Tag: भारत

  • रक्सीले मातिएर विमानभित्रै अर्का यात्रुमाथि पिसाब फेरेपछि…

    रक्सीले मातिएर विमानभित्रै अर्का यात्रुमाथि पिसाब फेरेपछि…

    भारत । एयर इन्डियाको विमानमा एक वृद्ध महिलालाई कथित रूपमा पिसाब गरेको घटनामा एक सहयात्रीको बयान बाहिर आएको छ ।

    आरोपीका सहयात्रीले यात्राको क्रममा के भयो र आरोपीले कस्तो व्यवहार गर्‍यो भन्ने अंग्रेजी पत्रिका टाइम्स अफ इन्डियालाई बताएकाे समाचार बीबीसी हिन्दीले प्रकाशित गरेकाे छ ।

    न्यूयोर्कबाट दिल्ली आउँदै गरेको फ्लाइटमा एक व्यक्तिले एक वृद्ध महिलाकाे शरीरमा पिसाब गरेको आरोप लागेको छ ।

    यो घटना मंसिर २६ को हो । उक्त व्यक्तिविरुद्ध उजुरी पनि परेको छ ।

    घटना भएको दिन अमेरिकामा बस्दै आएकी डाक्टर सुगाता भट्टाचार्य अभियुक्तको छेउमा रहेको सिटमा थिइन् । उनी बिजनेस क्लासको पहिलो पङ्क्तिको सिट ८ ए (विन्डो सिट) मा बसेका थिए । जबकि, अभियुक्तको सिट ८ सी थियो ।

    सुगाताले उक्त पत्रिकालाई भनेकी छन्, ‘उनी रक्सीको नशामा थिए । उनले खाजामा चार गिलास सिंगल माल्ट व्हिस्की पिएका थिए । उनी नशालु देखिन्थे ।

    उनले मलाई एउटै प्रश्न तीन पटक सोधेका थिए, तिम्रा छोराछोरी के गर्छन् ? त्यसपछि मैले एयरलाइन्सका कर्मचारीहरूलाई उनलाई योभन्दा बढी रक्सी नदिन भनेकाे थिएँ ।

    उनले सीट ९ एमा बसेकी महिलाकाे शरीरमा पिसाब गरिदिएका थिए । रक्सीले मातेका ती व्यक्तिले ती महिलाकाे शरीरमा पिसाब गर्दा उनी निदाइरहेकी थिइन् । सुगाता भन्छिन्, ‘उनी (पीडित महिला) निकै नर्भस देखिन्थिन् ।’

    त्यो घटनाले सुगाता अझै स्तब्ध छिन् । उनी भन्छन्, ‘हामी बिजनेश क्लासको केबिनको पहिलो लाइनमा बसेका थियौं । शौचालय चार पङ्क्ति पछाडि थियो । उनी (अभियुक्त) उठे र पछाडिको लाइनमा गएर झ्यालको सिटमा बसेको महिलामाथि पिसाब गरे ।’

    त्यसपछि मादक पदार्थ सेवन गरेको अभियुक्त सुते ।

    सुगाता भट्टाचार्यले पीडित महिलालाई सहयोग गरेकोमा दुई क्याबिन क्रु सदस्यको प्रशंसा पनि गरेकी छन् । उनीहरुले पञ्जा लगाएर पीडित महिलाका सामानहरु शौचालयमा लगेर सफा गरेका थिए ।

  • धोती र कुर्ता लगाएर क्रिकेट खेल, संस्कृतमा कमेन्ट्री (भिडिओसहित)

    धोती र कुर्ता लगाएर क्रिकेट खेल, संस्कृतमा कमेन्ट्री (भिडिओसहित)

    भारत । भारतको मध्य प्रदेशको राजधानी भोपालमा धोती कुर्ता लगाएर वटुकहरूले क्रिकेट खेलेका छन् ।

    उक्त खेलको कमेन्ट्री संस्कृत भाषामा गरिएको छ ।

    अंकुर मैदानमा भारतीय जनता पार्टी खेल प्रकोष्ठले आयोजना गरेको महर्षि कप क्रिकेटका क्रममा रमाइलो दृश्य देखिएको हो ।

