नेदरल्यान्ड्समाथि नेपालकाे ६ विकेटको शानदार जित

काठमाडौं । त्रिकोणात्मक टि–२० क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले नेदरल्यान्डमाथि ६ विकेटको जित निकालेको छ ।

नेदरल्यान्डले दिएको १२१ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्दै ६ विकेटको शानदार जित निकालेको हो ।

नेपालकाे जितमा कप्तान रोहित पौडेल र गुल्सन झाले उत्कृष्ट साझेदारी गरे । २७ रनमा २ विकेट गुमाएको नेपाललाई कप्तान रोहित र गुल्सनले ८६ रनको उत्कृष्ट साझेदारी गर्दै जिततर्फ अग्रसर गराए ।

गुल्सन ३८ रन र कप्तान रोहित ४६ रनमा आउट भए । ओपनर कुशल भुर्तेल १२ र आसिफ शेख ८ रनमा आउट भएका थिए । दीपेन्द्रसिंह ऐरी ४ र कुशल मल्ल २ रनमा अविजित रहे ।

बलिङमा नेदरल्यान्डका भिभिएन किंग्माले सर्वाधिक ४ विकेट लिए ।

यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्डले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर १२० रन बनाएको थियो । नेदरल्यान्डलाई सस्तोमा समेट्न नेपालका प्रतिश जिसीले सर्वाधिक ३ विकेट लिएका थिए । करण केसी र कुशल मल्ले २–२ र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिएका थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१