नामिबियासँग नेपाल पराजित

काठमाडौं । विश्वकप लिग- २ क्रिकेटअन्तर्गत घरेलु मैदानमा जारी पहिलो त्रिदेशीय एक दिवसीय अन्तर्राष्ट्रिय शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले नामिबियासँग २ विकेटको हार ब्यहोरेको छ ।

त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले केवल १६९ रनको लक्ष्य दिएको थियो । नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गरेको हाे ।

नामिबियाका कप्तान जेर्हार्ड इरासमसले ५२, माइकल भान लिंगेनले ३१ र जेजे स्मितले अविजित ३४ रन बनाए ।

नेपालका कुशल भुर्तेलले ३ तथा ललित राजवंशी, रोहित पौडेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एकएक विकेट लिए ।

जारी शृंखलामा नेपालले नामिबियासँगका दुवै खेल हारेको हो । नेपालले शृंखलाको आफ्नो अन्तिम खेलमा अब नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने छ। पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रन जोड्यो ।

नेपालका लागि आसिफ शेख ५८, कुशल मल्ल ३६, भीम सार्की २६ , कुशल भुर्तेल १८ र करण केसी १२ रन जोडेर आउट भए । दीपेन्द्रसिंह ऐरीले ६ र सोमपाल कामीले ४ रन बनाए । रोहित पौडेल, देव खनाल र अनिल शाहले खाता खोल्न सकेनन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१