काठमाडाैं । उपत्यकासहित देशभर चिसो बढ्ने क्रममा रहेकाे छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकासहित मुलकभर न्यूनतम तापक्रम घट्न थालेको छ ।
शुक्रबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । जुम्लामा सबैभन्दा कम -३.७, र जोमसोममा -१ डिग्री सेल्सियस मापन गरिएको छ ।
देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
बिहान हुस्सु कुहिरो लाग्ने हुँदा पनि धेरै चिसो महसुस हुने महाशाखाले जनाएको छ। हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएकाले अबको केही दिन मौसम सफा रहने सम्भावना छ।
शुक्रबार प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा भने मौसम आंशिक बद्ली हुने सम्भावना रहेकाे महाशाखाकाे बुलेटिनमा उल्लेख छ ।