अमेरिकामा एमसीसीको समीक्षा, नेपालले छिटाे निर्णय लिने अपेक्षा

काठमाडाैं । मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को अमेरिकामा मंगलबार बसेको बोर्ड बैठकमा एमसीसी—नेपाल कम्प्याक्टको अवस्था र अहिलेसम्म भएका प्रगतिबारे छलफल भएको छ ।

अमेरिकाले नेपालको संसदबाट एमसीसी छिटाे अनुमोदन हुने अपेक्षासमेत लिएको छ । बुधबार वासिङ्टनस्थित एमसीसी मुख्यालयले जारी गरेकाे विज्ञप्तिमा पाँच सय मिलियन अमेरिकी डलर बराबरको सहयोग परियोजनासम्बन्धी सम्झौता चाँडो पारित गर्न सञ्चालक समितिले नेपाल सरकारलाई आग्रह गरेको उल्लेख छ।

यसअघि याे बैठकबाट नेपाल कम्प्याक्ट खारेजी हुने चर्चा चलेकाे थियाे । तर पहिले चर्चा भएजस्तो अहिले नै नेपाल कम्प्याक्ट खारेजीबारे निर्णय भने बैठकले गरेको छैन ।

उक्त बैठकअघि नेपालको संसदबाट एमसीसी कम्प्याक्ट अनुमोदनका लागि अमेरिकाले ताकेता गरेको थियो । एमसीसीलाई लिएर पछिल्ला केही महिनामा उच्च अमेरिकी अधिकारीले नेपाल भ्रमणसमेत गरेका छन् ।

एमसिसीका विषयमा नेपालमा लगातार विरोध भइरहेकाे छ । गएको मंगलबार सुरु भएको संसद अधिवेशनबाट एमसिसी पारित गर्ने तयारीमा सरकार रहेको दाबी गरिएको छ । तर दलहरुबीच सहमति जुटेको भने छैन ।

एमसीसी मुख्यालयले जारी गरेकाे विज्ञप्ति हेर्नका लागि यहाँ क्लिक गर्नुहाेस्

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१