• २०८३ साउन ४
  • 2026 July 20, Monday

एक चोटि सुन्ने क्षमता गुमेपछि किन फर्किँदैन ?

सुन्ने क्षमता केवल रकेट प्रक्षेपण वा डेथ मेटल कन्सर्टजस्ता अत्यन्तै ठूलो ध्वनीका कारण मात्र प्रभावित हुँदैन। दैनिक जीवनका कैयौँ गतिविधिहरूले पनि कानलाई क्षति पुर्‍याउन सक्छन्।

सकारात्मक कुरा के हो भने, केही सजिला सावधानीहरू अपनाएमा तपाईँले आउने धेरै दशकसम्म आफ्ना कानको सुरक्षा गर्न सक्नुहुन्छ।

यदि तपाईँ केही महिनासम्म जिम जान छोड्नु भयो भने पनि मेहनत र नियमित अभ्यासमार्फत आफ्ना मांसपेशीहरूलाई फेरि बलियो बनाउन सक्नुहुन्छ। तर श्रवण क्षमताका हकमा भने यस्तो हुँदैन।

अमेरिकाको ओहायोस्थित क्लिभल्यान्ड क्लिनिककी अडियोलोजिस्ट तथा श्रवणहानि विशेषज्ञ भ्यालेरी पाभ्लोभिच रफ भन्छिन्, “एक पटक सुन्ने क्षमता गुमेपछि त्यसलाई फर्काएर ल्याउन सकिँदैन।”

उमेर बढ्दै जाँदा सुन्ने क्षमता घट्दै जान्छ भन्ने कुरा हामीलाई थाहा छ। तर अहिले विशेषज्ञहरूले कम उमेरका मानिसहरूमा पनि सुन्ने समस्याका संकेत देख्न थालेका छन्। यसमा किशोरकिशोरी र १० वर्षभन्दा कम उमेरका बालबालिका पनि समावेश छन्।

अमेरिकाको एरिजोनास्थित मेयो क्लिनिकका अडियोलोजिस्ट जेमी बोगल भन्छन्, “कम उमेरमा हामीमध्ये अधिकांश मानिस आफ्ना कानको सुरक्षाप्रति बेपरवाह हुन्छौँ। तर यस्ता घटनाहरूको असर समयसँगै थपिँदै जान्छ। त्यसैले युवावस्थामा गरिएको लापरवाहीले पछिल्ला वर्षहरूमा सुन्ने क्षमतामा असर पार्न सक्छ।”

त्यसैले केवल रकेट प्रक्षेपण वा डेथ मेटल कन्सर्टजस्ता अत्यन्तै ठूलो आवाजबाट मात्र जोखिम हुँदैन। दैनिक जीवनका धेरै सामान्य गतिविधिहरूले पनि लामो समयसम्म तपाईँको सुन्ने क्षमतामा क्षति पुर्‍याउन सक्छन्।

सुन्ने क्षमताले कसरी काम गर्छ?

कानको जाली (इयरड्रम) पछाडि र भित्री कानमा तरल पदार्थले भरिएको एउटा संरचना हुन्छ। शंखे कीरा जस्तो आकारको यस अंगलाई कोक्लिया भनिन्छ।

यसको भित्री सतहमा हजारौँ अत्यन्तै साना हेयर सेल्स अर्थात् रौँजस्ता कोशिकाहरू हुन्छन्। प्रत्येक कोशिकाको माथिल्लो भागमा धेरै मसिना रेशा हुन्छन् र त्यसको तल एउटा न्युरोन हुन्छ। यो श्रवण स्नायु (अडिटरी नर्भ) सँग जोडिएको हुन्छ।

