्न गरेका छन् । जनरल पाण्डेले नेपाली सेनाको निमन्त्रणामा नेपालको भ्रमण गरेका हुन् ।

    जनरल पाण्डेले मिति भदाै २२ गते पोखरास्थित भारतीय पेन्सन वितरण कार्यालयको भ्रमण गरे । त्यहाँ उनले भारतीय सेनाका भूतपूर्व सैनिकलाई सम्बोधन गर्नुका साथै वीरता अवार्डका विजेतालाई सम्मान गरे । जनरल पाण्डेकी धर्मपत्नी श्रीमती अर्चना पाण्डेले पनि उक्त कार्यक्रममा उपस्थित वीर नारीलाई सम्मान गरेकी थिइन् ।

    जनरल पाण्डेले गोर्खा सैनिकको वीरता, साहस र समर्पणको गरेका थिए ।त्यही दिन बिहान उनले नेपाली सेनाको पोखरामा अवस्थित मध्य कमाण्ड हेडक्वार्टरको भ्रमण गरी त्यहाँ रहेका कर्मचारीसँग अन्तरक्रिया गरेका थिए ।

    सेनाध्यक्ष पाण्डेले भूतपूर्व सैनिक योगदान स्वास्थ्य योजना (ईसीएचएस) अन्तर्गतका पोलिक्लिनिकलाई तीनवटा एम्बुलेन्स (मोबाइल मेडिकल युनिट) हस्तान्तरण गरे । यी एम्बुलेन्स नेपालमा रहेका तीन लाख भन्दा बढी भारतीय सेनाका भूतपूर्व सैनिक र उनीहरुका परिवारलाई सहजरुपमा स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुर्‍याउनुका साथै दुर्गम क्षेत्रका बासिन्दाका लागि विशेष उपयोगीसमेत हुनेछ ।

    जनरल पाण्डेलाई गत सोमबार नेपालका सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेकी थिइन् । नेपाली समकक्षी जनरल प्रभुराम शर्मालगायत जनरल पाण्डेले नेपालका सम्माननीय राष्ट्रपति र सम्माननीय प्रधानमन्त्री एवम् रक्षा मन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए ।

    नेपाल बसाइका क्रममा उनले नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरी विद्यार्थी तथा कर्मचारीलाई सम्बोधन पनि गरिन् । उनले देशबीचको द्विपक्षीय सहकार्य अनुरुप, जनरल पाण्डेले नेपाली सेनालाई साइमुलेटर र हलुका सवारी साधनलगायतका तालिम उपकरण पनि दिएका थिए ।

  • भारतले दियो करिब २२ करोड रुपैयाँ बराबरको सैन्य सामाग्री

    भारतले दियो करिब २२ करोड रुपैयाँ बराबरको सैन्य सामाग्री

    काठमाडौं । भारतले करिब २२ करोड रुपैयाँ बराबरको विभिन्न सैन्य सामाग्री नेपाललाई हस्तान्तरण गरेको छ ।

    नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजना गरिएको एक कार्यक्रमबीच ती सैन्य सामाग्री प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेका हुन् ।

    ‘भारतीय स्थल सेनाध्यषले करिव २२ करोड रुपैयाँको सैन्य सामाग्री नेपाली सेनालाई हस्तान्तरण गर्नु भएको छ,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले भने ।

    प्रवक्ता सिलवालका अनुसार भारतीय स्थल सेनाध्यक्षले आज १० वटा माइन प्रोटेक्टीभ भेइकल (एमपीभी), ४ वटा घोडा, मेडिकल उपकरण र मेन्टीनेन्स स्पेयर्स पार्टस नेपाली सेनालाई हस्तान्तरण गरेका हुन् ।

    आज उपलब्ध गरिएका करिव २२ करोडको सैन्य सामाग्रीमा ६० प्रतिशत (१३ करोड २० लाख रुपैयाँ) भारतको अनुदान सहयोगमा प्राप्त भएको हो भने ४० प्रतिशत (८ करोड ८० लाख रुपैयाँ) मूल्य नेपाल सरकारले व्यहोरोको छ ।

    दुई देशबीचको सुरक्षा संयन्त्रको बैठकमा भएको निर्णय अनुसार ती सामाग्री नेपाललाई भारतले उपलब्ध गरेको हो ।

    पाँच दिने नेपाल भ्रमणको सिलसिलामा भारतीय स्थल सेनाध्यक्ष पाण्डे आइतबार काठमाडौं आइपुगेका हुन् ।

  • भारतीय स्थल सेनाध्यक्ष आज नेपाल आउँदै

    भारतीय स्थल सेनाध्यक्ष आज नेपाल आउँदै

    काठमाडौं । भारतीय सेनाका स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे पाँच दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदै छन् ।

