कांग्रेस सभापतिका लागि पुनः मतदान सुरु, प्रधानमन्त्रीद्वारा मतदान

काठमाडाैं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको पुनः मतदान सुरु भएको छ ।

सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधान अनुसार सभापति पदका लागि पुनःनिर्वाचन हुन लागेको हो । कांग्रेस केन्द्रीय निर्वाचन समितिले सभापति पदका प्रत्यासीमध्ये कसैको पनि कूल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि आज अपरान्ह ३ः३० देखि साँझ ७ः३० बजेसम्म पुनः मतदान हुने भएकाे हाे ।

पहिलो चरणको मतदानमा प्रधानमन्त्री एवं सभापति देउवाले दुई हजार २५८ र उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गरे । सभापतिका अन्य प्रत्यासी पूर्वमहामन्त्री सिंहले ३७१, उपसभापति बिमलेन्द्र निधिले २५० र केन्द्रीय सदस्य कल्याण गुरूङले २२ मत प्राप्त गरेका थिए ।

काठमाडौँको राष्ट्रियसभा गृहमा कायम गरिएको मतदानस्थलमा सभापतिका दुवै प्रत्यासी प्रधानमन्त्री देउवा र नेता कोइराला मतदान स्थलमा उपस्थित छन् । यसैबीच सभापतिका उम्मेदवार प्रधानमन्त्री देउवाले मतदान गरिसकेका छन् ।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदानमा कूल ७६ मत बदर भएको थियो । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ ।

पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जना बीच पुनः मतदान हुन्छ । विधान अनुसार, पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।

यसैबीच सभापति पदका प्रत्यासी देउवालाई पहिलो चरणका सभापतिका अन्य प्रत्यासीहरु सिंह, निधि र गुरुङले समर्थन गरिसकेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१