काठमाडौंमा भारतीय दूतावासले मनायो ‘विश्व हिन्दी दिवस’

काठमाडाैं । नेपालस्थित भारतीय दूतावासले विश्व हिन्दी दिवसका अवसरमा सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेको छ ।

सन् १९७५ जनवरी १० मा भारतको नागपुरमा पहिलो विश्व हिन्दी सम्मेलन मनाइएयता हरेक वर्ष यही दिन भारत, विदेशस्थित भारतीय दूतावास र नियोगमा विश्व हिन्दी दिवस मनाउने गरिन्छ । सो अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश राज्यमन्त्री मीनाक्षी लेखीले विश्व हिन्दी दिवसको अवसरमा दिएको शुभकामना सन्देश भिडियोमार्फत प्रस्तुत गरिएको थियो ।

नेपालका वरिष्ठ हिन्दी साहित्यकार राम दयाल राकेश कार्यक्रमको मुख्य अतिथि थिए भने नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषदका सदस्य प्रा.डा. उषा ठाकुर विशिष्ट अतिथि थिइन् ।

सो अवसरमा विश्व हिन्दी दिवसको अवसरमा विशेष गरी हास्य कवि सम्मेलनको आयोजना गरिएको थियो। सम्मेलनमा भारतबाट आएका तीन प्रख्यात कवि सुदिप भोला, विनित पाण्डे र अभिषेक त्रिपाठीले कविता वाचन गरेका थिए।

कार्यक्रममा काठमाडौंका विभिन्न विद्यालयका १२ जना विद्यार्थीले हिन्दी कविता वाचन गरेका थिए । उनीहरुलाई त्यस अवसरमा पुरस्कृत पनि गरिएको थियो ।

होटल र्‍याडिसनमा आयोजित कार्यक्रममा दूतावासका प्रेस, सूचना एवम् संस्कृति विभागका प्रमुख नवीन कुमारले कार्यक्रमको अध्यक्षता गरेका थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७