• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

भारतले दियो करिब २२ करोड रुपैयाँ बराबरको सैन्य सामाग्री

काठमाडौं । भारतले करिब २२ करोड रुपैयाँ बराबरको विभिन्न सैन्य सामाग्री नेपाललाई हस्तान्तरण गरेको छ ।

नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजना गरिएको एक कार्यक्रमबीच ती सैन्य सामाग्री प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेका हुन् ।

‘भारतीय स्थल सेनाध्यषले करिव २२ करोड रुपैयाँको सैन्य सामाग्री नेपाली सेनालाई हस्तान्तरण गर्नु भएको छ,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले भने ।

प्रवक्ता सिलवालका अनुसार भारतीय स्थल सेनाध्यक्षले आज १० वटा माइन प्रोटेक्टीभ भेइकल (एमपीभी), ४ वटा घोडा, मेडिकल उपकरण र मेन्टीनेन्स स्पेयर्स पार्टस नेपाली सेनालाई हस्तान्तरण गरेका हुन् ।

आज उपलब्ध गरिएका करिव २२ करोडको सैन्य सामाग्रीमा ६० प्रतिशत (१३ करोड २० लाख रुपैयाँ) भारतको अनुदान सहयोगमा प्राप्त भएको हो भने ४० प्रतिशत (८ करोड ८० लाख रुपैयाँ) मूल्य नेपाल सरकारले व्यहोरोको छ ।

दुई देशबीचको सुरक्षा संयन्त्रको बैठकमा भएको निर्णय अनुसार ती सामाग्री नेपाललाई भारतले उपलब्ध गरेको हो ।

पाँच दिने नेपाल भ्रमणको सिलसिलामा भारतीय स्थल सेनाध्यक्ष पाण्डे आइतबार काठमाडौं आइपुगेका हुन् ।