काठमाडाैं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले वरिष्ठ नेता रामचन्द्र पौडेललाई साझा उम्मेदवार बनाउने तयारी गरेको छ । पौडेल निवास बोहोराटारमा बसेको इतर समूहका नेताहरुको बैठकले सभापति शेरबहादुर देउवालाई बिदा गर्न पौडेललाई साझा उम्मेदवार बनाउने निष्कर्ष निकालेको हो ।
बोहोराटारमा भएको यो बैठकमा डा. मिनेन्द्र रिजाल, बलबहादुर केसी, महेश आचार्य, अर्जुननरसिंह केसी र गगन थापालगायत सहभागी भएका थिए ।
नेताहरुले पौडेललाई सभापतिको साझा उम्मेदवारीको टुंगो लगाउन शुक्रबार साँझ ५ बजे अनुपम फुडल्यान्डमा बैठक डाकेका छन् । त्यही बैठकबाट पौडेललाई सभापतिको साझा उम्मेदवार बनाउने सम्भावना देखिएको छ ।
पौडेलले आफ्नो समूहको सभापतिबारेमा नेताहरुलाई छलफल गरेर निचोडमा पुग्न भनेका छन् । उनले टिमको सर्वसम्मत उम्मेदवार भए मात्रै सभापति लड्ने बताएको स्राेतले जनाएकाे छ ।