विश्वका धेरैजसो देशमा ओमिक्राेन भेरियन्ट फैलिएको डब्लूएचओको अनुमान

काठमाडाैं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नयाँ कोभिड भेरियन्ट ओमिक्रोन सम्भवतः विश्वका धेरैजसो देशमा पुगिसकेको हुनसक्ने अनुमान गरेको छ । हाल विश्वका ७७ देशमा यो भेरियन्ट फैलिएको पुष्टि भएको छ । यो निकै उत्परिवर्तित भेरियन्ट भएकोले तिब्र गतिमा फैलिरहेको र अन्य धेरै देशमा पनि हुनसक्ने डब्ल्यूएचओ प्रमुखले बताएका छन् ।

डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेब्रेयससले ओमिक्रोनलाई कम आँकिएकोमा आफू चिन्तित बनेको बताए । ओमिक्रोनको फैलावट यसअघिका कुनै भेरियन्टमा नदेखिएको दरमा भइरहेको डब्ल्यूएचओ प्रमुखले पत्रकारहरुलाई बताएका छन् ।

यस भेरियन्टसँग जुझ्न कयौँ देशले बूस्टर मात्रा सुरु गर्ने बताएका अवस्थामा मङ्गलबारको पत्रकार सम्मेलनमा डा. टेड्रोसले खोप असमानताबारे आफ्ना चासो दोहोरर्‍याए । उनले बूस्टर डोजहरुले कोभिड फैलन रोक्नका लागि महत्वपूर्ण भूमिका खेल्ने भएपनि केलाई प्राथमिकता दिने भन्ने अहम प्रश्न रहेको बताएका छन् ।

यस भेरियन्टलाई सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पहिचान गरिएको थियो । यसैसँगै कयौँ देशहरूले दक्षिणअफ्रिका र उसका छिमेकी देशसँग यात्रा प्रतिबन्ध लगाए पनि सङक्रमण फैलन रोकिएको छैन ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१