• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

गुजरातमा भाजपाको ऐतिहासिक जित, हिमाचलमा अब कंग्रेसको सरकार

भारत । भारतमा भएको गुजरात विधानसभा निर्वाचनमा भारतीय जनता पार्टीले ऐतिहासिक जित निकालेको छ।

गुजरातमा भाजपाले १८२ सिटमा १५६ सिट जितेको छ। यससँगै भाजपाले लगातार छैटौंपटक गुजरातमा सरकार बनाउने भएको छ।

गुजरातमा भारतीय राष्ट्रिय कंग्रसले भने १७ सिटमात्र जित्न सक्यो। दिल्ली र पंजाबमा सरकार बनाएको आम आदमी पार्टीले भने पाँच सिटमा जित निकालेको छ।

यसपटकको निर्वाचनमा कंग्रेसले धेरै सिट गुमाउनु परेको छ। पछिल्लो विधानसभा निर्वाचनमा भाजपाले ९९ सिटमा जित्दा कंग्रेसले ७७ सिटमा जित निकालेको थियो। गुजरातमा भाजपाको ऐतिहासिक जितको पछाडि ‘मोदी फ्याक्टर’ मुख्य कारण हुन्। गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रदेश हो।

यता हिमाचल विधानसभाका लागि भएको निर्वाचनमा भने कंग्रेसले बहुमत ल्याएको छ। कंग्रेसले ४० सिट जित्दा भाजपाले हिमाचलमा २५ सिट जितेको छ। ३ सिटमा स्वतन्त्र उम्मेदवारहरुले जित निकालेका छन्। यसअघि हिमाचलमा भाजपा नेतृत्वको सरकार थियो।

अब हिमाचलमा कंग्रेस नेतृत्वको सरकार बन्ने भएको छ। हिमाचलमा कंग्रेसको जितको जस प्रियंका गान्धीलाई दिइँदैछ। उनैले हिमाचलमा प्रचारप्रसारको ‘कमान्ड’ सम्हालेकी थिइन्। भाजपा अध्यक्ष जेपी नड्डाको गृह प्रदेशमा जित निकाल्नुलाई कंग्रेसले ऐतिहासिक जितको संज्ञा दिएका छन्।