यो स्नायुले विद्युतीय संकेतलाई मस्तिष्कसम्म पुर्‍याउँछ।

जब ध्वनि दबाबका तरङ्गका रूपमा कानभित्र प्रवेश गर्छ, तब यी सूक्ष्म रेशाहरू हावामा हल्लिएका रुखका हाँगाझैँ हल्लिन थाल्छन्। तिनको यही गति विद्युतीय संकेतमा रूपान्तरण हुन्छ। मस्तिष्कले यिनै संकेतलाई ध्वनिका रूपमा बुझ्छ।

तर धेरै ठूलो आवाजसँग लामो समयसम्म सम्पर्कमा रहँदा यी रेशाहरूमा क्षति पुग्न सक्छ। जसरी शक्तिशाली आँधीले रुखका हाँगाहरूलाई भाँचिदिन्छ, रेशाहरूसँग पनि ठीक त्यस्तै हुन्छ।

तर यी रेशाहरू परेलाका रौँझैँ फेरि उम्रँदैनन्। यही नै मूख्य समस्या हो।

“मानव कानमा रहेका हेयर सेल्स शिशुको जन्मकै बेला हुन्छन्,” अडियोलोजिस्ट भ्यालेरी पाभ्लोभिच रफ भन्छिन्, “एक पटक यी कोशिकाहरू क्षय भए त्यो क्षति स्थायी हुन्छ र बचाउन सकिँदैन।”

यद्यपि, वैज्ञानिकहरू भने यी सूक्ष्म रेशाहरूलाई फेरि बढ्न मद्दत गर्न सघाउने जीन थेरापी विकास गर्ने प्रयासमा छन्।

यस अनुसन्धानको प्रेरणा जेब्राफिस र कुखुराजस्ता केही जीवहरूबाट प्राप्त भएका हुन। यी जीवहरुमा यी कोशिकाहरू फेरि विकास हुन सक्छन्।

तर त्यस्तोल प्रविधिले हालसम्म सफल हुन सकेको छैन्। त्यसैले जबसम्म यस्तो प्रविधि उपलब्ध हुँदैन, तबसम्म कानको सुरक्षा गर्नु नै एक मात्र उपाय हो।

पाभ्लोभिच रफ भन्छिन्, “तपाईँसँग भएको सबैभन्दा बहुमूल्य कुरा भनेकै सुन्ने क्षमता हो। त्यसैले आफ्नो श्रवण शक्ति बचाउनुहोस्।”

ठूलो आवाजमा संगीत सुन्नुको असर केही मिनेटमै

अडियोलोजिस्ट भ्यालेरी पाभ्लोभिच रफ भन्छिन्, “लाइभ संगीतमा सामान्यतया आवाजलाई बढाइन्छ र त्यो प्रायः धेरै ठूलो हुन्छ।”

उनका अनुसार धेरै कन्सर्ट र सांगीतिक कार्यक्रममा आवाज यति ठूलो हुन्छ कि केवल १० देखि १५ मिनेटमै भित्री कानमा त्यसको हानिकारक असर सुरु हुन सक्छ।

उनी भन्छिन्, “यदि तपाईँ पूरा कन्सर्ट हेर्न चाहनुहुन्छ भने तपाईँले इयरप्लग लगाउनुपर्छ। तर सामान्य फमका इयरप्लगले संगीतको आवाजलाई विकृत बनाउन सक्छन्।”

यसको सट्टा आवाजलाई कम गर्ने तर त्यसको गुणस्तर र स्वरूप नबदल्ने हाई-फिडेलिटी इयरप्लग प्रयोग गर्न सल्लाह दिइन्छ।

‘फिडेलिटी’ भन्नाले रेकर्ड गरिएको वा प्रसारण गरिएको आवाजको त्यो शुद्धता र शुद्धरूपलाई जनाउँछ, जसले आवाज आफ्नो मूल स्रोतसँग कति नजिक छ भन्ने देखाउँछ।

पाभ्लोभिच रफ भन्छिन्, “करिब २५ डलर (३ हजार ८४५रुपैयाँ) वा त्योभन्दा कम मूल्यमा पनि राम्रो हाई-फिडेलिटी इयरप्लग पाइन्छ।”