    बुधवारबाट शुरू भएको प्रतियोगिता शुक्रवारसम्म चल्नेछ ।

    याे प्रतियाेगितामा प्रदेशभरका १२ वटा टीमले भाग लिएका छन् ।

    प्रतियोगितामा टेनिस बल उपयोग गरिएको छ । यसमा १० ओभरको एक म्याच हुनेछ ।

    फाइनल जित्ने टोलीलाई ३१ हजार भारु पुरस्कार दिइनेछ ।

  • भारत र चीनका सैनिकहरूबीच फेरि सीमानामा झडप

    भारत र चीनका सैनिकहरूबीच फेरि सीमानामा झडप

    काठमाडाैं । भारत र चीनका सैनिकहरूबीच फेरि सीमामा झडप भएको छ ।

    भारतीय समाचार पत्र द हिन्दूका अनुसार अरूणाचलको सिमानामा गत शुक्रबार झडप हुँदा कैयौँ भारतीय सैनिकहरू घाइते भएका छन् ।

    याङ्जी तवाङ क्षेत्रमा भएको झडपका क्रममा चिनियाँ सैनिक पनि घाइते भएको पत्रिकाले उल्लेख गरेको छ ।

    घाइते भएका भारतीय सैनिकहरूलाई उपचारका लागि गुवाहटी लगिएको समाचारमा जनाइएकेा छ ।

    सन् २०२० को जुनमा लद्दाखको गल्वान उपत्यकामा चिनियाँ र भारतीय सैनिकबीच झडप भएको थियो । उक्त झडपमा २० जना भारतीय सैनिक मारिएका थिए ।

    शुक्रबार भएको झडपको विस्तृत विवरण आइसकेको छैन ।

  • मोदीलाई ‘मार्न तयार हुनुहोस्’ भनेपछि कंग्रेस नेता पक्राउ

    मोदीलाई ‘मार्न तयार हुनुहोस्’ भनेपछि कंग्रेस नेता पक्राउ

    भारत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘मार्न तयार हुनुहोस्’ भनेर विवादास्पद टिप्पणी गरेको आरोपमा मध्य प्रदेश कंग्रेसका नेता राजा पटेरिया पक्राउ परेका छन् ।

    सोमबार सार्वजनिक एक भिडियोमा उनले संविधानको रक्षाका लागि प्रधानमन्त्री मोदीलाई ‘मार्न’ एउटा मानिसहरूको समूहलाई दुरुत्साहन गरेका थिए ।

    एउटा भाइरल भिडियोमा पटेरियाले पार्टी कार्यकर्ताहरूको भेलामा भनेका छन्, ‘मोदीले चुनाव अन्त्य गर्नेछन्, मोदीले धर्म, जात, भाषाको आधारमा विभाजन गर्नेछन्, दलित, आदिवासी र अल्पसंख्यकको जीवन खतरामा छ । संविधान बचाउनु छ मोदीलाई मार्न तयार हुनुहोस् । ’

    उनको टिप्पणीपछि मध्य प्रदेश सरकारले पूर्वराज्यमन्त्री पटेरियाविरुद्ध मुद्दा चलाउन प्रहरीलाई आदेश दिएको थियो ।

    उनले कांग्रेस नेता राहुल गान्धीको पनि विरोध गरेका थिए ।

  • अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा दृष्टिविहीनहरुलाई वीपी काेइराला फाउन्डेशनकाे सहयाेग

    अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा दृष्टिविहीनहरुलाई वीपी काेइराला फाउन्डेशनकाे सहयाेग

    काठमाडाैं । अपाङ्गता संरक्षण नेपालले आइतबार अन्तर्राष्ट्रिय अपाङ्गता दिवस कार्यक्रम आयोजना गरेको छ ।

    उक्त कार्यक्रममा बी.पी कोइराला फाउन्डेसनका सचिव तथा भारतीय राजदूतावासका प्रथम सचिव डा.साहिल कुमार सहभागी भएका थिए ।

    कार्यक्रममा बी.पी कोइराला फाउन्डेसनका सचिवले दृष्टिविहीनहरुको सहयोगार्थ नेपालभर थप वितरणका लागि अपाङ्गता संरक्षण नेपालका अध्यक्षलाई ९५० थान सेतो छडी हस्तान्तरण गरेका थिए ।

    बी.पी कोइराला फाउन्डेसनको प्राथमिकताभित्र पर्ने एक क्षेत्र स्वास्थ्य पनि हो । फाउन्डेसनले कोभिड–१९ को महामारीका बेला सुदूरपश्चिम प्रदेशमा सुरक्षा सामग्रीसमेत उपलब्ध गराएको थियो ।

