काेराेना तीव्र गतिमा बढेपछि मोदीद्वारा मुख्यमन्त्रीहरुसँग छलफल

काठमाडाैं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशका सबै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन् । उनले देशभर कोरोनाभाइरसको महामारीको अवस्थाका बारेमा छलफल गरेकाे अधिकारीहरूले जनाएका छन् ।

मणिपुरका मुख्यमन्त्री जोरामथांगाले सामाजिक सञ्जाल ट्वीटरबाट दिएको जानकारी अनुसार प्रधानमन्त्री र मुख्यमन्त्रीहरुका बीचमा भिडियोमार्फत छलफल भएको हो ।

छलफलका क्रममा प्रधानमन्त्री मोदीले महामारी नियन्त्रणका लागि उपयुक्त कामहरु सबैले आ–आफ्नो ठाउँबाट गर्नु पर्नेमा जोड दिएका थिए । कोरोनाभाइरस र त्यसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन आइरसको महामारी तिव्र रुपमा फैलिन थालेपछि प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीचको छलफल भएको हो ।

प्रधानमन्त्री मोदीले जिल्ला तहमा स्वास्थ्य संरचनाहरुको विकास, निर्माण तथा विस्तार पनि बढाउन आह्वान गरेका थिए । स्वास्थ्य संरचनाहरु पर्याप्त नहुँदा विरामीहरुले सेवा नपाउने र महामारी थप फैलिइ थप क्षती हुने भएकाले स्वास्थ्य सेवा प्रवाह गर्ने संरचनाको निर्माण पर्याप्त रुपमा हुनुपर्ने प्रधानमन्त्री मोदीको जोड थियाे ।

भारतमा पछिल्लो २४ घण्टामा थप दुई लाख ४७ हजार ४१७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक भएको छ । त्यसअघि बुधबार सार्वजनिक गरिएको विवरणमा भारतमा पछिल्लो २४ घण्टामा एक लाख ९४ हजार ७२० जना नयाँ सङ्क्रमित थपिएको जनाइएको थियो ।

महामारीको प्रभाव सवैभन्दा बढी अहिले पनि महाराष्ट्र प्रदेशमा देखिएको छ भने दोस्रो धेरै सङ्क्रमित दिल्ली प्रदेशमा रहेका छन् । भारतमा सक्रिय सङ्क्रमित र नयाँ सङ्क्रमित दुवैको सङ्ख्या तीव्र रूपमा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१