संगीतप्रेमीहरूले विशेष रूपमा तयार गरिएका कस्टम म्युजिसियन इयरप्लग पनि किन्न सक्छन्। तिनको मूल्य करिब १७५ डलर (झण्डै २७ हजार रुपैयाँ) हुन्छ र अडियोलोजिस्टको सहयोगमा कानअनुसार फिट गरिन्छ।

यही सल्लाह खेलकुद प्रतियोगितामा पनि लागू हुन्छ। धेरै रंगशालाहरू आफ्ना दर्शकको कोलाहल र उच्च डेसिबल स्तरमा गर्व गर्छन्।

हेडफोनबाट हुने हानि 

सामान्यतया संगीत र ठूलो ध्वनीसँग हाम्रो सबैभन्दा बढी सम्पर्क हेडफोन वा इयरफोनमार्फत नै हुन्छ।

भ्यालेरी पाभ्लोभिच रफ भन्छिन्, “किशोरकिशोरी र साना बालबालिकामा पनि अब लामो समयसम्म ठूलो आवाज सुन्ने कारण सुन्ने क्षमता घटेको देखिन थालेको छ।”

उनी हालै आफ्नो क्लिनिकमा आएका छ वर्षका एक बालकको उदाहरण दिन्छिन्। परिवारले उसको सुन्ने क्षमतामा कुनै फरक महसुस गरेको थिएन। तर परीक्षणका क्रममा उसको विद्यालयको ल्यापटपमा लगातार धेरै ठूलो आवाजमा सुन्ने कारण भएको क्षतिका संकेत भेटिए।

स्विडेनमा नौ वर्षका बालबालिकामाथि गरिएको एक अध्ययनमा नियमित रूपमा हेडफोन प्रयोग गर्ने र हेडफोन प्रयोग नगर्ने बालबालिकाको सुन्ने क्षमतामा सामान्य तर सांख्यिकीय रूपमा महत्त्वपूर्ण अन्तर रहेको पाइएको थियो।

३५ वर्षभन्दा कम उमेरका करिब १ अर्ब ३५ करोड मानिस ठूलो आवाज भएका अडियो उपकरण र व्यक्तिगत श्रवण उपकरणका कारण समयभन्दा पहिले सुन्ने क्षमता गुमाउने जोखिममा हुन सक्छन् भन्ने अनुसन्धानकर्ताहरूको अनुमान छ ।

पाभ्लोभिच रफ अहिले धेरै इलेक्ट्रोनिक उपकरणहरू सुरक्षित स्तरसम्म आवाज सीमित राख्ने सुविधासहित आउने बताउँछिन। यस्ता सुरक्षा सुविधाको सम्मान गर्नु आवश्यक रहेको उनको भनाई छ।

उनी भन्छिन्, “यदि तपाईँले हेडफोन लगाउनुभएको छ र नजिक उभिएको व्यक्तिले तपाईँसँग सामान्य रूपमा कुरा गर्न सक्छ भने आवाजको स्तर ठीक छ। तर, यदि उसले तपाईँसँग कुरा गर्न ठूलो स्वर गर्नुपर्छ वा तपाईँले उसको आवाज सुन्नुभएन भने हेडफोनको आवाज अत्याधिक ठूलो छ भनेर बुझ्नुस्।”

मेसिनका आवाजहरू पनि खतरनाक
घाँस काट्ने मेसिन, पात उडाउने मेसिन, घर मर्मतका काममा प्रयोग हुने विद्युतीय आराजस्ता उपकरणहरूले अपेक्षाभन्दा धेरै ठूलो आवाज उत्पन्न गर्छन।

भ्यालेरी पाभ्लोभिच रफ र जेमी बोगलका अनुसार यस्ता काम गर्दा कानको सुरक्षा अवश्य गर्नुपर्छ। यसका लागि इयरप्लग, कानलाई पूर्ण रूपमा ढाक्ने इयरमफ वा दुवै एकसाथ प्रयोग गर्न सकिन्छ।

