काठमाडौं । साउदी अरेवियालाई ६ विकेटले हराउँदै अपराजित रहेर नेपाल एसीसी प्रिमियर कप २०२४ काे सेमिफाइनलमा पुगेको छ ।
७४ रनको लक्ष्य पछ्याएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । नेपालको जितमा गुलशन झा १९ बलमा २ चौका र २ छक्कासहित ३२ तथा कप्तान रोहित पौडेल ७ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नट आउट रहे ।
ओपनर कुशल भुर्तेल डक, आसिफ शेख र कुशल मल्ल २–२ रनमा आउट भए । एक समय २.२ ओभरमा १५–३ को अवस्थामा पुगेको नेपाललाई गुलशन झा र दीपेन्द्रसिंह ऐरीले ३३ रनको साझेदारी गरेका थिए । दीपेन्द्र ९ बलमा ३ चौकासहित १७ रनमा आउट भए ।
साउदीका ईश्ताक अहमदले २, उस्मान नाजिव र वाजी उल हसनले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको साउदीले ८ ओभरमा ७ विकेट गुमाएर ७३ रन बनाएको थियो । वर्षाको कारण मैदान समयमै खेल्न तयार नहुँदा खेल ८–८ ओभरको भएको थियो ।
नेपालले यसअघि मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले हराएको थियो ।
नेपालले शुक्रबार समूह बी को विजेतासँग सेमिफाइनल खेल्नेछ । प्रतियोगिताको विजेताले टी २० एसिया कप र शीर्ष तीन टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।