गुहेश्वरी क्षेत्र अतिक्रमण गरेर बनाइएका टहरा १५ दिनभित्र हटाउन मन्त्री आलेको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गुहेश्वरी क्षेत्रमा अतिक्रमण गरेर निर्माण भएका टहरा १५ दिनभित्र हटाउन निर्देशन दिएका छन् ।

आइतबार पशुपति क्षेत्रको स्थलगत अनुगमन गरी मन्त्री आलेले पशुपति क्षेत्रभित्र पर्ने गुहेश्वरीमा निर्माण गरिएको टहरा १५ दिनभित्र हटाउन निर्देशन दिएका हुन् । अनुगमनका क्रममा मन्त्री आले पशुपति मन्दिर क्षेत्र, बनकाली, गुहेश्वरी लगायतका क्षेत्रमा पुगेका थिए ।

अनुगमनका क्रममा उनले पशुपति क्षेत्र भित्र निकै विकृति देखिएको बताए । पशुपति विकास कोषका यसअघिका पदाधिकारीहरुले मनोमानी ढंगले काम गरेको पाइएको भन्दै मन्त्री आलेले अव यसलाई सुधार गर्ने प्रतिवद्धता जनाए ।

उनले पशुपतिमा फूल, रुद्राक्ष बिक्रीका लागि छुट्टै स्थान बनाए पनि धर्मावलम्वीलाई अप्ठेरो हुनेगरी सडकमा नै फूलमाला बिक्री गरिएको पाइएकोले यसलाई पनि व्यवस्थित गरिने बताए ।

उनले पशुपति क्षेत्रमा निःशुल्क गाई पालनका लागि स्थान दिइएको प्रति पनि आपत्ति जनाए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१