विशेषज्ञहरूका अनुसार जति बढी न्वाइज रिडक्सन रेटिङ (एनआरआर) भएको सुरक्षा उपकरण तपाईँ सहज रूपमा लगाउन सक्नुहुन्छ, त्यही रोज्नु राम्रो हुन्छ। एनआरआरको प्रत्येक अतिरिक्त अंकले करिब एक डेसिबल आवाज कम गर्न मद्दत गर्छ।

जेमी बोगल भन्छन्, “इयरमफ आकारमा ठूला हुन्छन्, बढी सुरक्षा दिन्छन् र तिनको गलत प्रयोग हुने सम्भावना पनि कम हुन्छ।”

यदि तपाईँ यी कामका क्रममा संगीत वा पोडकास्ट सुन्न चाहनुहुन्छ भने दुवै विशेषज्ञले न्वाइज-क्यान्सलिङ इयरमफ प्रयोग गर्न सल्लाह दिन्छन्।

मौसम राम्रो हुँदा कारको झ्याल खोलेर यात्रा गर्न पनि मानिसहरू मन पराउँछन्। तर भ्यालेरी पाभ्लोभिच रफ राजमार्गमा झ्याल खोलेर यात्रा गर्दा सुन्ने क्षमतामा क्षति पुग्न सक्ने चेतावनी दिन्छिन्।

उनका अनुसार उच्च गतिमा हावाको आवाज हामीले सोचेभन्दा धेरै ठूलो हुन्छ। अडियोलोजिस्टहरूले नियमित रूपमा झ्याल खोलेर यात्रा गर्ने मानिसहरूमा एउटा कानको सुन्ने क्षमता कम भएका घटना प्रायः देख्ने गर्छन्।

समस्या त्यसबेला झन् बढ्छ, जब मानिसहरूले हावाको आवाजका कारण कारको रेडियो वा संगीतको आवाज अझ ठूलो बनाउँछन्। पाभ्लोभिच रफ भन्छिन्, “यो दोहोरो क्षति हो।”

उनी मोटरसाइकल चलाउनेहरूले सधैँ इयरप्लग प्रयोग गर्नुपर्ने सल्लाह पनि दिन्छिन्।

तर सो क्रममा आवाज कम गर्ने र एम्बुलेन्स, प्रहरी सवारीसाधन र अन्य यातायातसँग सम्बन्धित महत्त्वपूर्ण आवाज पनि सुन्न सकिने किसिमका हाई-फिडेलिटी इयरप्लग लगाउनुपर्छ। यसले मोटरसाइकलको इन्जिनको ठूलो आवाज पनि धेरै कम रहेको महसुस गराउँछ।

यसरी गर्नुहोस् कानको सुरक्षा

यदि यो लेख पढेर तपाईंलाई आफ्नो कानको सुरक्षाका लागि पहिलेभन्दा बढी इयरप्लग प्रयोग गर्नुपर्छ भन्ने लागिरहेको छ भने त्यस्तो सोच्ने तपाईँ मात्र एक्लो हुनुहुन्न।

तर कानभित्र कुनै पनि वस्तु राख्दा सावधानी अपनाउनु आवश्यक छ।

कानले केही हदसम्म आफैँ सफा हुने प्रणालीको रूपमा काम गर्छ। कानको मैलले कानको नलीलाई चिल्लो राख्छ र मृत छाला तथा ब्याक्टेरियालाई बाहिर निकाल्न मद्दत गर्छ।

छालाको प्राकृतिक गति र बोल्दा वा चपाउँदा हुने बङ्गाराको चालका कारण इयरवैक्स बिस्तारै कानको जालीबाट बाहिरतर्फ सर्दै जान्छ। नुहाउँदा यो सजिलै सफा हुन्छ।

