माैसममा क्रमश: सुधार, शनिबार यी क्षेत्रमा हिमपातकाे सम्भावना

काठमाडौं । पछिल्लाे तीन दिनदेखिकाे प्रतिकूल माैसममा क्रमश:सुधार हुँदै जाने भएकाे छ ।

पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव क्रमश: कमजाेर बन्दै गएकाे हो । यी माैसमी प्रणालीका कारण शुक्रबार साँझ काठमाडाैं उपत्यकामा हल्का वर्षा भएकाे थियाे ।

शनिबार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

प्रदेश १, बागमती र गण्डकीको उच्च पहाडी र हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएकाे छ ।

राति प्रदेश १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१