• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

ओमिक्रोनका कारण अहिलेसम्म कसैको मृत्यु भएको छैन – डब्लूएचओ

जेनेभा । कोरोना भाइरसको नयाँ भेरिएन्टका रूपमा देखिएको ओमिक्रोनका कारण अहिलेसम्म कसैको मृत्यु नभएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ ।

विश्वभरिबाट सङ्कलन गरिएको ओमिक्रोनबाट सङ्क्रमितहरूको विवरण हेर्दा अहिलेसम्म कसैको पनि मृत्यु नभएको अधिकारीहरूको भनाइ छ । तर सङ्क्रमणको फैलावट भने तीव्र देखिएको पनि राष्ट्रसङ्घीय निकाय डब्लूएचओले जनाएको छ।

डब्लूएचओका प्रवक्ता क्रिश्चियन लिन्डमेइरले भने, ‘मैले अहिलेसम्म ओमिक्रोनका कारण कसैको मृत्यु भएको थाहा पाएको छैन ।’ उनले संसारभरबाट ओमिक्रोनसम्बन्धी विवरणहरू सङ्कलन गर्ने र अध्ययन गर्ने कार्य भइरहेको जानकारी दिए। उनले भने, ‘धेरै देशहरूमा धमाधम परीक्षण भइरहेको छ। उनीहरूले सतर्कता पनि अपनाएका छन्, यसलाई विशेष तरिकाले हेरिएको छ ।’

अहिले भइरहेको अध्ययनबाट नयाँ सूचना प्राप्त हुने र भावी योजना तथा सतर्कताका लागि सहयोग हुने अधिकारीहरूले विश्वास व्यक्त गरेका छन् ।

उनीहरूले ओमिक्रोनका कारण अहिलेसम्म कसैको मृत्यु नभएकाले आगामी दिनमा पनि कसैको मृत्यु नहुने अपेक्षा गर्न सकिने बताएका छन् । –रासस/एएफपी