    प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पाँच सदस्यीय भ्रमणदलको नेतृत्व गदै उनी आज नेपाल आउन लागेका हुन् ।

    भ्रमणका दौरान भारतीय सेनाध्यक्ष पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित विर स्मारकमा श्रद्धाञ्जली अर्पण र जङ्गी अड्डामा सम्मान गारत निरीक्षण गर्ने छन् ।

    उनले प्रधान सेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप प्रदान हुने विविध सामग्रीहरुको हस्तान्तरण कार्यक्रम लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया र मध्य कमाण्ड मुख्यालयको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

    यस्तै उनले भ्रमणको बेला राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री तथा रक्षा मन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नेछन् ।

    भ्रमणको बेला परम्परा अनुसार भारतीय सेनाध्यक्ष जनरल पाण्डेलाई राष्ट्रपति भण्डारीले एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नेछिन् ।

  • भारत सरकारको सहयोगमा रुपन्देहीमा निर्मित विद्यालय भवनको उद्घाटन

    भारत सरकारको सहयोगमा रुपन्देहीमा निर्मित विद्यालय भवनको उद्घाटन

    काठमाडाैं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीमा निर्माण भएकाे विद्यालय भवनकाे उद्घाटन गरेका छन् ।

    रोहिणी गाउँपालिका, धकधइमा रहेकाे श्री राम नरेश यादव आदर्श माध्यमिक विद्यालयका लागि निर्माण गरिएकाे विद्यालय तथा प्रयोगशाला भवनकाे उद्घाटन गरिएकाे हाे ।

    भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा २.०९ करोड रुपैयाँकाे लागतमा जिल्ला समन्वय समिति रुपन्देहीले उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा यस परियोजनाको कार्यान्वयन गरेको हो ।

    यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो ।

    सन् २००३ यता भारतले नेपालमा ५३२ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७५ वटा परियोजना सम्पन्न भइसकेका छन् ।

  • ध्वस्त भयाे तीन सय कराेडकाे ट्वीन टावर, धुवाँमा डुब्याे नाेएडा

    ध्वस्त भयाे तीन सय कराेडकाे ट्वीन टावर, धुवाँमा डुब्याे नाेएडा

    काठमाडाैं । भारतकाे राजधानी नयाँदिल्लीसँग जोडिएको उत्तर प्रदेशको नोएडाको सेक्टर ९३ ए मा रहेको विवादास्पद सुपरटेक ट्विन टावर भत्काइएको छ ।

    ३७०० किलाेग्राम विष्फोटक पदार्थ प्रयोग गरी उक्त भवन ध्वस्त पारिएको हाे । केही समयअघिसम्म कुतुबमिनारमाथि जुम्ल्याहा टावर देखिन्थ्यो, जुन अहिले भग्नावशेषमा परिणत भएको छ ।

    ट्विन टावरहरू ढलेपछि धुलोको ठूलो बादल उठेकाे छ । करिब दुई घण्टासम्म धुलोको बादल हावामा रहने बताइएको छ ।

    ध्वस्त पारिएका यी बिल्डिङलाई एपेक्स र केएन नामले चिनिन्थ्याे । याे बिल्डिङ ३० तलाकाे थियाे । यसकाे उचाइ ३२० फिटभन्दा बढी थियो ।

    सावधानीलाई ध्यानमा राखेर भवन नजिक बसोबास गर्ने मानिसलाई विस्थापित गरेर भवन भत्काइएकाे हाे ।  विवादास्पद याे भवन सर्वाेच्च अदालतकाे आदेशपछि भत्काइएकाे हाे ।

    गत वर्ष भारतको सर्वोच्च अदालतले मापदण्ड मिचेर बनाइएका ती दुइटा भवन भत्काउन आदेश दिएको थियो । न्यायाधीशद्वय डि वाई चन्द्रचुद र एम आर साहको संयुक्त इजलासले निर्माण गरेकाे सुपरटेक लिमिटेड ग्रुपकै खर्चमा भवन भत्काउन आदेश दिएको हो ।

    यसअघि सन् २०१४ मा अलाहवाद उच्च अदालतले पनि ती दुई भवन भत्काउन आदेश दिएको थियो । उक्त आदेशविरूद्ध भवन बनाउने कम्पनी सुपरटेक सर्वोच्च अदालत गएको थियो । सर्वोच्चले सरकारी अधिकारीहरूसँगको मिलेमतोमा मापदण्ड मिचेर बनाइएका भवन भत्काउने अलाहवाद अदालतको आदेशलाई सदर गरेको हो ।

