मलेसियामा ६० जना सवार डुङ्गा दुर्घटना, ११ जनाको मृत्यु, २७ बेपत्ता

काठमाडाैं । मलेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । घटनामा परेका अरु २७ जना अझै पनि बेपत्ता रहेको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

मृत्यु भएका र बेपत्ता भएकामध्ये अधिकांश इन्डोनेसियाका रहेका छन् । मलेसियाको दक्षिणी क्षेत्रमा दुर्घटना भएको हो । अचानक खराब मौसमका कारण दुर्घटना भएको जनाइएको छ । हराइरहेकाहरूको खोजीका लागि उद्धारकर्ताहरू परिचालन गरिएको छ ।

सामुद्रिक मार्ग भएर अवैध रूपमा पार गरिरहेका बेला दुर्घटना भएको जनाइएको छ । यस क्षेत्रमा यस्ता दुर्घटना बेला बेलामा हुने गरेका छन् । मलेसियाको जोहोर राज्यमा भएको दुर्घटनामा परेको डुङ्गामा ६० यात्रु रहेका थिए ।

घटनामा परी मृत्यु भएकामध्ये सात जना पुरुष र चार जना महिला रहेका छन् । उद्धारकर्ताहरूले अरु २० पुरुष र दुई महिलालाई भने जिवितै उद्धार गरेका छन । बेपत्ता भएकाहरू जिवितै भेटिने संभावना कम रहेको खोजी तथा उद्धार कार्यमा संलग्नहरूले बताएका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१