NeoCov भाइरस मानिसका लागि कति खतरनाक, डब्लूएचओले के भन्यो ?

काठमाडाैं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले शुक्रबार NeoCov (नियाेकाेभ) कोरोना भाइरसको बारेमा थप अध्ययन गर्नुपर्ने बताएको छ ।

चीनका अन्वेषकहरूले दक्षिण अफ्रिकाको चमेरोमा नयाँ कोरोना भाइरस ‘नियोकोभ’ पत्ता लगाएका छन् । अहिले यो भाइरस जनावरमा मात्रै तीव्र गतिमा फैलिरहेको छ ।

एक अध्ययनमा अन्वेषकहरूले यो भाइरस भविष्यमा मानिसका लागि खतरनाक साबित हुन सक्ने बताएका छन् ।

कोरोनाभाइरस विभिन्न भाइरसहरूको समूह हो जसले सामान्य रुघाखोकीदेखि गम्भीर सास फेर्न समस्याहरू निम्त्याउन सक्छ ।

डब्लूएचओले भनेकाे छ, ‘मानिसहरूमा देखा पर्ने सबै संक्रामक रोगहरूको ७५% भन्दा बढीको स्रोत जनावरहरू हुन् । विशेषगरी वन्यजन्तुहरू यसको ठूलो स्रोत हुन् । कोरोना भाइरस प्रायः जनावरहरूमा पाइन्छ । यसमा धेरै भाइरसहरूको प्राकृतिक भण्डार भएको चमेरो पनि समावेश छ ।’

विश्व स्वास्थ्य संगठनले यो जानकारी प्रदान गरेकोमा चिनियाँ अनुसन्धानकर्ताहरूलाई धन्यवाद पनि दिएको छ ।

अध्ययनका अनुसार नियाेकोभले कोविड-१९ भाइरस जस्तै मानव कोषहरूमा बाँध्न सक्छ । यसकाे एक थप उत्परिवर्तन मानवको लागि खतरनाक हुन सक्ने बताइएकाे छ । यद्यपि, यो अध्ययनबारे समीक्षा गर्न बाँकी छ ।

अनुसन्धानकर्ताहरूका अनुसार यो भाइरस मध्य पूर्व रेस्पिरेटरी सिन्ड्रोम (एमइआरएस-मर्स) सँग मेल्दाेजुल्दाे देखिएकाे छ । यो भाइरल रोग पहिलो पटक साउदी अरबमा भेटिएको थियो । ‘मर्स-काेभ’ भाइरसकाे मृत्युदर अधिक मानिन्छ ।

-बीबीसी हिन्दीकाे सहयाेगमा ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१