• २०८३ साउन ३
  • 2026 July 19, Sunday

चितवनमा तीन ओटा गाडी एक आपसमा ठोक्किए, ३३ जना घाइते

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई यात्रुवाहक बस र एउटा ट्रक एकापसमा ठोक्किँदा घाइते हुनेको संख्या ३३ पुगेको छ ।

बिहान काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडाैंतर्फ आउँदै गरेको म‍‍.प्र.०३–००२ ख ७३२ नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै गरेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका सबै ३३ जनाको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको छ। घाइतेमध्ये २४ जनाको नयाँ मेडिकल कलेज भरतपुर र ९ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

दुर्घटनामा तीनवटै सवारीसाधनमा क्षति पुगेको छ। दुर्घटनापछि केही समय दुवैतर्फ अवरुद्ध भएको मुग्लिङ–नारायणगढ सडकखण्ड अहिले सञ्चालनमा आइसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।