रेखा थापालाई ‘राजनीति फिल्म खेलेजस्तो सजिलो छैन’ भन्नेलाई दीपकराज गिरीले दिए यस्ताे चुनाैती

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिएकी अभिनेत्री रेखा थापाविरुद्ध आएका अभिव्यक्तिप्रति कलाकार दीपकराज गिरीले आक्रोश व्यक्त गरेका छन् ।

थापासँग राप्रपाको महामन्त्री पदमा प्रतिस्पर्धा गरिरहेकी कुन्ती शाहीले दिएको अभिव्यक्तिविरुद्ध कलाकार गिरीले टिप्पणी गरेका हुन् ।

‘रेखा थापालाई कुन्ताजीले ‘राजनीति फिल्म खेलेको जस्तो सजिलो छैन’ भन्नुभएछ’, गिरीले लेखेका छन्, ‘कसले भन्यो तपाईंलाई फिल्म खेल्न सजिलो छ भनेर, एकचोटि ट्राइ गरेर हेर्नुहुन्छ ? क्यामराअगाडि तपाईंको पसिना छुट्नेछ ।’

उनले अगाडि लेखेका छन्, ‘संसारका सबै काम आआफ्नो ठाउँमा गाह्रै नै हुन्छ, त्यसैले कुनै पेसालाई सजिलो ठान्ने काम नगरौँ । तैँले सक्दैनस्, यो तेरो काम होइन, तेरो अनुभव छैन, यी शब्दहरू तिनले प्रयोग गर्छन्, जो आफैँ असक्षम छन्।’

राप्रपा आफ्नो सिद्धान्त र विचार प्रतिनिधित्व गर्ने पार्टी नभए पनि रेखा थापाले महामन्त्रीजस्तो महत्त्वपूर्ण पदमा उम्मेदवारी दिनु स्वागतयोग्य कुरा भएको गिरीले उल्लेख गरेका छन् ।

साथै उनले जितका लागि थापालाई शुभकामना पनि दिएका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१