एमसीसीबारे छलफल गर्न सर्वदलीय बैठकको तयारीमा प्रधानमन्त्री देउवा

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा संसद्को अवरोध हटाउनेलगायत समसामयिक विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहितका राजनीतिक दलसँग परामर्श गर्न सर्वदलीय बैठकको तयारीमा जुटेका छन् ।

शुक्रबार सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटमा देउवाले विपक्षी दलसँगको सहमति र सहकार्यबाटै संसद्को अवरोध अन्त्य गर्न सर्वदलीय बैठक आह्वान गर्ने आशय व्यक्त गरेका थिए ।

अमेरिकी सहायता परियोजना एमसीसीलाई संसदीय अनुमोदनको प्रक्रियामा लैजाने, भुक्तानी सन्तुलन नकारात्मक हुँदा अर्थतन्त्रमा परेको चाप कम गर्न अपनाउनुपर्ने उपायजस्ता विषयमा पनि सर्वदलीय बैठक छलफल हुने बताइएको छ ।

सर्वदलीय बैठकबारे सत्ता साझेदार अर्को दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग आजै प्रधानमन्त्रीले भेट्दैछन् । अन्य सहयोगी दलका शीर्ष नेताहरूसँग पनि परामर्श गरेर शनिबार वा आइताबार सर्वदलीय बैठक आयोजना गर्ने देउवाको तयारी छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१