स्थानीय चुनावबारे सहमति जुटाउन सत्ता गठबन्धनको दोस्रो बैठक सुरु

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको दोस्रो बैठक शुरु भएको छ ।

स्थानीय निकाय निर्वाचनलगायतका विषयमा विचार-विमर्श गर्न गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे हो ।

शनिबार बिहानको बैठक निष्कर्षमा पुग्न नसकेपछि अपराह्नका निम्ति पुनः निर्धारण गरिएको बैठकमा राष्ट्रिय जनमोर्चाका प्रतिनिधि बाहेक चार वटै राजनीतिक पार्टीका शीर्ष नेताहरूको उपस्थिति रहेको छ ।

सहमति जुटे स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरेर केही समय पछि सार्ने गठबन्धन दलका नेताको प्रस्तावमा विरोध भएपछि नेताहरू पछि हट्दै समयमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने पक्षमा पुगेका हुन् ।

गठबन्धनमा नेपाली काँग्रेस वैशाखभित्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने पक्षमा रहे पनि अन्य दल केही समय पछि सारेर निर्वाचन गर्नुपर्ने पक्षमा उभिँदै आएका थिए । तर उक्त प्रस्तावमा प्रमुख प्रतिपक्ष नेकपा एमाले, निर्वाचन आयोग, संविधानविद् लगायतले असहमति जनाएपछि खास गरी नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र वैशाख या जेठ महिनाभित्र चुनाव गर्न सकारात्मक भएका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१