हिन्दू स्वयंसेवक संघ नेपाल र सेवा इन्टरनेशनल नेपालद्वारा देशका विभिन्न स्थानमा ‘फेस सिल्ड’ तथा ‘मास्क’ वितरण

काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपाल र सेवा इन्टरनेशनल नेपालले देशका विभिन्न स्थानमा मास्क तथा फेस सिल्ड वितरण गरेका छन् ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालयहरू, बैंक तथा सहकारीहरूमा हिन्दू स्वयंसेवक संघ नेपालका कार्यकर्ताहरू पुगेर ६५८ थान मास्क तथा ४५६ थान फेस सिल्ड हस्तान्तरण गरेका हुन् ।

साथै, तार्केश्वर नगरपालिकाका वडा कार्यालय, स्वास्थ्य चौकीसँगै विराट सनानधर्मसंस्कृति विद्यापीठ एवं शान्तिधाममा समेत ७११ थान मास्क तथा २५२ थान फेस सिल्ड उपलब्ध गराइएको छ । संघका उपत्यका विभाग कार्यवाह तुलसी न्यौपाने, महानगर कार्यवाह महेश सिंहलगायतको टोलीले उक्त सामग्री हस्तान्तरण गरेका छन् ।

महानगरीय प्रहरी वृत्त गौशाला, महानगरीय प्रहरी बौद्ध, भक्तपुरको महानगरीय प्रहरी परिसर, ट्राफिक प्रहरी कार्यालय लगायत स्थानमा १५७० थान फेस सिल्ड तथा दुई हजार थान मास्क उपलब्ध गराइएको संघका उपत्यका विभाग कार्यवाह तुलसी न्यौपानेले जानकारी दिए ।

स्वास्थ्यकर्मीहरूलाई सहयोगार्थ विराटनगरमा नेपाल मेडिकल एसोसिएसनलाई पन्द्र कार्टुन मास्क र पाँच कार्टुन फेस सिल्ड हस्तान्तरण गरिएको सेवा इन्टरनेशनल नेपालको केन्द्रीय कार्यालयले जनाएको छ ।

बाँके, नेपालगञ्जमा ‘सुरक्षा मापदण्डको पालना गरौँ ! स्वास्थ्य नै जीवन हो !’ भनी चेतनामूलक सन्देश प्रवाह गर्दै मास्क र फेस सिल्ड वितरण गरिएको पनि संस्थाका प्रतिनिधिले जनाएका छन् । यस क्रममा जमुनाहा नाकादेखि भन्सार कार्यालय, चौलिक्का, ट्राफिक कार्यालय, गणेशमान चौक, वि.पी.चौकसम्म ड्यूटीमा रहेका प्रहरी जवान, शसस्त्र प्रहरी, ट्राफिक प्रहरी एवं सर्वसाधारणलाई पाँच हजार मास्क तथा एक हजार फेस सिल्ड वितरण गरिएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१