काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साना दलको पछि नभइ आफ्नै सिद्धान्तमा अघि बढ्न कांग्रेसलाई सुझाव दिएका छन् ।
शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले कांग्रेसलाई अरुको नीतिको पछाडि नभई आफ्नै सिद्धान्तमा अघि बढ्न सुझाव दिएका हुन् । उनले केही साना दललाई कांग्रेसले हात समात्न छाड्छ कि भन्ने चिन्ता रहेको जिकिरसमेत गरे । त्यस्तै सरकारबाट हट्नुपर्ने चिन्ता केहिलाई भएको तर एमाले कांग्रेससँगै रहे पनि सरकारको चिन्ता नरहेको बताए ।
ओलीले एमाले एक्लै हिँड्न रहर नगर्ने भए पनि अरुको भरमा राजनीति नगर्ने तर्क गरे । उनले आज पनि नेपालका नागरिक स्वाभिमान बिर्सिने, जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त मान्ने परिपाटी देखेर आफू अचम्मित भएको धारणा राखे । कोही जन्मिँदै शासक भएर जन्मिन्छ भन्ने निराधार सिद्धान्त नागरिक स्वाभिमान विपरीत सिद्धान्त भएकाले मान्य नहुने बताए ।
एमाले अध्यक्ष ओलीले आफूहरू प्रतिपक्षमा भए पनि विकासका काममा आफ्नो साथ सधैँ रहिरहने स्पष्ट पारे ।