    सर्वोच्चले ती भवनमा फ्ल्याट किनेका मानिसहरूलाई वार्षिक १२ प्रतिशत ब्याज जोडेर रकम फिर्ता गर्न पनि आदेश दिएको छ । ती दुई टावरमा झन्डै ८५० फ्ल्याट थिए । सुपरटेकको अवैधानिक निर्माणविरूद्ध मुद्दा लडेको रेसिडेन्ट्स वेलफेयर एसोसियसनलाई २ करोड भारु तिर्न पनि अदालतले भनेको छ ।

    सुपरटेकको एमराल्ड कोर्ट प्रोजेक्टअन्तर्गत ती दुई भवनहरू बनाइएका थिए । उक्त प्रोजेक्टअन्तर्गत उक्त कम्पनीले नजिकै अरू पनि भवनहरू पनि बनाएको थियो । ती भवनमा फ्ल्याट किनेकाहरूले सुरूको योजनामा हुँदै नभएका दुई नयाँ भवन पछि बनाइएको र तिनले आफ्नो घरमा आउने प्रकाश र हावा छेक्ने गरेकाे भनि मुद्दा हालेका थिए ।

  • ७५औँ स्वतन्त्रता दिवसमा माेदीकाे सम्बाेधन, भ्रष्टाचार र वंशवाद भारतका दुई शत्रु

    ७५औँ स्वतन्त्रता दिवसमा माेदीकाे सम्बाेधन, भ्रष्टाचार र वंशवाद भारतका दुई शत्रु

    नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रष्टाचार र वंशवादविरुद्धको लडाइँ घोषणा गर्दै यसलाई भारतले सामना गरिरहेको शत्रु बताएका छन् । स्वतन्त्रता दिवसको अवसरमा लाल किल्लाको प्रांगणमा देशवासीका नाममा सम्बोधन गर्दै भ्रष्टाचार र वंशवाद अन्त्यमा जोड दिए ।

    भ्रष्टाचार नियन्त्रण गर्न जनतासँग सहकार्यको आवश्यक रहेको उनले बताए । भ्रष्टाचारलाई निरुत्साहित गर्नुपर्छ । देशबाट भागेका व्यक्तिको सम्पत्ति जफत गर्ने प्रयास गरिरहेका छौँ । भ्रष्टाचारविरुद्ध लड्न सहयोग गरिदिनुहुन सबैमा अनुरोध गर्दछु,’ उनले भने ।

    त्यस्तै, उनले नाताबादबारे पनि चर्चा गरे ।

    ‘भाइ–भतिजावाद र परिवारवाद राजनीतिमा मात्र सीमित छैन । हामीले यसलाई संस्था र खेलकुदबाट पनि निरुत्साहित गर्न आवश्यक छ । हामीले यसविरुद्ध क्रान्ति थाल्नुपर्छ । यो हाम्रो सामाजिक दायित्व हो । हामीलाई पारदर्शिता चाहिन्छ’ उनले भने ।

    भारतले आज आफ्नो ७५औँ स्वतन्त्रता दिवस मनाइरहेकाे छ । यसको नेतृत्व प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका छन् ।

    -तस्बिर : पीटीआई

  • शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु

    शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु

    नयाँ दिल्ली । भारतको राजस्थानमा दलित समुदायका एक बालकको शिक्षकका लागि राखिएको भाँडाबाट पानी पिएको भन्दै विद्यालयका शिक्षकले कुटपिट गर्दा मृत्यु भएको छ । नौ वर्षीय बालकको शनिबार मृत्यु भएको हो ।

    प्रहरीले दोषी शिक्षकलाई पक्राउ गरी हत्या अभियोग लगाएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ । उक्त दुःखदायी घटना जालोर जिल्लाको सायला गाउँको एक निजी विद्यालयमा जुलाई २० मा भएको थियो ।

    कुटाइबाट आँखा र कानमा गम्भीर चोट लागेका बालकलाई उपचारका लागि करिब ३०० किलोमिटर टाढा अहमदाबाद लगिएको थियो । बालकको उपचारको क्रममा अस्पतालमा शनिबार मृत्यु भएको थियो । द्वन्द्व चर्किने आशंकामा उक्त क्षेत्रमा इन्टरनेट बन्द गरिएको छ ।

    मुख्यमन्त्री अशोक गहलोतले घटनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे तत्काल छानबिन गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् । ‘पीडित परिवारलाई जतिसक्दो चाँडो न्याय सुनिश्चित गरिनेछ । मुख्यमन्त्री राहत कोषबाट परिवारलाई ५ लाख भारु दिइनेछ’, उनले ट्वीट गरे ।

    पीडितको पोस्टमार्टम गर्न अहमदाबादमा एउटा प्रहरी टिम पठाइएको छ ।