काठमाडाैं । नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले आइतवार पार्टीका विभिन्न जिम्मेवारीमा भएका मनोनयनलाई लिएर तीव्र असन्तुष्टि प्रकट गरेका छन् ।
चितवन महाधिवेशनमा अध्यक्षमा पदमा पराजित भएपछि केन्द्रीय सदस्यसहित कुनै पदमा बस्न अस्वीकार गरेका उनले आफ्ना गुटका मान्छेलाई ओलीले मनलाग्दी नियुक्ति गरेको पनि टिप्पणी गरेका छन् ।
भक्तपुरमा दुई दिनदेखि बसेको केन्द्रीय कमिटी बैठकले ४५ केन्द्रीय सदस्य, ८९ पोलिटब्युरो सदस्य र २६ स्थायी कमिटी सदस्यसहित विभिन्न पदमा नियुक्ति र मनोनयन गरेको थियो ।
यसलाई लिएर रावलले एमालेभित्र केपी ओलीको गुट ओलीको गुटबन्दीले छलाङ मारेको भन्दै कटाक्ष गरेका हुन् ।
‘एमालेमा भर्खरै भएका मनोनयन, जिम्मेवारी र कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाईमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलाङ मारेको देखियो’, उनले भनेका छन्, ‘यो देश र जनताप्रति प्रतिवद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुटस्वार्थ प्रेरित अहम् तुष्टिको नमूना हो । यस्तो प्रवृत्ति हट्नु पार्टी हितमा हुन्छ ।’
रावल आफैँले दसौँ महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गरिसकेपछि कुनै पनि जिम्मेवारीमा नबस्ने घोषणा गरेका थिए । उनले टीको लगाएर पद नलिने भन्दै निर्वाचनबाट आउने परिणाम स्वीकार्ने बताएका थिए ।
एमालेमा भरखरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाईमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलांग मारेको देखियो।यो देश र जनताप्रति प्रतिवद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुटस्वार्थ प्रेरित अहं तुष्टीको नमूना हो।यस्तो प्रवृत्ति हट्नु पार्टी हितमा हुन्छ।
— Dr. Bhim Rawal (@BhimRawal179) December 12, 2021