
काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले आफ्नै पार्टीले गर्दै आएको संसद अवरुद्धको शिलशिलामाथि कडा प्रश्न उठाएका छन् । उनले एमसीसीसँग नेपाल सरकारले गरेको सम्झौता पास गर्नका लागि एमालेले उक्त अवरोध गरिरहेको त हैन भन्ने आशंका व्यक्त गरेका छन् ।
रावलले बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत संसद्मा एमालेको अवरोध र एमसीसी सम्झौतालाई जोडेर आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
उनले लेखेका छन्, ‘सरकारका कामकारबाही गर्न दिएर संसद्का बैठकहरू अवरूद्ध गर्ने कुराको औचित्य के हो ? यो कतै कसैलाई बोल्ने मौका नै नदिएर होहल्लाको बीचमा एमसीसीसँग गरेको सम्झौता अनुमोदन गर्ने खेल त होइन ?’
एमाले नेतृत्व त्यस्तो खेलमा सहभागी भएमा राम्रो नहुने रावलको भनाइ छ । ‘यस्तो गरियो भने राष्ट्रघात ठहर्ने छ,’ उनले भनेका छन् ।
मंगलबारदेखि सुरु भएको संसद्को अधिवेशनको पहिलो दिन एमालेले विरोध जनाएको थियो । एमालेको विरोधकाबीच सरकारले अध्यादेश पेस गरेको थियो । एमालेले माधवकुमार नेपाललगायत १४ सांसदमाथि कारबाही गर्नुपर्ने माग राखेर संसद्मा विरोध जनाउँदै आएको छ ।
सरकारका कामकार्वाई गर्न दिएर संसदका बैठकहरू अवरूद्ध गर्ने कुराको अैाचित्य के हो? यो कतै कसैलाई बोल्ने मौका नै नदिएर होहल्लाको बीचमा एमसीसी संग गरेको सम्झौता अनुमोदन गर्ने खेल त होइन? यस्तो गरियो भने राष्ट्रघात ठहर्ने छ।
— Dr. Bhim Rawal (@BhimRawal179) December 15, 2021