    भारत र नेपाल सरकारको संयुक्त पहलमा सन् १९९१ मा बी.पी कोइराला फाउन्डेसनको स्थापना भएको हो ।

    दुई राष्ट्रका संस्कृति र जनजीवनसँग सम्बन्धित बहुआयमिक पक्ष तथा कला, साहित्य, बौद्घिक सम्वादलाई प्रगाढ बनाउँदै भारत र नेपालबीचको सम्बन्धलाई थप मजबुत बनाउने यस फाउन्डेसनको उद्देश्य रहेको छ ।

  • गुजरातमा भाजपाको ऐतिहासिक जित, हिमाचलमा अब कंग्रेसको सरकार

    गुजरातमा भाजपाको ऐतिहासिक जित, हिमाचलमा अब कंग्रेसको सरकार

    भारत । भारतमा भएको गुजरात विधानसभा निर्वाचनमा भारतीय जनता पार्टीले ऐतिहासिक जित निकालेको छ।

    गुजरातमा भाजपाले १८२ सिटमा १५६ सिट जितेको छ। यससँगै भाजपाले लगातार छैटौंपटक गुजरातमा सरकार बनाउने भएको छ।

    गुजरातमा भारतीय राष्ट्रिय कंग्रसले भने १७ सिटमात्र जित्न सक्यो। दिल्ली र पंजाबमा सरकार बनाएको आम आदमी पार्टीले भने पाँच सिटमा जित निकालेको छ।

    यसपटकको निर्वाचनमा कंग्रेसले धेरै सिट गुमाउनु परेको छ। पछिल्लो विधानसभा निर्वाचनमा भाजपाले ९९ सिटमा जित्दा कंग्रेसले ७७ सिटमा जित निकालेको थियो। गुजरातमा भाजपाको ऐतिहासिक जितको पछाडि ‘मोदी फ्याक्टर’ मुख्य कारण हुन्। गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रदेश हो।

    यता हिमाचल विधानसभाका लागि भएको निर्वाचनमा भने कंग्रेसले बहुमत ल्याएको छ। कंग्रेसले ४० सिट जित्दा भाजपाले हिमाचलमा २५ सिट जितेको छ। ३ सिटमा स्वतन्त्र उम्मेदवारहरुले जित निकालेका छन्। यसअघि हिमाचलमा भाजपा नेतृत्वको सरकार थियो।

    अब हिमाचलमा कंग्रेस नेतृत्वको सरकार बन्ने भएको छ। हिमाचलमा कंग्रेसको जितको जस प्रियंका गान्धीलाई दिइँदैछ। उनैले हिमाचलमा प्रचारप्रसारको ‘कमान्ड’ सम्हालेकी थिइन्। भाजपा अध्यक्ष जेपी नड्डाको गृह प्रदेशमा जित निकाल्नुलाई कंग्रेसले ऐतिहासिक जितको संज्ञा दिएका छन्।

  • भारी मतसहित गुजरातमा भाजपाको अग्रता, समर्थकद्वारा खुसीयाली मनाउन सुरु

    भारी मतसहित गुजरातमा भाजपाको अग्रता, समर्थकद्वारा खुसीयाली मनाउन सुरु

    भारत । भारतकाे गुजरातमा विधानसभा चुनावको मतगणना जारी छ । गुजरातको कुल १८२ विधानसभा सीटहरूको लागि डिसेम्बर १ र डिसेम्बर ५ मा दुई चरणहरूमा मतदान भएको थियो ।

    सरकार बनाउन कुनै पनि दलले कम्तीमा ९२ सिट जित्नुपर्ने हुन्छ । भारतीय जनता पार्टी गुजरातमा विगत २७ वर्षदेखि सत्तामा छ र फेरि एकपटक भाजपाको सरकार बन्ने सम्भावना छ ।

    गुजरात विधानसभाको १८२ सिटमा भाजपा एकतर्फी अग्रताका साथ १ सय ५६ सिटमा अगाडि छ । कांग्रेस १७ र आम आदमी पार्टी ५ सिटमा अगाडि छ । यहाँ ४ सिट अन्य उम्मेदवारको खातामा गएको देखिन्छ ।

    आज बिहान ८ बजेदेखि आधा घण्टा अगाडि हुलाक मतपत्रको गणना गरेपछि गुजरातमा इभीएमबाट मतगणना सुरु भएको हाे ।