तर जब हामी कानभित्र कपासको बड (कटन बड) वा इयरप्लगजस्ता वस्तु हाल्छौँ, तब इयरवैक्स भित्रतिर धकेलिन सक्छ र कानको जालीतर्फ पुग्न सक्छ।

यसले चिलाउने, दबाब महसुस हुने वा असहजता महसुस गराउन सक्छ। समयसँगै जम्मा भएको मैल ध्वनि तरङ्गको बाटोमा अवरोध बन्न सक्छ, जसका कारण कम सुनिन थाल्छ।

जम्मा भएका ब्याक्टेरिया र अड्किएको चिस्यानले संक्रमण पनि गराउन सक्छ।

यदि तपाईँलाई कानमा धेरै मैल जम्मा भएको जस्तो लाग्छ भने चिकित्सक वा अडियोलोजिस्टबाट जाँच गराउनु राम्रो हुन्छ।

इयरवैक्सलाई नरम बनाउने औषधिहरू पनि उपलब्ध हुन्छन्। तिनको प्रयोगपछि मनतातो पानी र बल्ब सिरिन्जको सहायताले मैललाई बिस्तारै सफा गर्न सकिन्छ।

भ्यालेरी पाभ्लोभिच रफका अनुसार हरेक रात इयरप्लग लगाउनु उचित होइन, किनभने यसले कानमा मैल जम्ने र संक्रमण हुने जोखिम बढाउन सक्छ।

तर धेरै कोलाहल भएको क्षेत्रमा रहँदा वा लामो रातको उडानका क्रममा इयरप्लग प्रयोग गर्न सकिन्छ।

केवल दिनको समयमा कानलाई प्राकृतिक रूपमा आफैँ सफा हुने अवसर मिल्नुपर्छ।

कानमा सीटी बजेजस्तो आवाज सुनिए सतर्क हुनुहोस्

मानौँ, तपाईँ नियमित रूपमा इयरप्लग प्रयोग गर्नुहुन्छ, तर त्यसपछि पनि भीडभाड भएका ठाउँमा कुराकानी बुझ्न गाह्रो हुन थालेको छ। यस्तो अवस्थामा जाँच गराउनु अपरिहार्य हुन जान्छ।

तर उमेर बढेपछि मानिसहरूले सामान्यतया कुनै स्पष्ट समस्या नदेखिएसम्म जाँच गराउँदैनन्।

परम्परागत सल्लाहअनुसार ६० वर्षको उमेर पुग्नुअघि कम्तीमा एक पटक सुन्ने क्षमताको जाँच गराउनुपर्छ। तर सुन्ने क्षमता घट्ने समस्या जुनसुकै उमेरमा पनि हुन सक्छ।

भ्यालेरी पाभ्लोभिच रफ ३० वर्षका वा त्यसभन्दा कम उमेरका मानिसहरू पनि सचेत हुनुपर्ने बताउँछिन्। यदि धेरै आवाज भएको वातावरणमा कुराकानी बुझ्न गाह्रो हुन थाल्छ भने त्यसलाई बेवास्ता गर्न नहुने उनको सुझाव छ।

उनी भन्छिन्, “सुन्ने क्षमतामा कुनै पनि प्रकारको समस्या देखिन थालेको पहिलो संकेत मिल्नेबित्तिकै जाँच गराइहाल्नुपर्छ।”

उनका अनुसार आवाजका कारण हुने श्रवण समस्याअघि प्रायः टिनिटस अर्थात् कानमा घण्टी वा सीटीजस्तो आवाज सुनिने समस्या सुरु हुन्छ।

उनी भन्छिन्, “यदि तपाईँ ठूलो ध्वनीको सम्पर्कमा रहनुभएको छ र तपाईँका कानमा लगातार घण्टीजस्तो आवाज आइरहेको छ भने ढिलो नगरी कानको परीक्षण गराउनुपर्छ।”

(बीबीसीबाट)