पश्चिमी वायुको प्रभावः हवाई र पर्वतारोहण क्षेत्रमा सचेत रहन माहाशाखाकाे आग्रह

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । आज रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको उक्त मौसमी प्रणालीको प्रभावबाट आगामी तीन दिनसम्म मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।

साथै, यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट आवश्यक सतर्कता अपनाउन माहाशाखाले अनुरोध गरेको छ ।

भोलि बिहीबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बागमती प्रदेश, मधेस प्रदेश र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहनेछ । शुक्रबार देशैभरि सामान्यदेखि पूर्ण बदली रहने र शनिबार देशभरि आंशिकदेखि सामान्य बदली रहने माहाशाखाले जनाएको छ । आगामी शनिबार पनि पश्चिमी वायुको प्रभाव रहने र आइतबारदेखि मौसम क्रमिक रुपमा सुधार आउनेछ ।

माहाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले बिहीबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा तथा बागमती प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी तथा तराईका धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । पहाडी तथा तराईका धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

शनिबार पनि गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । साथै उक्त प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आइतबारदेखि यो मौसम कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार हुने माहाशाखाले जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१