भारतमा माेदी नेतृत्वकाे सरकारकाे १० याेजना, जसले आम नागरिकमा खुशी ल्यायो

काठमाडाैं । सन् २०१४ मा पहिलो पटक भारतीय जनता पार्टी (भाजपा) काे तर्फबाट नरेन्द्र माेदी प्रधानमन्त्री बनेका थिए । त्यसपछि दाेस्राे पटक माेदी सन् २०१९ मा फेरि पनि प्रधानमन्त्री बने ।

८ वर्षको कार्यकालमा माेदी नेतृत्वकाे भाजपा सरकारले भारतमा नोटबन्दी, तीन तलाक, धारा ३७० र राम मन्दिर जस्ता ठूला निर्णय लिएको छ । यसका अलावा मोदी नेतृत्वकाे सरकारले भारतलाई ठूला योजनाको उपहार पनि दिएकाे छ । यस्ता छन् भारतमा माेदी सरकारले ल्याएका १० याेजना :

आयुष्मान भारत योजना

आयुष्मान भारत योजना २०१८ मा सुरु भएको थियो । यस योजनाको उद्देश्य देशका गरिब र आर्थिक रूपमा पिछडिएका वर्गका १० करोडभन्दा बढी परिवारलाई स्वास्थ्य बीमा उपलब्ध गराउनु रहेको थियाे । यस योजना अन्तर्गत भारत सरकारले देशका गरिब जनतालाई वार्षिक ५ लाख रुपैयाँको बीमा प्रदान गर्छ । याे याेजना तिनीहरुका लागि उपयुक्त छ जसले आफ्नाे स्वास्थ्य समस्याकाे उपचार पनि गर्न सक्दैनन् ।

पीएम किसान सम्मान निधि(काेष) योजना

प्रधानमन्त्री नरेन्द्र मोदीले साना किसानहरूका लागि पीएम किसान सम्मान निधि योजना सुरु गरेका छन् । यो योजनाको लाभ २ हेक्टरभन्दा कम जग्गा भएका किसानलाई दिइएको छ । यस योजना अन्तर्गत सरकारले किसान परिवारलाई वार्षिक ६ हजार रुपैयाँ दिइरहेकाे छ, जसलाई प्रत्येक चार महिनामा २–२ हजार रुपैयाँ किस्ताका रूपमा दिइन्छ । यो पैसा सिधै किसानको खातामा पुग्छ ।

उज्ज्वला योजना

उज्ज्वला योजना अन्तर्गत, ठूलो संख्यामा गरीब परिवारहरूलाई नि:शुल्क ग्यास जडान वितरण गरिएको छ । पहिले दाउरा बालेर खाना पकाउने घरमा अहिले यो योजनामार्फत सिलिन्डर पुगेको छ । सन् २०१६ देखि लागू भएको यो योजनाबाट धेरै मानिस लाभान्वित भएका छन् । यस योजनाको उद्देश्य ग्रामीण महिलाहरूलाई धुवाँबाट स्वतन्त्रता दिनु हो । यस योजना अन्तर्गत अहिलेसम्म करोडौँ ग्यास जडानहरू वितरण भइसकेका छन् ।

प्रधानमन्त्री जन-धन योजना

प्रधानमन्त्री जन-धन योजना २०१४ मा सुरु भएको थियो । यसअन्तर्गत देशका प्रत्येक परिवारलाई बैंकिङ सुविधा उपलब्ध गराउने काम भइरहेको छ । यस योजनामा परिवारका दुई सदस्यले शून्य ब्यालेन्समा खाता खोल्न सक्छन् ।

जन–धन खातामा पैसा जम्मा गर्न वा निकाल्न कुनै शुल्क लाग्दैन। याे याेजना अन्तर्गत खाता खोल्नको लागि आधार कार्ड, प्यान कार्ड, ड्राइभिङ लाइसेन्स र पासपोर्ट साइजको फोटो आवश्यक छ । यसमा १० वर्षभन्दा माथिका व्यक्तिले बैंक खाता खोल्न सक्नेछन् । खाता खोल्नेहरूले रुपे डेबिट कार्ड पनि पाउनेछन् । साथै, एटीएम कार्डमा २ लाखको बीमा पनि उपलब्ध छ । याेसहित ३० हजार रुपैयाँको जीवन बीमा पनि उपलब्ध छ । याे याेजना अन्तर्गत अगस्ट २०२२ सम्म ४६.२५ करोड खाता खोलिएको छ ।

प्रधानमन्त्री गरीब कल्याण अन्न योजना

कोरोना महामारीका कारण सन् २०२० मा लकडाउनको समयमा जनतालाई खाद्यान्न उपलब्ध गराउन मोदी सरकारले प्रधानमन्त्री गरीब कल्याण अन्न योजना ल्याएको हाे । यो योजनामा प्रतिव्यक्ति ५ किलो रासन प्रति महिना नि:शुल्क दिइन्छ । यस योजनाबाट देशका ८० करोडभन्दा बढी जनता लाभान्वित भएका छन् । यो योजना खाद्य सुरक्षा ऐन अन्तर्गत सुरु भएको हो ।

