चाेरीकाे आराेप लगाएपछि ओलीलाई गगनकाे जवाफ : ‘टिप्पणी अलि हतारमा गर्नुभएछ’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् ।

शुक्रबार नेकपा (एमाले) बागमती प्रदेश संगठनले आयोजना गरेको कार्यक्रममा ओलीले गगन थापालाई संकेत गरी अहिले केहीले एमालेको दृष्टिकोणलाई संशोधन गरेर ‘समुन्नत नेपाल : सम्मानित नेपाली’ को सोच अघि सारेका छन् ।’

थापाले कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने क्रममा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ ल्याएका थिए । आफूहरूले ल्याएको अवधारणा ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई थापाले चोरी गरेको ओलीकाे आरोप थियो । थापाले शनिबार सामाजिक सञ्जालमार्फत त्यसको जवाफ दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन् – आदरणीय केपी ओलीज्यू, ’समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणा तपाईँले पनि पढेको थाहा पाएर खुशी लाग्यो । तर टिप्पणी चाहिँ अलि हतारमा गर्नु भएछ ।

मैले २०७२ मा संविधान जारी भएपछि सम्पन्न तेह्रौँ महाधिवेशनमै कांग्रेसको सम्पूर्ण राजनीति अब ‘समुन्नत नेपालः सम्मानित नेपाली’को निर्माणमा समर्पित हुनुपर्छ र नीति र कार्यक्रमसहित त्यसलाई कार्यान्वयन गर्नसक्ने बन्नका लागि पार्टीको रुपान्तरण हुनुपर्छ भनेर निरन्तर प्रस्ताव गर्दै आएको छु ।

यो महाधिवेशनपछि सैद्धान्तिक रुपले पुनर्जागृत र रुपान्तरित नेपाली कांग्रेसले सामाजिक लोकतन्त्रको सैद्धान्तिक खाकाभित्र ‘समुन्नत नेपालः सम्मानित नेपाली’को सङ्कल्पसहित राष्ट्रिय अभियान प्रारम्भ गर्दा तपाईंसँग जम्काभेट हुने नै छ । त्यतिञ्जेलसम्मका लागि जय नेपाल !

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१