काठमाडाैंकाे तापक्रम तीन डिग्री सेल्सियस मापन, शुक्रबारदेखि थप चिसाे बढ्ने

काठमाडौं । बिहीबार बिहान ६ बजे काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस मापन गरिएको छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ६ बजे काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस मापन गरिएको हाे । बिहीबार दिउँसो काठमाडौं उपत्याकामा तापक्रम १७ देखि १९ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले जनाएकाे छ ।

शुक्रबारदेखि थप चिसो बढ्ने प्रक्षेपण महाशाखाले गरेकाे छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण चिसो बढ्ने भन्दै सर्तक रहन आग्रह गरिएको छ । उक्त प्रणालीका कारण आगामी दिनमा तापक्रममा गिरावट आउने र चिसो अझ बढ्न सक्ने सम्भावना रहेको महाशाखाका माैसमविद्ले जनाएका छन् ।

यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने भएकाले त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा र सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ ।

महाशाखाले जारी गरेकाे विशेष बुलेटिनमा भनिएकाे छ – पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण २०७८ पुस २ गते (शुक्रबार) बिहानबाट नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ । साथै, सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१