काठमाडाैं । स्थानीय चुनावको मिति तय गर्ने विषयमा सत्तारुढ गठबन्धनले फेरि कानूनविद्सँग परामर्श गर्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकले फेरि कानूनविद्सँग परामर्श गर्ने सहमति गरेको हो । त्यसपछि शनिबार अर्को बैठक बस्ने तय भएको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग श्रेष्ठले भने, ‘कानूनविद्हरूसँग थप परामर्श गर्ने र बेलुकी ४ बजे पुनः गठबन्धनको बैठक बस्ने गरी अहिलेको बैठक सकिएको छ ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेपछि शनिबार सत्तारुढ गठबन्धनको बैठक बोलाएका थिए । बैठकमा राष्ट्रिय जनमोर्चा बाहेक चारै दलका शीर्ष नेता सहभागी थिए ।
गठबन्धनको बैठकमा स्थानीय चुनावको मिति तोक्ने विषयमा छलफल भएको छ ।