प्रधानमन्त्री आवास योजना

प्रधानमन्त्री आवास योजना सन् २०१५ मा सुरु भएको थियो । यस योजनाको उद्देश्य सहरमा बस्ने गरिबहरूका लागि २ करोड घर निर्माण गर्ने हो । यसका साथै, सरकारले घर निर्माणका लागि आर्थिक सहयोग पनि गर्दै आएको छ । यस योजना अन्तर्गत घर कर्जाको ब्याजमा अनुदान दिइन्छ । यस अन्तर्गत प्रत्येक परिवारले २ लाख ६० हजार रुपैयाँको लाभ पाउनेछन् । यस योजना अन्तर्गत प्राप्त रकम र अनुदान सिधै सेवाग्राहीकाे बैंक खातामा आउँछ, जुन आधार कार्डसँग जोडिएको छ।

प्रधानमन्त्री जीवन ज्योति र सुरक्षा बीमा योजना

केन्द्र सरकारले दुईवटा बीमा योजना सुरु गरेको छ । यी योजनाहरूमा प्रधानमन्त्री सुरक्षा बीमा योजना र प्रधानमन्त्री जीवन ज्योति बीमा योजना समावेश छन् । प्रधानमन्त्री सुरक्षा बीमा योजनामा, तपाईंले प्रतिवर्ष मात्र १२ रुपैयाँको प्रिमियम तिरेर २ लाख रुपैयाँसम्म प्राप्त गर्न सक्नुहुन्छ । साथै, तपाईंले प्रधानमन्त्री जीवन ज्योति बीमा योजना अन्तर्गत वार्षिक ४३६ रुपैयाँ तिरेर २ लाखको बीमा प्राप्त गर्न सक्नुहुन्छ।

प्रधानमन्त्री मुद्रा ऋण योजना

प्रधानमन्त्री मुद्रा योजनाको ७ वर्ष पूरा भएको छ । यस योजना अन्तर्गत गैर-कर्पोरेट, गैर-कृषि, साना वा लघु उद्यमीहरूसँग आवद्ध व्यक्तिहरूलाई १० लाख रुपैयाँसम्म ऋण दिइन्छ । यो ऋण व्यक्तिगत व्यवसाय सुरु गर्न दिइएको हो । यसका साथै, व्यवसाय बढाउन यो योजना अन्तर्गत कर्जाको सुविधा पनि दिइएको छ । शिशु, किशोर र तरुण वर्गमा ऋण दिइन्छ । शिशु योजना अन्तर्गत ५० हजार, किशोर योजना अन्तर्गत ५ लाख र तरुण योजना अन्तर्गत ५ देखि १० लाख रुपैयाँसम्म दिइन्छ ।

सुकन्या समृद्धि योजना

‘बेटी बचाओ-बेटी पढाओ’ अभियानअन्तर्गत देशका छोरीहरूलाई आत्मनिर्भर बनाउन र उनीहरूलाई थप प्रगति गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले जनवरी २०१५ मा सुकन्या समृद्धि योजना सुरु गरेका थिए ।

पैसाका कारण आफ्ना छोराछोरीलाई पढाउन नसकेका परिवारहरू, विशेष गरी केटीहरूका चिन्तालाई सम्बोधन गर्न सरकारले सुकन्या समृद्धि योजना ल्याएको हो । यसमा लगानी गरेर छोरीको पढाइदेखि विवाहसम्मको खर्चमा पैसा थप्न सकिन्छ । सुकन्या समृद्धि योजना अन्तर्गत, १० वर्ष मुनिका छोरीहरूको खाता उनीहरूको आमाबाबुको नाममा मात्र खोलिन्छ । यो योजना अन्तर्गत हुलाक कार्यालय वा बैंकमा गएर खाता खोल्न सकिन्छ । सुकन्या समृद्धि योजना २१ वर्षमा परिपक्व हुन्छ । तर, बालिकाको १८ वर्ष पुगेपछि पढाइका लागि यस खाताबाट रकम झिक्न सकिने भए पनि २१ वर्षपछि मात्रै पूरै रकम पाइन्छ ।

प्रधानमन्त्री श्रम योगी मानधन योजना

प्रधानमन्त्री श्रम योगी मानधन योजना देशको कम आय वर्ग अर्थात् महिनामा १५ हजारभन्दा कम आयस्राेत भएका मानिसहरुका लागि ल्याइएकाे याेजना हाे । याे योजना भारतीय जीवन बीमा निगमसँगको सहकार्यमा सञ्चालित छ ।

याे योजना असंगठित क्षेत्रमा काम गर्ने मानिसहरूका लागि पेन्सन ग्यारेन्टी योजना हो । यो योजना अन्तर्गत ६० वर्षपछि कामदारले न्यूनतम ३ हजार रुपियाँ पेन्सन पाउनेछन् ।

–भारतीय सञ्चारमाध्यमकाे सहयाेगमा । 

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७