    भाजपाको अग्रता देखेर पार्टीका समर्थकहरूले उत्सव मनाउन थालेका छन् ।

  • ‘नेपालका देवी देवताहरु’ विषयक कला प्रदर्शनी

    ‘नेपालका देवी देवताहरु’ विषयक कला प्रदर्शनी

    काठमाडौं । काठमाडौंमा ‘नेपालका देवी देवताहरु’ विषयक कला प्रदर्शन गरिएको छ ।

    भारतीय राजदूत नवीनकुमार श्रीवास्तवले नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य, नेपाल कला परिषद्का अध्यक्ष सागर शमशेर जबरा, ललितपुर एवम् काठमाडौं महानगरपालिकाका उप–प्रमुखद्वय मञ्जली शाक्य तथा सुनिता डङ्गोलको उपस्थितिमा आइतबार ‘नेपालका देवी देवताहरु’ विषयक कला प्रदर्शनीको उद्घाटन गरेका हुन् ।

    नेपाल कला परिषद्को ६०औँ वार्षिकोत्सव र नेपाल हस्तकला महासंघको ५०औँ वार्षिकोत्सवको अवसरमा यो कार्यक्रमको आयोजना गरिएको हो । मंसीर ११ गतेदेखि सुरु भएको यो कला प्रदर्शनी मंसीर २४ गतेसम्म नेपाल कला परिषद्मा चल्नेछ ।

    भारतीय राजदूतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रले पनि यही मंसीर १२–१३ गतेसम्म “भारत र नेपालका देवी देवताहरुको प्रतिमाको अभिव्यक्ति” नामक दुई दिने ‘लेक्चर सिरिज’को आयोजना गर्दैछ ।

     

  • भारतको बिजापुरमा ४ जना माओवादी मारिए

    भारतको बिजापुरमा ४ जना माओवादी मारिए

    भारत । बिजापुरको वन क्षेत्रमा शनिबार बिहान सुरक्षाकर्मीसँग भएको झडपमा चार जना माओवादी मारिएका छन् ।

    पोम्रा वन क्षेत्रमा करिब ४० जना माओवादी रहेका सूचना पाएपछि त्यहाँ पुगेको सुरक्षा फौजले कारबाही गर्दा दुई महिलासहित चार जना मारिएका मिरटुर प्रहरी कार्यालयले जनाएको छ ।

    सुरक्षा फौजले कारबाही गरेको स्थानबाट हातहतियार बरामद गरिएका तथा खोजबिन जारी रहेको एक जना वरिष्ठ सुरक्षा अधिकारीले बताएका छन् ।

    केही महिनाअघि माओवादीले बिजापुर प्रहरी कार्यालयमा हमला गरेर चार जना प्रहरीलाई घाइते बनाएका थिए ।

    बिजापुर क्षेत्रमा नक्सलवादी सक्रिय रहेका भन्दै राज्य सरकारले त्यहाँ सुरक्षा सतर्कता बढाएको छ ।

  • भारतीय जीटूजीको मल अर्को साता नेपाल भित्रिने

    भारतीय जीटूजीको मल अर्को साता नेपाल भित्रिने

    काठमाडाैं । जीटूजी सम्झौतामा भारतबाट ल्याउने भनिएको रासायनिक मल किन्ने प्रक्रिया सकिएसँगै आगामी सातादेखि मल नेपाल भित्रिने भएको छ ।

    भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर (आरसीएफ) ले मल नेपालसम्म ढुवानी गर्न बोरा प्याकिङ र लोडिङको काम गरिरहेको छ ।

    हिउँदेबाली गहुँ, तोरी र आलुका लागि मल ल्याउन लागेकाले सक्दो चाँडो आइपुग्ने गरी काम गरिरहेको कृषि सामग्री कम्पनी लिमिटेडले बताएको छ ।

    पहिलो वर्ष १ लाख ७० हजार मेट्रिक टन मल ल्याउने गरी भएको सम्झौताअनुसार पहिलो खेपको पहिलो भेसलमा ३० हजार मेट्रिक टन युरिया ल्याउन लागिएको हो ।

    कम्पनीका कामु प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले जीटूजीबाट ल्याउन लागिएको मल ग्लोबल टेन्डरबाट ल्याइने मलभन्दा सस्तो पर्ने जानकारी दिए । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।